Sunday, March 15, 2026
spot_img

प्रणाली बाहिर अर्बौंको शेयर: न कारोबार हुन्छ, न डिम्याटमा आउँछ

spot_img
spot_img

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्यो । आईपीओ निष्काशनपछि यो कम्पनीको पहिलो लाभांश थियो । सर्वसाधारणतर्फ ६ लाख ४४ हजार जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका थिए । तर, दोस्रो बजारबाट शेयर नथपी १० कित्तामात्र राखेका शेयरधनीको खातामा देखिने गरी बोनस शेयर नै आएन ।

त्यस्तै सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०८०/८१  मा ७ प्रतिशत बोनस शेयर वितरण गर्यो । १० कित्तामात्र शेयर भएका लगानीकर्ताको खातामा देखिने गरी सर्वोत्तम सिमेन्टको बोनस शेयर नै आएन । अर्थात् बोनस वितरणपछि पनि उनीहरुको खातामा १० कित्ता शेयर नै देखाउँछ ।

युनाईटेड इदी मार्दी एण्ड आरबी हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा ५ दशमलव ५ प्रतिशत बोनस र आर्थिक वर्ष २०८०/८१ मा ४ प्रतिशत बोनस शेयर वितरण गर्यो । कम्पनीले दुईपटक बोनस शेयर दिँदापनि १० कित्तामात्र शेयर हुने शेयरधनीको खाताले भने १० नै कित्ता देखाईरहने छ ।

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । कम्पनीले बोनस शेयर वितरण गर्ने तर शेयरधनीको खातामा नआउने वा नदेखाउने संख्या धेरै नै ठूलो छ । यसरी शेयर नदेखाउने कारण हो नेपालमा १ कित्ताभन्दा कम शेयर डिम्याट खातामा नपठाइनु ।

माथि उल्लेखित उदाहारणमा साहस उर्जाले ८ प्रतिशत बोनस शेयर वितरण गर्दा १० कित्ता शेयर हुनेले ०.८ कित्ता मात्र प्राप्त गर्छन् । तर, १ भन्दा कम भएकोले सो शेयर खातामै आउँदैन । त्यस्तै सर्वोत्तमको ७ प्रतिशत बोनस पनि १० कित्ता हुनेले ० दशमलव ७ कित्तामात्र पाउने भएकोले खातामै आउँदैन ।

युनाईटेड इदी मार्दीले पहिलो पटक ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्दा १० कित्ता शेयर हुनेले ० दशमलव ५५ कित्ता शेयर प्राप्त गर्छन् र कुल शेयर संख्या १० दशमलव ५५ हुन्छ । अर्को वर्ष ४ प्रतिशत बोनस दिँदा ० दशमलव ४२२ कित्ता बोनस शेयर प्राप्त हुन्छ । दुवै पटकको बोनस जोड्दा ० दशमलव ९७२ कित्ता हुन्छ । अर्थात् १ कित्ताभन्दा कम नै हुन्छ र १० कित्ता शेयर हुनेले आफ्नो खातामा सो शेयर नै पाउँदैनन् ।

१ कित्ताभन्दा कमको शेयरलाई फ्रयाक्सन शेयर भन्ने गरिन्छ । यस्तो शेयर न लगानीकर्ताको डिम्याट खातामा आउँछ, न कारोबार गर्न सकिने गरी कुनै कारोबार प्रणालीमै गणना हुन्छ । कारोबार प्रणालीमै नआउने शेयरको संख्या कति छ भन्ने यकिन तथ्यांक कुनैपनि नियामक निकायसँग छैन । यसरी कारोबारमा नआउने कुल शेयर संख्या लाखौँ कित्ता रहेको अनुमान भने गर्न सकिन्छ ।

कम्पनीहरुले आफ्नो कम्पनीको शेयर लगत अध्यावधिक गर्ने जिम्मा शेयर रजिष्ट्रारलाई दिएका हुन्छन्, जसलाई अंग्रेजीमा आरटीएस भन्ने गरिन्छ । नियमित रुपमा लाभांश दिइरहेको एक वाणिज्य बैंकको आरटीएसका अनुसार सो बैंकको फ्रयाक्सन शेयर १ लाख कित्ताभन्दा बढी छ । त्यस्तै मर्जरको गएको अर्को एक बैंकको फ्रयाक्सन शेयर संख्यापनि ९० हजार कित्ता हाराहारी रहेको सो बैंकको आरटीएसको भनाई छ । औसतमा वाणिज्य बैंकको फ्रयाक्सन शेयरको संख्या ८० हजार कित्ता अनुमान गरिए पनि शेयरबजारमा कारोबार हुने कुल १९ वटा वाणिज्य बैंकको कुल फ्रयाक्सन शेयर संख्या १५ लाख कित्ता बढी हुन आउँछ । वाणिज्य बैंकको औसत मूल्य ३२५ कायम गर्ने हो भने वाणिज्य बैंकको मात्रै झन्डै ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार प्रणाली बाहिर छ ।

यसरी नै लाभांशको रुपमा बोनस शेयर दिएका विकास बैंक, फाईनान्स, लघुवित्त, जलविद्युत कम्पनी, बीमा कम्पनीहरुको फ्रयाक्सन शेयरको संख्या पनि ठूलो छ । एकीकृत तथ्यांक नभएपनि यस्तो शेयरको कुल संख्या केही अर्ब रुपैयाँ बराबर रहेको आरटीएसहरु बताउँछन् । यसरी अर्बौको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा नआउँदा र कारोबार नै नहुँदा पनि कसैले पनि यसमा खास चासो दिएका छैनन् ।

त्यसो त केही बैंकले एकाध वर्षमा फ्रयाक्सन शेयरलाई पनि राउण्ड अफ गरेर एक कित्ता बनाई लगानीकर्ताको खातामा हालिदिने अभ्यास गरेका थिए । तर, यसो गर्दा बैंकको संस्थापक र सर्वसाधारणको लागि तोकिएको शेयर संरचना बिग्रियो । त्यसपछि राउण्ड अफ गरेर शेयर दिने क्रम रोकियो र एक कित्ताभन्दा कम शेयरको हिसाब नराख्ने चलनले फेरि निरन्तरता पायो ।

डिम्याट खातामा एक कित्ताभन्दा कमको शेयर नजाने भएकोले आरटीएसहरुले प्रोफेसनल कम्प्युटर सिस्टम (पीसीएस) ले तयार पारेको सफ्टवेयर मार्फत एक्सेलको सहयोगमा यस्ता शेयरको तथ्यांक म्यानुअल्ली राख्ने गरेका छन् । जसले यो प्रक्रियालाई नै झन्झटिलो बनाएको छ ।

शेयर लगानीकर्ताहरु भने १ कित्ताभन्दा कम कित्ताको शेयर पनि सहजै डिम्याट खातामा आउनुपर्ने र सहजै खरिद बिक्री गर्न पाउनुपर्ने बताउँछन् । प्रविधिको विकाससँगै फ्रयाक्सन शेयर पनि कारोबार योग्य गराउनुपर्ने लगानीकर्ताको भनाई छ ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल प्राविधिक रुपमा जटिल विषय भएकोले पर्याप्त छलफल गरेर मात्रै लगानीकर्ता र कम्पनीलाई पनि सहज हुने गरी कुनै एउटा विकल्पमा पुग्नुपर्ने बताउँछन् । एक कित्ताभन्दा कम शेयर डिम्याट खातामा पठाउने लागत नै महँगो परेमा यसले कम्पनीलाई समस्या हुन सक्नेतर्फ पनि विचार गर्नुपर्ने उनको भनाई छ । साथै एक कित्ताभन्दा कम शेयर डिम्याट खातामा पठाउने हो भने त्यसअघि नै आउन सक्ने प्राविधिक समस्याको समाधान खोजिनु पर्ने अध्यक्ष ढकाल बताउँछन् ।

शेयरबजार सम्बन्धी जानकार अधिवक्ता ज्योति दाहाल अर्बौँको शेयर डिम्याट खातामै नदेखाउनु ठूलो समस्या रहेको बताउँछन् । सीडीएससीले यस्तो फ्रयाक्सन शेयर पनि डिम्याट खातामा पठाउने व्यवस्था गरिदिनुपर्ने उनको भनाई छ । त्यस्तै दोस्रो बजारमा पनि सोही अनुसार नै फ्रयाक्सन शेयर खरिद, बिक्री गर्न मिल्ने गरी कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा व्यवस्था गरिएमा यो समस्याको हल हुनसक्ने उनको भनाई छ ।

के के छन् प्राविधिक समस्या ?
शेयरलाई लगानीकर्ताको डिम्याट खातामा पठाउने काम सीडीएससीले गर्दै आएको छ । सिडीएससीले एक कित्ताभन्दा कम शेयरलाई पनि डिम्याट खातामा पठाउन सकिने तर त्यसको लागि सुरुमा कानुनी आधार तय गर्नुपर्ने र त्यसपछि छलफल गरेर प्रवाधिक विषय टुङ्गो लगाएर प्रविधि बनाउनुपर्ने बताएको छ ।

सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार फ्रयाक्सन शेयरलाई डिम्याट खातामा पठाउनको लागि पूर्वाधार तयार पार्न सकिने भएपछि कानुनी प्रष्टता हुनु पर्ने बताउँछन् । फ्रयाक्सन शेयरलाई डिम्याट खातामा पठाउनको लागि दशमलवभन्दा पछाडिका कतिवटा अंकलाई आधार मान्ने भन्ने विषयमा प्रष्ट हुनुपर्ने उनको भनाई छ ।

अहिले धेरै लगानीकर्तासँग १० कित्ताभन्दा कम शेयर पनि डिम्याट खातामा छ । यदि कोही लगानीकर्तासँग कुनै एउटा कम्पनीको १ कित्तामात्र शेयर छ र सो कम्पनीले १२ प्रतिशत बोनस शेयर दिएमा लगानीकर्ताले ० १२ कित्ता शेयर पाउँछ । अब त्यसलाई डेसीमलपछिको एक डिजिट मात्र हिसाब गरेर ० दशमलव १ कित्ता शेयर हिसाब गर्ने वा दुई डिजिट नै हिसाब गरेर ० दशमलव १२ कित्ता शेयर नै हिसाब गर्ने भन्ने प्रष्ट पारिनुपर्ने प्रवक्ता न्यौपाने बताउँछन् । यदि सो कम्पनीको शेयर मूल्य ५० हजार रुपैयाँ रहेछ भने लगानीकर्ताले ० दशमलव १ कित्तामात्र हिसाब गर्दा ५ हजार रुपैयाँ हुन्छ । तर, ० दशमलव १२ कित्ता नै हिसाब गर्दा ६ हजार रुपैयाँ हुन जान्छ । यसरी एउटा अंकले १ हजार रुपैयाँ कै अन्तर हुनसक्ने भएकोले कतिवटा अंकलाई आधार मान्ने भन्ने प्रश्न मुख्य भएको सिडीएससीको भनाई छ । त्यस्तै अहिले शेयर कारोबार गर्दा २५ रुपैयाँ डीपी शुल्क लाग्छ । कसैले १ कित्ताभन्दा कमको शेयर बिक्री गर्न खोजेमा त्यस्तो शुल्क लिने कि नलिने, लिएमा कति लिने भन्ने पनि प्रष्ट पारिनु पर्ने उनको भनाई छ । नीतिगत व्यवस्था र प्राविधिक विषयहरु पनि प्रष्ट पारेको खण्डमा फ्रयाक्सन शेयर पनि डिम्याट खातामा पठाउने पूर्वाधार र प्रविधि बनाउन सिडीएससी तयार रहेको प्रवक्ता न्यौपाने बताउँछन् ।

अहिले ‘अडलट’ भनिने १ कित्ता देखि ९ कित्तासम्मको शेयर कारोबार नै सहजरुपमा नभईरहेको अवस्थामा फ्रयाक्सन शेयरको कारोबार दिवासपना जस्तै हुने कतिपय लगानीकर्ता बताउँछन् । सुरुमा एकदुई कित्ता शेयर नै सहज रुपमा बिक्री गर्न सकिने व्यवस्था गरिनुपर्ने र त्यसपछि मात्र फ्रयाक्सन शेयरको कारोबारतर्फ जानुपर्ने उनीहरुको भनाई छ ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे फ्रयाक्सन शेयर खातामा पठाउने र कारोबार गराउने विषयमा पर्याप्त अध्ययन गरेर मात्र कुनै निर्णयमा पुग्नु पर्ने बताउँछन् । यसमा प्राविधिक विषय पनि जोडिएकाले बोर्डले विभिन्न सरोकारवालासँग छलफल गरेर मात्र यसबारे उचित निर्णय लिने उनको भनाई छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

खुद नाफामा ८ वटा विकास बैंक भन्दा लक्ष्मी सनराइज बैंक पछाडी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

आयल निगमले भन्यो ‘ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ’

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर...

स्थिर सरकार हुने भएपछि हिमालय जेट उत्साहित, सिधा उडानमात्र नेपाललाई युरोपसँग जोड्ने

हालै सम्पन्न निर्वाचनको नतिजाले नेपालमा स्थिर सरकार हुने पक्का...

२ वटा राजमार्ग विस्तार हुँदा विस्थापित भएकालाई राहत, ऋण पुनरसंरचना सुविधा पाउने

महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापितले केही...

राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, ४ वटा व्यवस्था फेरिए

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरेको...
spot_img