नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ ( Financial Consumer Satisfaction
Survey 2083) सुरु गर्न लागेको छ। वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटी random sampling विधिबाट वडा छनोट गरी जम्मा १०,४०५ वटा नमुना सङ्कलन गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यो सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गरिनेछ । सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ।
सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलनको कार्यमा सहयोग गरिदिन राष्ट्र बैंकले गरेको छ। सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुने र सहभागीले आफुलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ।
राष्ट्र बैंकका अनुसार सर्वेक्षणमा सङ्कलित विवरण तथा जानकारीहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिनेछ र केवल सामुहिक रुपमा तथ्याङ्कीय प्रयोजनको लागि मात्र प्रयोग गरिनेछ । वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरोकारवाला निकाय तथा आम सर्वसाधारणलाई सर्वेक्षण कार्यमा आवश्यक सहयोग तथा सहकार्य गरिदिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।












