नेपाली कफी पारखीहरुमाझ लोकप्रीय बनेको ‘हिमालयन जाभा’ले भारतमा पनि उपस्थिति जनाएको छ । गगन प्रधान संस्थापक रहेको हिमालयन जाभाले भारतको नयाँ दिल्लीस्थित ‘मजनु का तिला’मा आउटलेट खोलेको हो ।
हिमालयन जाभाका महाप्रबन्धक दिवाकर ओझाका अनुसार ५ महिना अगाडीबाट भारतमा जाभा सञ्चालनमा आएको हो । ‘पार्टनरसीप मोडलमा भारतमा सञ्चालनमा ल्याएका हौँ, भारतीय साथीहरु नै पार्टनर हुनुहुन्छ’ उनले भने, ‘भुटानमा चाहिँ फ्रेन्चाईज मोडलमा पहिलेदेखी नै चलिरहेको छ ।’
उनका अनुसार हिमालयन जाभाले दक्षिण एसियाली बजारलाई ‘कभर’ गर्ने लक्ष्य लिएको छ । अमेरिका र युरोपका शहर भन्दा दक्षिण एसियाको बजार नै कफीका लागि राम्रो रहेको भन्दै ओझाले हिमालयन जाभालाई यस क्षेत्रमा विस्तार गर्ने योजना बनाइएको छ । निकट भविष्यमा भारतका अन्य शहरमा पनि विस्तार गरिने उनको भनाइ छ ।
सन् १९९९ मा सुरु भएको जाभाले २५ वर्षे यात्रा पूरा गरिसकेको छ । साथै, हिमालयन जाभा सर्वसाधारणका लागि आईपीओ निष्काशनको तयारीमा समेत छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गर्ने क्रम जारी नै रहेको र अहिलेसम्म करिब ४० प्रतिशत तयारी सकिएको महाप्रबन्धक ओझाले जानकारी दिए ।
सन् १९९९ मा हेरिटेज प्लाजाबाट सुरु भएको हिमालयन जाभाका हाल ७५ बढी आउटलेट सञ्चालनमा छन् । जम्मा १२ लाख लगानीबाट सुरु भएको जाभा अहिले देशभित्र मात्रै नभई विदेशमा समेत उपस्थित जनाउने बलियो नेपाली ब्राण्ड बनेको छ । यसका संस्थापक एवम् म्यानेजिङ डिरेक्टर गगन श्रेष्ठका अनुसार हिमालयन जाभाले नेपाली कफी मात्रै बिक्री गर्दै आएको छ ।
गगनले इलाममा आफ्नै कफी फार्म पनि सुरु गरेका छन् ।













