कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक भएको छ । उक्त कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मनतव्य व्यक्त गदैं बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले कामना सेवा फुटसल कप बैंकका लागि प्रतियोगिता मात्र नभई खेलकुद मार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए। उनले खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र टिमवर्कको सन्देश दिने भएकाले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत त्रिपाठीले फुटसल कपको ब्रान्ड एन्थम सार्वजनिक गरेका थिए । साथै, उनले सहभागी टोलीका टिम म्यानेजरहरूलाई जर्सी हस्तान्तरण पनि गरे। सोही अवसरमा प्रतियोगिताको टाइ–सिट ड्र सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा गत सिजन (सिजन ५) का पुरुष तर्फका उपाधि धारक सिद्धार्थ बैंक र महिला तर्फका उपाधि धारक लुम्बिनी विकास बैंकका प्रतिनिधिहरूले आफ्ना मन्तव्य राखेका थिए। बैंकको आयोजना गरेको यस प्रकारको खेलले बैंक तथा वित्तीय संस्थाका कर्मचार्रीहरु बीच भाइचारा विकास हुने भएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिए र सबै सहभागी टोलीलाई शुभकामना व्यक्त गरे ।
त्यसैगरी FIFA AFC Elite असिस्टेन्ट रेफ्री हरीश कार्कीले प्रतियोगिताका खेल नियमहरूबारे विस्तृत जानकारी गराए । उनले खेलको अनुशासन, फाउल तथा निर्णय सम्बन्धी नियमहरू सबै टोलीले राम्ररी बुझेर स्वच्छ र रोमाञ्चक प्रतिस्पर्धा गर्न आग्रह गरे । कार्यक्रममा SAAF फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति रहेको थियो ।
यस वर्षको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शनिबार र आईतबार, कार्तिक १४ र १५, २०८३ गते धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुने छ । कामना सेवा विकास बैंकले खेलकुद प्रवद्र्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागिता प्रोत्साहनको उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।










