संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेले मिलेर सहकारी बनाउने सहमति गरेका छन् । सोमबार मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।
सहमति अनुसार संसदको बाँकि कार्यकालमा एमाले र कांग्रेसले आधा आधा सरकारको नेतृत्व गर्ने छन्। जस अनुसार पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने छन् भने त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ। एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित को मन्त्रालय पाउने भएको छ।
त्यस्तै संविधान संशोधन गर्ने र संविधान संशोधन्को लागि सुझाव दिन पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठको संयोजकत्वमा आयोग बनाउने सहमति भएको छ । संविधान संशोधनको लागि दुई तिहाइ पुर्याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने , प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्ने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न, प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने लगायतका समझदारी भएको बताईएको छ ।
प्रदेश सरकारको नेतृत्व पनि पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।