अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेसँगै बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुन:निर्माणका लागि ‘फास्ट ट्रयाक’बाट ठेक्का लगाउने तयारी थालिएको छ । अर्थ मन्त्रालयले मंगलबार स्रोत सुनिश्चितता गरेसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले बीपी राजमार्ग पुर्ननिर्माणको कामलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउन लागेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गसहित गत असोज १० देखि १२ गतेसम्मको बाढी पहिरोले क्षतिग्रस्त बनेका राजमार्गको पुन:निर्माणका लागि स्रोत सुनिश्चितता गर्न ताकेता गरेको थियो । ५ महिना लामो ताकेता पश्चात मंगलबार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको र अब बीपी राजमार्ग पुर्ननिर्माणको कामलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउने तयारी थालिएको मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माका अनुसार अर्थले स्रोत सुनिश्चितता गरिसकेको र अब यसको पत्र भौतिक पूर्वाधार मन्त्रालयमा आएपछि सडक विभागमार्फत आवश्यक काम अघि बढ्नेछ । बीपी राजमार्ग पुर्ननिर्माणको कामलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउन राष्ट्रिय विपद् तथा पुनर्निर्माण प्राधिकरणमार्फत काम थाल्नुपर्ने हुन्छ । जसका लागि मन्त्रिपरिषदको स्वीकृति चाहिने बताइएको छ ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले पनि बीपी राजमार्गलाई प्राथमिकतामा राखेर ठेक्का लगाउने तयारीमा विभाग छ । उनका अनुसार सडक विभागले भौतिक पूर्वाधार मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग यस राजमार्गको पुनर्निमाणका लागि ९ अर्ब ६६ करोड रुपैयाँको स्रोत सुनिश्चितता खोजेको थियो । तर, अर्थ मन्त्रालयले ८ करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ ।
‘यो पनि अहिलेका लागि पर्याप्त नै हो, अब ठेक्का प्रक्रियादेखि नै फास्ट ट्रयाकमा काम अघि बढाउनका लागि मन्त्रिपरिषद बैठकमा यो सम्बन्धि प्रस्ताव लैजाने तयारी छ । मन्त्रिपरिषदले स्वीकृति दिएपछि बीपी राजमार्ग पुन:र्निमाणको काम फास्ट ट्रायाकमा अघि बढ्छ’ उनले भने, ‘फास्ट ट्रायाकमा जाँदा ३५ दिनको काम १५ दिनमा हुन्छ । प्रक्रिया नै छोटो हुने भएकाले यसै आर्थिक वर्षबाट काम सुरु गर्न सकिन्छ भनेर फास्ट ट्रायाकमा जान खोजेका हौँ । सामान्य अवस्थाकै जस्तो प्रक्रियाबाट जाने हो भने आउँदो वर्षा यामसम्म त काम नै सुरु नहुने जोखिम पनि रहन्छ ।’
कति छ क्षति ?
सडक विभागका अनुसार जापान सरकारको सहयोगमा बनेको बनेपा–सिन्धुली–बर्दिबास १६० किलोमिटर दूरीको बीपी राजमार्ग गत असोज दोस्रो हप्ताको बाढीले करिब १३ किलोमिटर खण्ड क्षतिग्रस्त बनेको छ । यसमध्ये काभ्रेको भकुण्डेबेशीदेखि सिन्धुलीको नेपालथोकसम्म विभिन्न स्थानमा गरि कुल ८.५ किलोमिटर सडक खण्ड पूर्ण रुपमा बगेको छ ।
अहिले सडक विभागले यस राजमार्गको अस्थायी मर्मत पनि थालिसकेको छ । स्थायी पुनर्निमाण र अस्थायी ममर्तको काम सँगसँगै अघि बढाइने सडक विभागले जनाएको छ । विभागका अनुसार आउँदो वर्षायाममा पनि सवारीसाधन सहज रुपमा आवतजावत गर्न सक्ने गरि अहिले अस्थायी मर्मत थालिएको हो ।
यसैबीच, अर्थ मन्त्रालयले सिन्धुलीको खुर्कोटदेखि रामेछापको जिल्ला सदरमुकाम मन्थली हुँदै दोलखाको तामाकोशीसम्मको सडकको विभिन्न खण्ड मर्मतका लागि ६५ करोड रुपैयाँ स्रोत सुनिश्चितता प्रदान गरेको छ ।









