राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपालाई जनाताले कानुन बनाउने जिम्मेवारी दिएको बताएका छन् । रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले कानुन निर्माताका रूपमा गहन जिम्मेवारी छन् भन्ने सबैले बुझ्नुपर्ने धारणा राखे ।
उनले बाहना बनाउन नपाउने गरी जनताले जिम्मेवारी दिएको बताए। उनले भने ‘पुराना राजनीतिक दललाई जनताले ३६ वर्ष कुरेँ, हामीलाई ३६ महिना पनि कुर्दैनन् । हामीले आफूलाई केन्द्रमा राखेर हैन, जनता र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।’
उनले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा केन्द्रित हुन सबैलाई निर्देशन दिए। उनले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताए ।
सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै जिम्मेवार भई जनहितमा काम गर्न सबैलाई आग्रह गरे । “संसद्को लोगो लगाएपछि पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ, पारदर्शिता राजनीतिको महत्त्वपूर्ण पक्ष हो । सांसद निर्वाचित भएको व्यक्तिको जनतासँग सधैँ असल सम्बन्ध हुनुपर्छ, जनतासँग सुमधुर सम्बन्ध भएको नेतृत्व बन्नुस्, पाँच वर्ष जनताले आत्मसात् गर्नसक्ने, तपाईंको सम्बन्धले हरेक दिन उत्सव मनाउन सक्ने बनाउनुपर्छ”, उनले भने।
सभापति लामिछानेले पार्टी जन्मेदेखि मुद्दा चलेको स्मरण गर्दै आफूहरूले संरक्षण गर्दै यहाँसम्म पुगेकाले आगामी दिनमा यसलाई थप मजबुत बनाउने जिम्मेवारी हाम्रै रहेको धारणा राखे । उनले भने, “नागरिकको चेतनामाथि विश्वास गरेर हामी अगाडि बढ्छौँ । विचौलियासँग बसेर चिया खानु अगाडि सहिदको बलिदानलाई सम्झिनु होला ।”
यो सामान्य निर्वाचनबाट आएको जनमत नभएको भन्दै सभापति लामिछानेले विशेष परिस्थििमा जनतालाई रास्वपालाई विश्वास गरेकाले जिम्मेवारीबोध भई काम गर्न सबैलाई आग्रह गरे । “वैदेशिक सम्बन्धमा आँच आउने खालका सार्वजनिक अभिव्यक्ति नदिनुहोला, प्रभावकारी रूपमा सांसदको जिम्मेवारी निर्वाह गर्नुहोला । मत दिएका जनताको चुलो बल्ने व्यवस्था मिलाउनु होला, सरकारी अस्पतालमा उपचार गराउनु होला, सादगी जीवनशैली अपनाउनुहोला”, उनले भने।
“तपाईंको माध्यमबाट तपाईंको क्षेत्रका जनताले सुख पाउनुपर्छ । तपाईं अध्ययनशील हुनुपर्छ, नागरिकसँग सधैँसँगै हुनुपर्छ । संसद् चलेको समयबाहेक तपाईँ नागरिकसँग हुनुपर्छ । पार्टीले ज्ञान सीप र क्षमता हेरेर मन्त्री बनाउँछ”, उनले भने । उनले देशको सबैभन्दा ठूलो समस्या सामाजिक न्याय भएकाले त्यसका लागि पैरवी गर्नुपर्नेमा जोड दिए ।
सभापति लामिछानेले अब सुशासनको क्षेत्रमा नयाँ मानक कायम हुने विश्वास व्यक्त गरे । उनले पार्टीबाट निर्वाचित सांसदहरूलाई देशको संविधान, संसद्को नियमावली र पार्टीको विधानअनुसार मुलुक र जनताप्रति इमानदार भएर काम गर्न आग्रह गरे । “नेपाल लगानीका लागि सुरक्षित देश हो भनेर अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहान्छौँ”, उनले भने ।
सभापति लामिछानेले पार्टीले उठाएको ‘राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न सबैलाई मार्गनिर्देश गरे ।












