अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे सुझाव पेश गरेका छन्। उनले पुँजीबजार विकास, विस्तार र लगानीकर्ताको हक हितको संरक्षण लागि बोर्डले गर्नु पर्ने कामको सुझावहरु वोर्डका अध्यक्ष डा. गोपाल भट्ट समक्ष पेश गरेका हुन्।
लगानीकर्ता रौनियारले पुँजीबजार विकास, विस्तार र लगानीकर्ताको हक हितको संरक्षणबारे बोर्ड अध्यक्ष डा. भट्टसँग छलफल पनि गरेका छन् । छलफलको क्रममा रौनियारले पुँजीबजारको सुदृढीकरण र बजारमा दिर्घकालीन प्रभाव पार्नको लागि १५ बुँदे सुझाव पेश गरेको बताएका छन् ।
यस्ता छन् उनले पेश गरेका सुझाव
१. बैंक तथा बित्तिय संस्थाहरुलाई दोस्रो बजारमा निर्वाध रुपमा शेयर खरीद/बिक्रि गर्ने व्यवस्था मिलाउनु पर्ने । अहिले विद्यमान ६ महिने व्यवस्था तत्काल हटाउनु आवश्यक पर्ने ।
२. सरकारले बजेट मार्फत बढाएको पुंजीगत लाभकार पुरानै अवस्थामा फर्काई अझ ५% लाई ४% र ७.५% लाई ६.५% गर्नु पर्ने । यसले दैनिक कारोबार बढ्न गइ १५-२० अर्बको दैनिक कारोबार र सरकारी राजस्व पनि बड्ने नै देखिन्छ ।
३. धितोपत्र बजारमा लाग्ने सबै प्रकारको शुल्क/(धितोपत्र बोर्ड, नेप्से, सिडिएससी र ब्रोकर) समयानुकुल परिमार्जन गरि, शेयर खरीद वा बिक्री गर्दा लाग्ने दोहोरो कमिसन प्रणाली हटाएर एकतर्फी कमिसनको व्यवस्था गर्नुपर्ने ।
४. कारोबार प्रणालीमा लगानीकर्ताहरुले राखेको (खरिद/बिक्रीको) आदेशलाई अनावस्यक खण्डिकरण गरि उच्चतम कमिसन तिर्नु पर्ने समस्या समाधान गर्दै, दिनभरी को जम्मा टोटल कारोबारलाई आधार मानी एकमुष्ट कमिसन तिर्ने व्यवस्था गर्नुपर्ने ।
५. Future & Option Market, Intra-day, Short Sell, Equity Traded Fund etc. ल्याउँदा सानो तथा घरेलु/बचत लगानीकर्ता लाई सुरक्षित गर्ने आवस्यक नियमनकारी पूर्वाधारहरु प्रयोग गर्नु पर्ने अवस्य पर्दछ ।
६. कुनै कम्पनीले पहिला नै विभिन्न करहरू तिरेर वितरण गरिने बोनस तथा नगद लाभांशमा थप ५% दोहोरो करको भार तत्काल खारिज गर्नु पर्ने ।
७. कम्पनीहरुले आर्थिक बर्ष समाप्त भएको अधिकमा २ महिना भित्र बार्षिक साधारण सभा (AGM) गरि अर्को १ महिना भित्र बोनस / नगद लाभांश खातामा पठाउनु पर्ने ।
८. प्रत्येक बर्ष Demat Account नबिकरण गर्नु पर्ने झन्झट हटाई लगानीकर्ताहरुलाई राहत दिनुपर्ने ।
९. हाल बिध्यमान ७०% मार्जिनल लेन्डिंगको व्यवस्था अनुरुप कर्जा लिंदा नै प्रचुर मात्रामा धितोबन्धक दिई सकेको हुँदा बोनस तथा नगद लाभांस लाई फेरी Freeze गर्ने अनावस्यक झंझंतिलो प्रक्रिया बोर्डबाट नै हटाउनु पर्ने ।
१०. हालको TMS Online प्रणाली प्रति लगानीकर्ताहरुमा ब्यापक गुनासो र असन्तुष्ति रहेको हुनाले अन्तर्राष्ट्रिय स्तरको Tested, Trusted र cross border / payment gateway प्राप्त NRN र FDIले सहजै देश विदेशबाट दैनिक कारोबार गर्न सक्ने प्रणालीको व्यवस्था गर्नुपर्ने ।
११. नेप्सेलाई यथासिघ्र आधुनिकीकरण गरी (Public Company) बनाउनु पर्ने ।
१२. IPOमा १० कित्ते नीतिलाई निरन्तरता गरिनु पर्ने ।
१३. गैर आवासीय नेपाली (NRN) ले लगानी र नाफा सहजै बाहिर लैजान नसक्ने कानुनी अड्चन हटाई, NRNको लागि आकर्षित गर्ने सहज र पारदर्शी व्यवस्था गरिनु पर्ने ।
१४. नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्ता, आवस्यक अधिकार प्रदान गरी सक्षम, पारदर्सी र आधुनिक अभिभावकीय नियामक संस्थाको रुपमा विकास गरिनु पर्ने ।
१५. धितोपत्र बजारमा अनावस्यक हल्ला फैलाउने, बजार प्रभावित गर्नेहरुले नियन्त्रण गर्ने, धितोपत्र बोर्ड र नेप्सेले ४ घण्टा प्रतक्ष्य-कारोबार हेर्ने गरि नै एउटा कक्ष बनाउने र cyber crime को कडा नियम पनि बनाउनु पर्ने ।









