नेपाल अरनिको यातायात सेवा प्रा.लि. ले रामेछापको मन्थली हुँदै सञ्चालन हुने बससेवा अनिश्चित कालका लागि स्थगित गरेको छ । कम्पनीले माघ २७ गते मन्थली ६ स्थित त्रिवेणी मन्दिर नजिकै भएको दुर्घटनाका कारण असुरक्षा बढेको भन्दै सेवा स्थगित गरेको हो ।
कम्पनीका सहायक कार्यालय प्रमुख विकास लामाले एउटा सूचना जारी गरेर अर्को सूचना नआए सम्मको लागि खुर्कोट हुँदै मन्थलीको बाटो प्रयोग गरि सञ्चालन हुने सम्पूर्ण क्यू स्थगित गरिएको जनाएका हुन् ।
अरनिको यातायात सेवा प्रा.लि.का अध्यक्ष केदार क्षेत्रीले मन्थलीको बाटो हुँदै सञ्चालन हुने दैनिक १८ वटा क्यूहरु स्थगित गरिएको जानकारी दिए । माघ २७ गतेको दुर्घटना पश्चात गाडीका कर्मचारी र मजदूरहरुलाई धम्क्याउने, गाडी रोकेर स्टाफलाई कुटपिट गर्ने र गाडी जलाउने सम्मको प्रयास भएपछि सेवा नै रोक्नु परेको अध्यक्ष क्षेत्रीको भनाइ छ ।
‘असुरक्षा बढ्यो, हाम्रा स्टाफहरुमाथि कुटपिटको प्रयास भए, गाडी नै जलाउने सम्मको प्रयास पनि भए’ अध्यक्ष क्षेत्रीले भने, ‘त्यसपछि रामेछापको प्रहरी प्रशासनले पनि सेवा बन्द गर्नु भन्ने मौखिक अनुरोध गर्यो । त्यहीँ भएर सेवा स्थगित गरेका हौँ ।’ नवलपूर र दोलखा हुँदै चल्ने गाडीहरु भन नियमित रुपमा सञ्चालन हुने उनको भनाइ छ ।
उनका अनुसार मन्थली हुँदै अरनिको यातायातका दैनिक १८ वटा क्यूहरु रहेकोमा हाललाई यी सबै क्यूहरु रोकिएका छन् । यीमध्ये ११ ठाउँमा दैनिक घाटा खाएर सेवा दिइरहेको र यी ११ गन्तव्यमा जान नमान्ने गाडीलाई १० हजार रुपैयाँ जरिवानासमेत गर्ने गरिएको अध्यक्ष क्षेत्री बताउँछन् ।
‘यसरी व्यवस्थित सेवा दिँदा पनि कहिलेकहीँ भवितव्यले दुर्घटना हुन्छन्, तर दुर्घटना पश्चात क्षतिपुर्ति दिन हामी तयार छौँ, घाइतेको उपचार गर्न तयार छौँ, उपचार गरिरहेका पनि छौँ’ क्षेत्रीले थपे, ‘तर, अरनिको यातायातमाथि भरेभोली कुनै घटना भए हामी पनि हड्ताल गर्न बाध्य हुन्छौँ ।’ उनले रामेछाप प्रशासनले यात्रु र सेवाग्राहीमा पर्न सक्ने असरलाई ध्यानमा राखेर निर्वाध रुपमा बस चल्ने वातावरण मिलाउनुपर्ने समेत बताएका छन् ।












