नेपाल धितोपत्र बोर्डमा प्राइभेट इक्विटी एन्ड भेन्चर्स क्यापिटल (पीईभीसी)को अनुमति माग गर्दै आवेदन दिने संस्थाको संख्या तीन दर्जन बढी पुगेको छ। धितोपत्र बोर्डको पछिल्लो तथ्यांक अनुसार ३७ वटा संस्थाले पीईभीसीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन्।
हालको विद्यमान व्यवस्था अनुसार पीईभीसीहरुलाई एक वर्षको मात्र लकइन अवधिको वव्यवस्था रहेको छ। अर्थात् यदि कुनै पीईभीसीले लगानी गरेको कम्पनीले आईपीओ निष्काशन गरेर पुँजीबजारमा आएमा त्यसको एक वर्ष मै पीईभीसीले आफुले गरेको लगानी दोस्रो बजार मार्फत बिक्री गर्न पाउने छन्। संस्थापक शेयरधनीलाई ३ वर्षको लकइन अवधि राखिएकोमा पीईभीसीलाई आईपीओ आएपछि १ वर्ष मै एक्जिटको सुविधा रहेकोले संस्थाहरु पीईभीसीको लाईसेन्स पाउन लालायित देखिएका छन् ।
अहिले भएका पीईभीसीहरुले संचालन गरेका कतिपय फण्डहरु बैंक र बीमा कम्पनीहरुले लगानी गरेका छन् । तर अहिले बैंक र बीमामा लगानीयोग्य रकम धेरै रहेकोले बीमा र बैंकहरु आफै पीईभीसी खोलेर आफै संचालन खोजेको देखिन्छ। त्यसकै कारण बैंक र बीमाका सहायक कम्पनीहरुले पनि लाईसेन्स माग गरेका छन् ।
हाल संचालनमा रहेको एक पीईभीसीका प्रबन्ध निर्देशकका अनुसार लकइन अवधि एक वर्ष भएकै कारण यदि धेरै संस्थाहरु पीईभीसीहरुको लाईसेन्स पाउन मतिहत्ते गरेका हुन्। पूर्व सचिव रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगले यो लकइन अवधिलाई २ वर्ष पुर्याउन सिफारिस गरेकोले सो व्यवस्था पूर्णरुपमा लागु हुने अगाडी नै आवेदन दिएका संस्थाहरु लाइसेन्स लिन लागिपरेको उनी बताउछन्। यदि दुई वर्षको लकइन अवधि राखिएमा आवेदन दिएका धेरै संस्थाहरु ब्याक हुन सक्ने उनको भनाई छ।
हाल पीईभीसीको लाईसेन्स पाउनको लागि आवेदन दिएकाहरु मध्ये अधिकांश ब्रोकरहरुको अगुवाईमा खुलेका संस्था, शेयरबजारका ठूला लगानीकर्ताले खोलेका संस्था, बैंकका सहायक कम्पनी, बीमाका सहायक कम्पनी, र मर्चेन्ट बैंकर्स रहेका छन् । विदेशबाट फण्ड ल्याउने प्रस्ताव गरेका संस्था एकदमै न्यून छन् ।
नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष रहेको बेला मर्चेन्ट बैंकर्सलाई अन्तिम पटकको लागि पीईभीसीको लाईसेन्स प्रदान गरिएको र त्यसपछि उनीहरुले लाइसेन्स नपाउने बताएको अर्को एक पीईभीसीका संचालकको भनाई छ । उनका अनुसार धितोपत्र बोर्डले मर्चेन्ट बैंकर्सहरुआई पीईभीसीको लाईसेन्स प्रदान गर्नु हुदैन। अहिले भएका पीईभीसीहरुले नै आवश्यक फण्ड जुटाउन नसकिरहेको बेला आवश्यकता औचित्य र क्षमताको विश्लेषण नगरी थप लाईसेन्स दिन नहुने उनको भनाई छ।
शेयरबजारमा १० कित्ता नीतिको कारण कुनै पनि कम्पनीको आईपीओ बिक्री हुन अहिले समस्या छैन । यसकै फाइदा उठाउंदै पीईभीसीहरुले सर्वसाधारणको लगानी डुबाउन सक्ने देखिएको छ । कुनै पीईभीसीले कुनै एउटा कम्पनीमा लगानी गरेर त्यस कम्पनीको आईपीओ ल्याउन सक्छ । सानो कम्पनीको आईपीओ आएमा लो क्यापको नाममा शेयर मूल्य उच्च पुग्न सक्छ । पीईभीसीले कम्पनीका अन्य संस्थापक भन्दा पनि अगाडी नै शेयर बेचेर निस्किन सक्ने कारण, पीईभीसी पूर्ण रुपमा निस्कन सक्छ । संस्थापक पनि ३ वर्षको लकइन अवधि पछि निस्किएमा शेयर छरिएर सर्वसाधारणको हातमा पुग्ने र कम्पनीलाई नेतृत्व दिने शेयरधनी नै नपाउने अवस्थासम्म आउन सक्छ । अहिले लाइसेन्सको लागि आवेदन दिएका केही संस्थाले यसरी नै आफुले प्रमोटर पनि जुटाईदिने, आफुले पनि शेयर हाल्ने, आईपीओ ल्याउने कार्य पनि गर्ने भन्दै आर्थिक अवस्था कमजोर भएका केही कम्पनीको शेयर लिएका छन् छन् । साथै प्रि आईपीओ भन्दै व्हाट्सएप ग्रुपमार्फत ति कम्पनीको शेयर सर्वसाधारणलाई बिक्री गरिरहेका छन्।
प्रमोटर नै बाहिरिएका कारण अहिले कतिपय हाइड्रोमा साधारणसभा गर्दा समेत गणपुरक संख्या नपुगेर साधारण सभा समेत सम्पन्न हुन नसकेका उदाहरण छन्। यस्तो अवस्था आउन नदिनको लागि पीईभीसीको लाईसेन्स दिंदा धितोपत्र बोर्डले विशेष ध्यान दिनु पर्ने देखिन्छ ।
२ वटाले पाए सैद्धान्तीक सहमति
नेपाल धितोपत्र बोर्डले आवेदन दिएका पीईभीसी मध्ये दुई वटालाई गत महिना सैद्धान्तीक सहमति दिएको छ । धितोपत्र बोर्डले म्याभरिक कौटिल्य भेन्चर र मोघा इनफ्राब्लाक्स प्राइभेट लिमिटेडलाई सैद्धान्तीक सहमति प्रदान गरेको छ । यी दुई मध्ये मोघा इनफ्राब्लाक्सले उर्जा क्षेत्रमा लगानी गर्नको लागि सिंगापुरबाट फण्ड ल्याउने बताईएको छ। धितोपत्र बोर्डले आवेदन दिएका अन्य संस्थालाई पनि क्रमश सैद्धान्तीक सहमति दिदै जाने बताएको छ ।
लाइसेन्सको लागि आवेदन दिएका पीईभीसी
इमेजिङ्ग भेन्चर्स
हिमालयन क्यापिटल लिमिटेड
एभरेष्ट व. फण्ड लिमिटेड
सनलाइफ क्यापिटल
सिटिजन्स क्यापिटल
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल
टिम पार्टनर्स फण्ड लिमिटेड
एशियन क्यापिटल लिमिटेड
पावर फण्ड लिमिटेड
एलिभेसन पार्टनर्स प्राइभेट लिमिटेड
मुक्तिनाथ क्यापिटल
ज्योति क्यापिटल लि.
माछापुच्छ्रे क्यापिटल लि.
इमपेरियल इनोभेशन फण्ड लि.
समृद्धि इक्वीटी लि.
स्माट इन्भेष्टमेन्ट लि.
नेपाल लाइफ क्यापिटल लि.
एपेक्स फन्ड्स लि.
पिक इक्युटि भेन्चर लिमिटेड
म्याभरिक कौटिल्य भेन्चर
ईन्भेस्टलिस्ट क्यापिटल लि.
त्रिशक्ति इक्विटी फण्ड लिमिटेड
ब्लु चिप भेन्चर क्यापिटल लि.
एक्स इक्वीटी लिमिटेड
मोघा इनफ्राब्लाक्स प्राइभेट लि.
हिमालयन भेन्चर क्यापिटल लि.
मल्टिप्लाई क्यापिटल म्यानेजमेन्ट लि.
द्रव्यमाक्स भेन्चर लि.
सारथी इक्विटी फण्ड लि.
ट्रष्ट इक्विटी फण्ड लि.
आशा इक्वीटी भेन्चर्स लि.
कुमारी क्यापिटल लि.
जेरोधा इक्वटी लि.
ब्रास एसेट म्यानेजमेन्ट कम्पनी लि.
क्रियटिभ वेल्थ प्रा.लि.
मम्मा नेपाल प्रा.लि.
फिनलोजिक क्यापिटल लि.
लाईसेन्स पाईसकेका पीईभीसी
आध्यान्त फण्ड म्यानेजमेन्ट
अल्फा प्लस भेन्चर्स
अवसर इक्विटी फण्ड
स्वेडा इक्विटी फण्ड
ग्लोबल इक्विटी फण्ड
लक्ष्मी सनराइज क्यापिटल
नबिल इन्भेष्टमेन्ट बैंकिंग
नेशनल फण्ड म्यानेजमेन्ट
एनआईबिएल एस क्यापिटल
एनआईसी एशिया क्यापिटल
एनएमबि क्यापिटल
प्रभु क्यापिटल
रिलायबल भेन्चर क्यापिटल












