सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ। वैशाख २१ गते सोमबारदेखि लागु हुने गरि कम्पनीले एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो।
यस संगै सोपान फर्मास्युटिकल्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सेवा एनएमबि क्यापिटलले प्रदान गर्ने छ।
कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओ वैशाख १७ गते बाँडफाँड भईसकेको छ।नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
अब आईपीओ परेका शेयर लगानीकर्ताको खातामा आएपछि र नेप्सेमा सुचिकृत भएपछि कम्पनीको शेयर कारोबार सुरु हुनेछ । शेयर सूचीकरण पश्चात सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ । कम्पनीका अध्यक्ष डा. अनिल पोखरेल हुन् भने अन्य संचालकमा भिम लाल पौड्याल, कृति कुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन् । कम्पनीका सीइओ सुमन न्यौपाने हुन् ।
कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।













