नेपाल स्टक एक्सचेन्ज नेप्सेले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार विनियमावली, २०८२’ पारित गरेको छ। गत साता बसेको नेप्सेको संचालक समितिको बैठकले विनियमावली पारित गरेको थियो। विनियमावली स्वीकृतिको लागि हिजो मंगलबार नेप्सेले धितोपत्र बोर्डमा फाइल दर्ता गराएको छ।
नेपाल धितोपत्र बोर्डले २०८१ माघ ३ गतेबाट लागू हुनेगरि साना तथा मझौला संगठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०८१’ लागू गरेको थियो । तर नेप्सेमा संचालक फेरबदल भईरहेको कारण नेप्सेले विनियमावली स्वीकृत गरी बोर्डमा पठाउन सकेको थिएन। नियमावली आएको १ वर्षपछि बल्ल विनियमावली स्वीकृतिको लागि धितोपत्र बोर्डमा पुगेको छ। अब धितोपत्र बोर्डले विनियमावली स्वीकृत गरेपछि २५ करोडसम्म चुक्ता पुँजी भएका कम्पनीको आइपीओ यो नियमावलीको व्यवस्था अनुसार आउने छन्।
विनियमावलीले खास गरि साना तथा मझौला संगठित संस्थाको धितोपत्रको सूचीकरण, सम्झौताको ढाँचा तथा विवरण, सूचीकृत सङ्गठित संस्थाको वर्गीकरण, सूचीकरण, खारेजी र पुनः सूचीकरण, कारोबार एकाइ तथा बोर्ड एकाइ, मूल्य निर्धारण प्रक्रिया, कारोबार गर्ने स्थान र समय, खरिद तथा बिक्री आदेश, कारोबार सञ्चालन प्रक्रिया तथा मूल्य परिवर्तन सीमाबारे प्रष्ट व्यवस्था गर्नु पर्ने थियो । ति व्यवस्था समेटेर नेप्सेले विनियमावली पारित गरेर बोर्डमा पठाएको हो ।
अब धितोपत्र बोर्डले स्वीकृत गरेपछि नेप्सेको संचालक समितिको बैठकले तोकेको मितिबाट विनियमावली लागू हुने छ। विनियमावली लागू भएपछि २५ करोडसम्म चुक्ता पुँजी भएका कम्पनीको आइपीओ ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०८१’ को व्यवस्था अनुसार आउने छन्।
यस अघि : १० महिनासम्म पनि विनियमावली नबन्दा अघि बढेन एसएमई कम्पनीको आईपीओ, किन भयो ढिलाई?









