सिन्धुलीको मरिण निर्माण हुँदै गरेको मासु प्रशोधन उद्योगमा चिनियाँ र नेपाली कामदारबीच झडप भएको छ । सिन्धुलीको मरिण गाउँपालिका ५ स्थित निर्माणाधिन साहान हिमालयन फुड कम्पनी (राँगा र भैसीको मासु प्रशोधन उद्योग)मा सोमबार बिहान नेपाली र चिनियाँ कामदारबीच झडप भएको हो ।
चिनियाँ पक्षले एक जना नेपाली कामदारलाई कामबाट निकालेको विषयमा विवाद उत्पन्न भएपछि झडप भएको प्रहरीले जनाएको छ । चिनियाँ पक्षले मरिण गाउँपालिका ६ का नबराज बम्जनलाई काम (सवारी चालक) बाट निकालेपछि दुइ पक्षबीच विवाद हुँदा कुटाकुट भएको सिन्धुली प्रहरीले जनाएको छ ।
कुटाकुट हुँदा चिनियाँ र नेपाली गरी ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कामबाट निकालिएका ३० वर्षीय नबराज बम्जनको दाँया आँखामा र दाँया खुट्टामा चोट लागेको छ । उनलाई प्राथमिक उपचार केन्द्र कपिलाकोटबाट जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, उदयपूरको कटारी नगरपालिका १२ का २२ वर्षीय गोकर्ण कटुवालको पनि टाउकोमा चोट लागेको छ । अरु घाइतेहरु सबै चिनियाँ कामदार रहेका छन् ।
सिन्धुली प्रहरीका अनुसार घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली पठाइएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबाट चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले उक्त कारखाना निर्माण थालिएको थियो । उक्त मासु प्रशोधन उद्योगको लागत २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार अनुमान गरिएको छ । यसमध्ये २० अर्ब कारखाना र प्लान्ट जडानमा लाग्नेछ भने बाँकी ७ खर्ब ६२ करोड पशुपालन, कामदारको आवास निर्माण र घाँस खेतीमा खर्च हुने बताइएको छ ।
यो चिनियाँ लगानीमा निर्मित उद्योग हो । यसमा २० अर्ब रुपैयाँ चीनको छेङ्दु जियान फुड लिमिटेडबाट विदेशी लगानी भित्र्याउन लागिएको हो ।
हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडका अध्यक्ष डा. नवीन शर्मा हुन् । उनको नेतृत्वमा ५५ बिघा क्षेत्रफलमा मासु प्रशोधन केन्द्र निर्माण हुँदैछ ।












