काठमाडौँमा आज २०८१ चैत्र १५ गते शुक्रबार भएको जस्तो आन्दोलन कम्तिमा ‘जेनेरेसन जेड’ भनिने नयाँ पुस्ता र त्यसपछिका पुस्ताले सम्भवत अहिलेसम्म देखेका थिएनन् । आज राजावादीको नाममा भएको प्रदर्शन यति उग्र भईदियो कि जेनेरेशन जेड पुस्ताले सोध्ने कतिपय प्रश्नको जवाफ उनीहरु कन्भिन्स हुन सक्ने गरी दिनै सकिँदैन ।
कोही एउटा नेपालीले किन अर्को नेपालीको घरमा बिना कारण आगो लगाईदिन्छ ? त्यहीँ घरमा लागेको आगो निभाउन आएको दमकललाई किन ढुङ्गा हानिन्छ ? नागरिकलाई सुरक्षा दिने प्रहरीलाई किन कुटीकुटी घाइते बनाईन्छ ? किन कोही बाटोमा भेटिएका जति सबै गाडी जलाउदै हिड्छ ? अरु कसैको उद्यममा कोही किन आगो लगाउछ श्र अरुको व्यवसायमा कोही किन लुटपाट मच्चाउछ ?
हरेक विषयको लजिक खोज्ने नयाँ पुस्तालाई जो कोहीले यी प्रश्नका जवाफ उनीहरु ‘कन्भिन्स’ हुन सक्ने गरी दिनै सक्दैन । भर्खरै देश र समाज बुझ्न थालेका पुस्ताको मस्तिष्कमा यी घटनाक्रमले गहिरो प्रभाव पर्छ नै ।
आज तीनकुने, कोटेश्वर, बानेश्वर, जडिबुटी, बालकुमारी लगायतका क्षेत्रमा जति आगजनी भए ति सबै उग्र र हिंस्रक भए । कसैको निजी घर र उद्यममा आगो लगाईयो, निजी र सरकारी गाडीमा आगजनी र तोडफोड भए, कसैको व्यवसाय तोडफोड गरियो । र, उग्र भिड त्यसैमा रमायो । प्रदर्शनको क्रममा आएका एक व्यक्ति आफ्नो सुनको सिक्री हराएको भन्दै रोएको भिडियो सामाजिक सञ्जालमा भाईरल नै छ । उनी राजावादी समूहका एक प्रदर्शनकारी नै थिए । उनलाई आफ्नो सिक्री हराएको वा लुटिएकोमा चिन्ता र पीडा देखियो । तर, उनी सम्मिलित भिडले अरुका सम्पतिमा तोडफोड र आगजनी गर्दा उनीहरुलाई कति चिन्ता र पीडा भयो होला ? सायद, प्रदर्शनकारीले यसको महशुस गर्न आवश्यक ठानेनन् होला ।
सार्वजनिक सञ्चारमाध्यमका भवनमा आगजनी गर्ने, तोडफोड गर्ने, सुरक्षाकर्मीलाई किचुँला झै गरी गाडी हुइँक्याउने, औषधि उत्पादन गर्ने कारखानामा आगो लगाउने जस्ता अराजक गतिविधि सभ्य समाजका लागि शोभनीय होइनन् । अझ उद्यम, व्यवसाय, लगानी र समग्र अर्थतन्त्रका लागि त यस्ता गतिविधि बाधक नै हुन्छन् ।
आज काठमाडौँमा घटना हुँदाका उग्र प्रदर्शनकारी को थिए, कहाँका थिए अनुसन्धान हुँदै जाला । तर आज तोडफोड र आगजनी गर्नेको घर वा सम्पति भोली यसैगरि अरु कसैले आगजनी र तोडफोड गर्यो भने उसलाई कस्तो महशुस होला ? कति पीडा होला र? आज अनाहकमा दुई जनाको मृत्यु भयो, ति मध्ये एक आफ्नो कार्यस्थलमा सञ्चारकर्म मै रहेका पत्रकार हुन् । परिवारलाई कति पीडा हुँदो हो ! आफूलाई क्षति हुँदा मात्र क्षति भएको महशुस हुने र अरुको क्षतिमा रमाउने कदापी नेपाली परिचय र संस्कृति हुन सक्दैन।
सँगै, शान्त र मनोरम देश भनेर हजारौँ पर्यटक नेपालमा घुम्न आएका हुन्छन् । आन्दोलन जारी रहँदा कतिपय पर्यटक विमानस्थलमा भर्खरै ओर्लिएका थिए होलान् । कतिपय काठमाडौँका ऐतिहासि र पूरातात्विक महत्वका सम्पदा क्षेत्रको भ्रमण गर्दै थिए होलान् । तर, उनीहरुले ट्याक्सी पाएनन् । जहाजको उडान र अवतरण नै प्रभावित हुँदा कतिपय पर्यटक जहाजसँगै डाइभर्ट भए, कतिपय आफ्नो देशबाट उड्नै पाएनन् । अब उनीहरु किन आउँछन् यहाँ ? आइसकेकाहरुले कस्तो सन्देश लिएर फर्केलान् ? यस्ता गतिविधिले हाम्रो देशको छवी अन्तर्राष्ट्रिय बजारमा धुमिल बनाउने बाहेक अर्को कुनै योगदान गर्दैन ।
चुनावताका अर्को पार्टीका व्यक्तिलाई देखि नसहने, काट्छु र मार्छु झैँ गर्नेहरु, एकदिन खाडी जान एउटै जहाज चढेका जस्ता दृष्टान्त आई नै रहन्छन् । अहिले पनि अहिले जति नै प्रदर्शन र आन्दोलन गरे पनि यस्तै ताल हो भने आज उग्र भएर आगजनी र तोडफोड गर्नेहरु भोली वैदेशिक रोजगारीको लागि जहाज चढ्दा एउटै लाइनमा देखिन सक्छन् ।
एउटा उद्यम सुरु गर्न, एउटा घर बनाउन, एउटा व्यवसाय सुरु गरेर चलाउन एउटा व्यक्तिले वर्षौ संघर्ष गरेको हुन्छ । अनि जब त्यो बिना कारण क्षण भरमै नोक्सान हुन्छ, अनि स्वभाविक प्रश्न उठ्छः किन लगानी गर्ने ? व्यवसाय किन गर्ने ?
त्यसैपनि नेपालमा लगानीको वातावरण छैन भनिन्थ्यो । सरकारले पछिल्लो समय अध्यादेश ल्याएर प्रतिस्थापन विधेयक मार्फत लगानीको वातावरण बनाउने कसरत गर्दै थियो । तर, आजको जस्तो घटनाक्रमले लगानीको वातावरण बिथोलिन्छ नै । अहिले विदेशी लगानीको कुरै छोडौँ, अब काठमाडौँमा आज भएको उग्र आन्दोलनको समाचार, फोटो र भिडियो क्लिप विदेशी सञ्चारमाध्यमहरुमा प्राथमिकताका साथ आउछन् । विदेशी लगानीको कुरो त्यहि बेला गर्दा उचित होला ।
व्यवस्था परिवर्तन भएको वर्षौपछि पनि व्यवस्था परिवर्तन कै लागि, अझ नेपाली जनताले काम लाग्दैन भनेर मिल्क्याएको पूरानै व्यवस्था फर्काउनका लागि भनेर यस्तै उग्र आन्दोलन गरिरहने हो भने नेपालमा कसैले लगानी गर्दैन । आज भाटभटेनी सुपरमार्केट जस्ता ठूला कर्पोरेट हाउसहरुमा मात्र तोडफोड भएको छैन, अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायमा पनि तोडफोड भएको छ । सधै झैँ यस्तै आन्दोलन र तोडफोड रहिरहने हो भने किन लगानी गर्ने ? कसले गर्छ लगानी ?
अहिले नेपाली युवा विद्यार्थीहरु विदेशिए भन्ने पनि चिन्ताको विषय छ । आज एसईई परीक्षाको अन्तिम दिन थियो । वर्षौको मेहनत पछि परीक्षा दिन जानै उनीहरुलाई सकस भयो, जसोतसो परीक्षा केन्द्रमा पुगेर परीक्षा सकिएर बाहिर निसक्दा काठमाडौँमा रहेका विद्यार्थीहरुले घर फर्कने सवारीसाधन पाएनन् । परीक्षा सकिएर रमाउने सोचमा रहेका उनीहरु तोडफोड र आगजनीका फोटो, भिडियो र समाचारमा कसरी रमाउन सक्छन् ? उनीहरुले मुलुकभित्र कसरी सम्भावना देख्न सक्छन् ? हो यस्तै घटनाक्रमले हो, नयाँ पुस्तालाई नेपालमै टिकाउन नसकिने । यस्तो देशमा किन बस्ने भनेर उनीहरुलाई कसरी कन्भिन्स गर्ने ? अनि प्रश्न उठ्छ ‘यस्तै तालले कसले गर्छ नेपालमा लगानी ? को बस्छ नेपाल ?’
आजको उग्र प्रदर्शनको कारण को हो, किन यस्तो अवस्था आयो, यसको जिम्मेवार को हो भन्ने विषयको समीक्षा विस्तारै हुँदै गर्ला । तर, जे सुकै कारण भएपनि गरीखाने वर्गलाई आफ्नो काम गरेर खाने वातावरण बनाइनु पर्छ । दिनभरी पसिना बगाएर, ठेला चलाएर, भारी बोकेर जहान परिवार पाल्नेहरुले आजको छाक कसरी टार्लान् ? आजको उग्र र अराजक भिडको शिकार पनि यहीँ वर्ग भएको छ । आन्दोलनको हुँकार गर्नेहरुलाई त केहीको अभाव नै छैन । त्यसैले, जनगायक जेबी टुहुरेले भनेका छन्, ‘लाखौँका लागि उराठ छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ ।’
यदि व्यवस्था कै लागि भन्दै यस्तो आन्दोलनलाई सामान्य बनाउने हो भने यस्ता आन्दोलन कहिल्यै पनि रोकिदैनन्। मानि लियौ व्यवस्था परिवर्तन भयो,अनि कुनै समूहलाई १० वर्ष पछि फेरिएको व्यवस्था पनि मन परेन भने फेरि यस्तै हिंस्रक आन्दोलन गर्ने ? व्यवस्था मन परेन भन्दैमा ५/१० वर्षमा यस्तै अराजक आन्दोलन गरिरहने ? यसमा गम्भीर भएर सोच्न जरुरी छ।












