हरेक दिनजस्तै रेकर्ड ब्रेक गरिरहेको सुनको भाउ शुक्रबार घट्यो । नेपाली बजारमा बिहीबार प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सयमा झरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो २४ घण्टामा सुनको भाउमा पहिरो नै गएको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको भाउ पछिल्लो २४ घण्टामा प्रति औंसमा ८.१५ प्रतिशत अर्थात् ४३४ डलरले घटेर ४ हजार ८९३ अमेरिकी डलर कायम भएको छ । एक औंसमा २.६६ तोला हुन्छ । यस आधारमा तोलामै २०० डलरले सुनको भाउ घटिसकेको छ ।
चाँदीको भाउ पनि पछिल्लो २४ घण्टामा प्रतऔंस २९.१६ डलरले ओरालो लागेर एक औंसको ८५ डलरमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो समाचार तयार पर्दासम्म चाँदीको भाउमा २५.४६ प्रतिशतले गिरावट आएको छ ।
सुनचाँदीको भाउमा घटबढ हुनुमा नेपाली बजारको ठूलो भूमिका हुँदैन । यसको सम्पूर्ण सम्बन्ध अन्तर्राष्ट्रिय बजारसँग जोडिएको हुन्छ । नेपालले निश्चित प्रतिशत भन्सार शुल्क मात्रै जाडिने हो ।
तर, एकाएक उचाईमा पुगेको सुनचाँदीको भाउमा अमेरिकी डलर बलियो भएपछि गिरावट आउन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंक (फेड)को प्रमुखमा केभिन वार्सलाई मनोनयन गरेपछि डलरको भाउ बढ्न थालेको विश्लेषकहरु बताउँछन् । फेडको नेतृत्वमा वार्स मनोनयन भएपछि शुक्रबार एकैदिन अमेरिकी डलर सूचकांक ०.९ प्रतिशतले बढेको छ ।
नयाँ प्रमुख आएसँगै फेडले स्वतन्त्र रुपमा काम गर्छ वा त्यसमा राजनीतिक हस्तक्षेप हुन्छ भन्ने अन्यौल हटेकाले डलरको भाउ बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि अमेरिकाको विभिन्न देशसँगको भूराजनीतिक तनाव, विभिन्न देशबीचको युद्ध, अमेरिकी कर नीति लगायतका कारण लगानीकर्ताहरु सुनमा आकर्षित हुँदा भाउ ह्वात्तै बढेको थियो । तर क्रमशः डलर मजबुत थालेसँगै अब सुनको भाउ घट्न सक्ने अनुमान गरिएको छ ।
यहीँ गतिमा सुनको भाउ घटे आइतबार नेपाली बजारमा सुनको भाउ निकै घट्नेछ । अहिलेकै अवस्था (प्रतिऔंस ४३४ डलरको गिरावट) स्थिर रहे पनि आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २७ हजारभन्दा बढीले घट्ने देखिएको छ ।
यसैगरी, चाँदीको भाउमा भइरहेको गिरावट कायम रहे नेपाली बजारमा चाँदी पनि प्रतितोला १५ सय हाराहारीले सस्तिने देखिन्छ ।













