विश्वका अर्बपतिहरुको सूचीमा रहेका एक मात्र नेपाली नागरिक विनोद चौधरीको सम्पति झन् बढेको छ । अमेरिकी पत्रिका फोर्ब्सले हिजो सार्वजनिक गरेको नयाँ विवरण अनुसार नेपाली उद्योगपति बिनोद चौधरीको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर (३०८ अर्ब नेपाली रुपैयाँ) पुगेको छ ।
उनी यो सूचीमा १९८२ औं स्थानमा छन् । अर्थात् उनी विश्व कै १९८२ औ धनी व्यक्ति हुन् ।
गत वर्ष (२०२५ को सूची) उनको सम्पत्ति २ अर्ब डलर थियो र विश्व वरियता १७६३ औं थियो । यस वर्ष उनले एक वर्षमा नै १०० मिलियन डलर (१० करोड डलर) सम्पत्ति थपेका छन् ।
फोर्ब्सले बिनोद चौधरीबारे उल्लेख गरेको छ : “बिनोद चौधरीले सीजी कर्प ग्लोबलको नियन्त्रण गर्छन् र उनी नेपालका एकमात्र अरबपति हुन् । उनको सबैभन्दा ठूलो सम्पत्ति नेपालको नबिल बैंकमा नियन्त्रण हिस्सा र सीजी फुड्स (लोकप्रिय वाइ वाइ नुडल्सका निर्माता) हो ।”
सीजी फुड्सले भारत, सर्बिया र बंगलादेशमा कारखाना सञ्चालन गरिरहेको छ भने इजिप्टमा नयाँ कारखाना निर्माणाधीन छ । यसबाहेक ससका नयाँ उत्पादन ल्याउने योजना पनि छ । चौधरीको होटल सम्पत्तिमा १४३ वटा स्वामित्व र व्यवस्थापन गरिएका प्रोपर्टी छन्, जसमा भारतको ताज होटल चेनसँगको साझेदारी पनि समावेश छ ।
७० वर्षीय चौधरी काठमाडौं निवासी छन् । उनी सीजी कर्प ग्लोबलका अध्यक्ष हुन् भने उनका छोराहरू निर्वाण, राहुल र वरुणले समूह सञ्चालनमा सघाइरहेका छन् ।
फोर्ब्सले उनलाई नेपालको एकमात्र अरबपति र भारतबाहेक साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन (सार्क) क्षेत्रका एकमात्र अरबपतिको रूपमा चित्रण गरेको छ । नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बिनोद चौधरीले बैंकिङ, खाद्य, होटल, रिटेल र निर्माण क्षेत्रमा व्यापक लगानी गरिरहेका छन् ।
उनी नेपाली कांग्रेसबाट निवर्तमान सांसद पनि हुन्। हालै सम्पन्न चुनावमा भने उनी पराजित भए । नवलपरासी १ बाट चुनाव लडेका उनी रास्वपाका बिक्रम खनालसंग ३५ हजार बढी भोटले पराजित भएका हुन् ।












