नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (ईडी) डा. नवराज अधिकारीको अनिवार्य अवकाशसँगै धितोपत्र बोर्डमा एक कार्यकारी निर्देशक पद रिक्त भएको छ। उनी गत बिहीबार ५८ वर्ष उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन्।
अब धितोपत्र बोर्डले उप कार्यकारी निर्देशकहरु मध्येबाट एक जनालाई कार्यकारी निर्देशकमा बढुवा गर्नु पर्ने छ। धितोपत्र बोर्डका अनुसार लोक सेवा आयोगबाट स्वीकृति आएपछि बढुवा प्रक्रिया सुरु हुने छ। कार्यसम्पादन मुल्यांकनको आधारमा आन्तरिक बढुवा हुने छ।
हाल बोर्डमा ८ जना उपकार्यकारी निर्देशक छन् । नेपाल धितोपत्र बोर्डले उप कार्यकारी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवाको लागि प्रक्रिया अगाडी बढाउँदा एक जना मात्र उप कार्यकारी निर्देशक मात्र प्रतिस्पर्धाको लागि योग्य हुने बोर्डले जनाएको छ।
हाल कायम रहेका उप कार्यकारी निर्देशकहरु मध्ये दीपा दाहाल बरिष्ठताको आधारमा सबैभन्दा अगाडि छिन्। उनी उप कार्यकारी निर्देशकमा बढुवा भएको ५ वर्षभन्दा धेरै भईसकेको छ। हाल उप कार्यकारी निर्देशक पदमा ५ वर्ष भन्दा बढी काम गरेको उनी मात्र छिन् । सोहि कारण अब दाहालको बढुवा हुने निश्चित रहेको बोर्ड स्रोत बताउछ। बढुवा अगाडी बोर्डले उनलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिने सम्भावना छ ।
यस अघि बोर्डमा एक कार्यकारी निर्देशक पद रिक्त हुँदा पनि दाहाल बढुवाको लागि योग्य रहेकी थिइन्। त्यस समय रुपेश केसी कार्यकारी निर्देशकमा बढुवा भएका थिए। अब भने दाहालको बढुवा पक्का जस्तै रहेको बताईएको छ।
यसपछि फेरि कार्यकारी निर्देशक पद रिक्त हुँदा भने हाल उपकार्यकारी निर्देशक रहेका निरन्जय घिमिरे, अम्बिका प्रसाद गिरी, नारायण प्रसाद शर्मा र दिपेश ताम्राकार बढुवाको लागि योग्य हुने छन् । यी ४ जना नै २०७९ साउनमा उप कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।
बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् । त्यस्तै उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा हुन्छन्। बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा रहने ब्यबस्था छ ।













