उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि यस अघि तिरिएको भ्याट समायोजन नभएको गुनासो गरेका छन् । विद्युत प्राधिकरणले असारको खपतको लागि साउन महिनामा काटेको बिलमा भ्याट लिएको थियो।
तर आन्तरिक राजश्व विभागले साउनदेखिको खपतमा मात्र भ्याट लाग्ने प्रष्ट पारेको थियो। तर त्यस समय प्राधिकरणले कतिपय उपभोक्ताबाट असारकै बिलमा भ्याट जोडेर भ्याट रकम समेत असुल गरिसकेको थियो। प्राधिकरणले भ्याट तिरिसकेका उपभोक्ताको हकमा साउन महिनाको विद्युत खपतबापत भदौमा काटिने बिलमा समायोजन गरिने जनाएको थियो। अर्थात् साउनमा तिरिएको भ्याट रकम भदौमा समायोजन हुनु पर्ने थियो। तर उपभोक्ताले भने साउनमा तिरिएको भ्याट रकम समायोजन नभएको गुनासो गरेका हुन्।
प्राधिकरणले भने भ्याट समायोजन भएरै बिल गरिएको दाबी गरेको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भ्याट समायोजन गरेरै बिल जारी गरेको बताए। उनका अनुसार कतिपय उपभोक्ताको मिटर रिडीङ हुँदा साउन महिनाको केही दिन बाँकी नै रहेको हुन सक्ने, र दिन अनुसारको भ्याट समायोजन गर्दा उपभोक्तालाई पुरै रकम समायोजन नभएको लागेको हुन सक्ने बताए।
यद्यपि उनले कुनै उपभोक्ताको हकमा केही त्रुटी देखिएको भए आगामी महिनाको बिलमा समायोजन गरिने बताएका छन्।












