ट्रेड टावर लिमिटेडको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । सिडीएससीले आइतबार साँझ शेयर परेकाहरुको डिम्याट खातामा शेयर पठाएको हो।
अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ। कम्पनीको TTL सिम्बलबाट शेयर कारोबार हुने छ।
बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले गत असार १ गते कम्पनीको आईपीओ बाँडफाँड गरेको थियो। कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल २० लाख ७४ हजार २ सय ८५ जनाले २ करोड ४१ लाख १७ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको थियो। गोलाप्रथाबाट ३ लाख २९ हजार ६ सय ५० जनाले शेयर पाएका थिए ।
यस कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। त्यस्तै भैसिपाटीमा जनता रेसिडेन्सी नामको अपार्टमेन्ट र गौशालामा होटेल क्रिस्टल पशुपति निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ।
यस कम्पनीका अध्यक्ष शिवहरि दंगाल हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै शेयर स्वामित्व रहेको छ।