Wednesday, July 15, 2026
spot_img

कर्मचारी आन्दोलनको १८ औं दिनमा कार्यालय पुगे सेबोनका संचालक, तत्काल बैठक बस्न दबाब

spot_img

नेपाल धितोपत्र बोर्डमा कार्यरत सम्पुर्ण कर्मचारीहरु १८ दिनदेखि आन्दोलनमा छन् । दशैँ विदापछि कार्यालय खुल्दा कर्मचारी कार्यालयमा उपस्थित भएका छन् तर आन्दोलन जारी राख्दै कामकाज ठप्प पारेका छन्। अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा पठाएको पत्रको विरोधमा बोर्डका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुले आन्दोलन सुरु गरेको १८ औं दिनमा आज धितोपत्र बोर्डका ३ जना संचालकहरु बोर्डको खुमलटार स्थित कार्यालय पुगेका छन् । बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ तथा संचालकद्वय विनोद कुमार भट्टराई र सीए आनन्द राज शर्मा वाग्ले आज खुमलटार पुगेका हुन् । भट्टराई कानून मन्त्रालयका सहसचिव हुन् भने वाग्ले आईक्यानका प्रतिनिधि हुन् । उनीहरुले आन्दोलरत कर्माचारीहरुसँग अनौपचारिक छलफल समेत गरेका छन् ।

छलफलको क्रममा कर्मचारीहरुले अर्थ मन्त्रालयबाट पत्र आएको ३ साता बितिसक्दासम्म पनि संचालक समितिको बैठक बस्न नसकेको भन्दै तत्काल बैठक राख्न दबाब दिएका छन् । तत्काल संचालक समितिको बैठकको राखेर बैठकमा अर्थ मन्त्रालयबाट आएको पत्र पेश गरेर त्यसमाथि छलफल हुनु पर्ने कर्मचारीको माग छ। यति मात्र नभई सो पत्र कार्यान्वयन गर्न नसकिने भन्दै धितोपत्र बोर्ड कानूनी प्रक्रियामा जाने निर्णय संचालक समितिको बैठकबाट हुनु पर्ने कर्मचारीको माग छ।

धितोपत्र बोर्डमा क्रियाशील दुईवटा कर्मचारी युनियनले समस्या समाधानको यस अघि नै दुई वटा विकल्प पेश गरेका थिए । पहिलो विकल्पको रुपमा अर्थ मन्त्रालयले बोर्डलाई पठाएको पत्र बिना कुनै शर्त फिर्ता लिने थियो । हाल अर्थ मन्त्रालयसँग कुनै छलफल र संवाद नै नभएकोले यो विकल्प कार्यान्वयन हुने अवस्था छैन ।

दोस्रो विकल्पको रुपमा अर्थ मन्त्रालयबाट आएको पत्र धितोपत्र बोर्डको संचालक समितिमा पेश गर्ने र सो पत्र विरुद्द बोर्डले अदालत जाने निर्णय हुनु पर्ने कर्मचारी युनियनको माग छ। यस अघि डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा मन्त्रालयले करको दर बढाएपछि धितोपत्र बोर्ड अर्थ मन्त्रालयको विरुद्दमा अदालत गएको थियो। सोहि नजिर देखाउदै अहिले पनि अर्थ मन्त्रालयको विरुद्दमा धितोपत्र बोर्ड कानूनी उपचारमा जानु पर्ने र अदालतबाट यो विषय छिनोफानो हुनु पर्ने कर्मचारीको माग छ।

बोर्ड अध्यक्षले भने आफुले दुवै काम गर्न कठिन हुने बताएको स्रोतको दाबी छ। तर कर्मचारीहरुले भने आगामी आइतबार १० बजेसम्मको अल्टिमेटम दिएका छन्। आइतबार कार्यालय खुल्नु भन्दा अगाडी बोर्ड बैठकले कानूनी उपचारमा जाने निर्णय नगरेमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने कर्मचारी युनियनको तयारी छ।

कर्मचारी युनियनहरुले यस अघि नै धितोपत्र बोर्ड अध्यक्षलाई ज्ञापनपत्र बुझाईसकेका छन्। बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई बुझाईएको ज्ञापनपत्रमा अहिले देखिएको अन्योलता अन्त्य गर्न र कर्मचारीहरुले उच्च मनोवल साथ काम गर्ने वातावरण सिर्जना गर्ने तर्फ अध्यक्ष तथा सञ्चालक समितिको ध्यानाकर्षण गराईएको छ।

धितोपत्र सम्वन्धी ऐन, २०६३ ले प्रत्याभुत गरेको अधिकार क्षेत्र भित्र रहि बनेको नियमावली र सो नियमावलीको परिधिभित्र रहि सञ्चालक बोर्डले जारी गरेका कार्यविधिहरु नेपाल सरकार अर्थ मन्त्रालयको (राजस्व सचिव) स्तरिय निर्णयबाट खारेज गर्न पत्राचार हुदा सञ्चालक बोर्डबाट स्वीकृत भएका सम्पुर्ण नियम, निर्देशिका, कार्यविधिहरुमा नै वैधताको प्रश्न उठ्न सक्ने अवस्था सिर्जना भएको पत्रमा उल्लेख छ। यथासिघ्र यस प्रकारको अन्योलता अन्त्य गर्न र कर्मचारीहरुले उच्च मनोवल साथ काम गर्ने वातावरण सिर्जना गर्ने तर्फ कर्मचारीले ध्यानाकर्षण गराएका छन्।

कर्मचारीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ‘ नेपालको वित्तीय क्षेत्रको ३ वटा आधारस्तम्भ मध्येको एक पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, धितोपत्र सम्बन्धी ऐन २०६३ बमोजिम स्थापित बोर्ड अविच्छिन्न उत्तराधिकारवाला स्वसासित र संगठित संस्था हुने व्यवस्था गरेको र हामी कर्मचारी सोहि ऐनको दफा १९ बमोजिम बोर्डमा कार्यरत रहेका छौ । कर्मचारीहरुवाट ऐनको दफा ३ बमोजिमको संचालक बोर्डले गरेका निर्णय कार्यन्वयन गर्ने जिम्मेवारी तथा दायित्व निर्वाह गर्दै आइरहेकोमा श्री नेपाल सरकार, अर्थ मन्त्रालयका (राजस्व सचिव) स्तरिय निर्णयबाट मिति २०८२/६/२ पत्र संख्या वि.क्षे.व्य.सं.स/२०८२/०८३ च.नं. १६० को पत्रबाट बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्वन्धमा सञ्चालक बोर्डबाट जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने र उक्त कार्यविधिहरु प्रचलित कानून विपरित रहेको भनि पत्र प्राप्त भएकोमा हामी सम्पुर्ण कर्मचारीहरुको गम्भिर ध्यानाकार्षण भएको छ । ‘

किन सुरु भयो धितोपत्र बोर्डमा आन्दोलन ?

अर्थ मन्त्रालयले बोर्डमा पठाएको पत्रको विरोधमा बोर्डका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। राजस्व सचिवको भदौ ३१ गतेको निर्णय अनुसार भन्दै अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्था समन्वय महाशाखाले असोज २ गते बोर्डलाई पत्र पठाएको थियो। मन्त्रालयका शाखा अधिकृत लक्ष्मी प्रसाद उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा वटा बुँदा रहेका छन्।

पहिलो बुँदामा ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल
सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त सम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र वोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने’ भनिएको छ।

दोस्रो बुँदामा ‘प्रचलित कानून विपरित बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असूल उपर गर्न तत्काल कार्य प्रक्रिया शुरु गर्ने’ उल्लेख छ भने भने तेस्रो बुँदामा ‘कुनै पनि आर्थिक दायित्व पर्ने विषयमा निर्णय गर्नुपूर्व अनिवार्य रुपमा अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था कार्यान्वयन गर्ने ।’ भनिएको छ ।

पहिलो र दोस्रो बुँदालाई लिएर कर्मचारीहरु आन्दोलित भएका हुन्। यी बुँदा कार्यान्वयन गर्दा बोर्डका कर्मचारीले अहिले आफुले पाउदै आएको सुविधा कटौती हुन्छ । हालको सुविधा कटौती हुने मात्र नभई यस अघि लिएको सेवा सुविधा पनि फिर्ता गर्नु पर्ने अवस्था आउने छ। त्यस कारण कर्मचारी आन्दोलित भएका हुन् ।

बोर्डका एक कर्मचारीले भने ‘ अवकाश पाईसकेका कर्मचारीले पनि पैसा फिर्ता गर्नु पर्ने अवस्था आयो, कतिपयको निधन भईसकेको छ, उनीहरुले लिएको रकम पनि फिर्ता गर्नु पर्ने, र फिर्ता नगरे सरकारी  बाँकी सरह असूल उपर गर्ने भनिएको छ, यो सह्य हुदैन ‘।

उनका अनुसार यो पत्र पठाउनमा राजस्व सचिवको भूमिका पनि संकास्पद देखिएको छ। राजस्व सचिवले निर्णय गर्नु र निर्णय लगत्तै उनको सरुवा हुनुले यो नियोजित र शंकास्पद रहेको उनी बताउछन् ।

अहिले खारेज गर्न भनिएका सबै कार्यविधिहरु अर्थ मन्त्रलायको सहमति मै निर्माण गरिएको युनियनका कर्मचारी बताउछन् । धितोपत्र बोर्डको संचालक समितिमा अर्थ मन्त्रालय र कानून मन्त्रालयका सहसचिव कै प्रतिनिधित्व हुने भएकोले ति मन्त्रालयको अनुमति बेगर कार्यविधि बन्न नसक्ने उनको भनाई छ।

साथै धितोपत्र बोर्डलाई राष्ट्र बैंक जस्तै सबल बनाउन, स्वायत्तता दिन र बोर्डको काम कारवाही प्रभावकारी बनाउन विश्व बैंक, आईएमएफ लगायतका निकायको सिफारिसमा ति कार्यविधि बनाईएको उनको दाबी छ। उनी भन्छन् ‘धितोपत्र बोर्ड फरक प्रकृतिको संस्था हो, यहाँका कर्मचारीलाई शेयर कारोबार गर्न बन्देज लगाईएको छ, अन्य विविध बन्देज पनि लगाईएको छ, त्यसै कारण कर्मचारीलाई प्रोत्साहन गर्नको लागि ति कार्यविधि ल्याईएको थियो, त्यसलाई खारेज गर्न मिल्दैन’ । जुन जुन सेवा सुविधा पाइन्छ भनेर जागिर खाईएको थियो, ति सेवा सुविधा नपाइने बीच मै काट्न नमिल्ने उनी बताउछन् ।

यसै कारण धितोपत्र बोर्डका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। उनीहरुको माग नै अर्थ मन्त्रालयले पठाएको पत्र कार्यान्वयन नगर्ने सुनिश्चितता हुनु पर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना

नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागि ८ वटा योजना...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असार ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

प्रोटोन इ.मास ५ को बुकिङ खुला, ग्राहकले पुर्वानुमान गरेकै मूल्यमा गाडी किन्न सक्ने

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धि प्रतिवेदन मन्त्रीलाई बुझाइयो

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि उद्योग मन्त्रालयको कार्यदलले...

निजी मिडियालाई सरकारी सूचना नदिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

निजी र सामुदायिक सञ्चार माध्यममा सरकारी विज्ञापन तथा सूचना...
spot_img