यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन्स डे) सप्ताहमा करिब ७ करोड रुपैयाँको गुलाफको फूलको कारोबार भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चलेको प्रेम दिवस सप्ताहमा करिब ५ लाख स्टिम गुलाफ खपत भएको छ ।
एसोसिएसनका अनुसार एउटा गुलाफको औसत मूल्य बजारमा १ सय ४० रुपैयाँ तोकिएको थियो । यस आधारमा यस वर्षको प्रेम दिवस सप्ताह भरीमा कुल ७ करोड रुपैयाँको आर्थिक कारोबार भएको हो ।
स्वदेशमा गुलाफको कम उत्पादन हुने भएकाले आयातकै हिस्सा ठूलो छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार आन्तरिक उत्पादनले बजारको करिब ३० प्रतिशत माग मात्र धान्ने गरेको छ । बाँकी ७० प्रतिशत माग पूरा गर्न भारत लगायत देशबाट गुलाफ आयात हुँदै आएको छ ।












