विश्वभरका नेपाली समुदायलाई जोडिरहेको २४औँ गोर्खा कप सम्पन्न भएको छ। गोर्खा कपलाई बेलायतको नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद तथा सांस्कृतिक उत्सव मानिन्छ। यस कपमा विश्वभरका नेपाली समुदायहरुको सहभागिता रहने गरेको छ।
तामु धी यूके (Tamudhee UK) ले आयोजना गरेको यो प्रतियोगिता मे २४, २०२६ का दिन अल्डरसटको क्वीन्स एभिन्यू खेल मैदानमा सम्पन्न भएको हो।
कार्यक्रममा करिब २०,००० दर्शकको उपस्थिति रहेको आयोजकले जनाएका छन्। मेन क्याटेगोरी (पुरुष)तर्फ रङभङ समाज यूके ले गुरुजी एलिट एफसी लाई २-० गोलले पराजित गर्दै उपाधि जितेको छ। विजेताले £३,५०० नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले £२,००० प्राप्त गरे।
भेटेरान्स क्याटेगोरीमा एफसी ०४ विजयी भएको भने महिला क्याटेगोरीमा तामाङ समाज एफसी विजयी भएको। यो पटक प्रतियोगितामा विभिन्न देशका कुल ५६ टिम सहभागी थिए।

हिमालयन जेटका अध्यक्ष दीपेन्द्र गुरुङले ‘Guest Of Honor’ को रूपमा सहभागिता जनाउदै विजेताहरुलाई पुरस्कार वितरण गरेका हुन्। दीपेन्द्र गुरुङ अध्यक्ष रहेको हिमालयन जेटले विश्वभरका नेपाली समुदायलाई आफ्नो मातृभूमि नेपालसँग जोड्नको लागि छिट्टै बेलायतबाट नेपाल, भारत, अमेरिका, अस्ट्रेलियालगायत गन्तव्यमा लामो दुरीको ‘प्रिमियम’ उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
नेपाली डायस्पोराको यो कप बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिँदै आएको छ। गोर्खा कपले खेलकुदका साथै नेपाली संस्कृति, खाना, संगीत र समुदायबीचको एकतालाई पनि प्रबर्धन गर्दै आएको छ।









