कुनै समय यस्तो थियो जुन बेला एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्दै छन् रे भन्ने चर्चाले मात्र शेयर बजारमा ठूलै बढोत्तरी हुन्थ्यो । उनी अर्थमन्त्री हुने चर्चाले मात्र शेयर बजार बढ्ने गर्थ्यो । अर्थमन्त्री नै बनेपछि झन् नबढ्ने कुरै भएन ।
विष्णु पौडेल अर्थमन्त्री हुँदा नै शेयर बजार परिसूचक नेप्सेले २०७३ साउनमा १८८१ को उच्च विन्दु चुमेको थियो । त्यसपछि २०७८ भदौ २ गते बजारले ३२ सय (३१९८) को विन्दु चुमेको थियो । यो नै शेयरबजारको अहिलेसम्मको सबैभन्दा उच्चतम बिन्दु हो । त्यस समय कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गर्दै २२ अर्ब रुपैयाँको कारोबार भएको थियो ।
अर्थात् त्यस समय विष्णु पौडेलसँग मिलेको सेयर बजार ‘ट्युनिङ’ मिलेको थियो । अर्थतन्त्रको अवस्थामा कुनै खास सुधार नभएपनि, कुनै नीतिगत सुधार नभएपनि विष्णु पौडेलसँग आम लगानीकर्ताको सेन्टिमेन्ट जोडिएको थियो । यसलाई बजारमा ‘विष्णु बुल’ भन्ने गरिन्थ्यो । जब जब विष्णु पौडेल अर्थमन्त्री बन्दथे, शेयर लगानीकर्ताहरु हरेक पटक शेयरबजारले नयाँ रेकर्ड बनाउने अपेक्षा गर्दथे ।
यद्यपि अहिले भने ‘विष्णु बुल’को प्रभाव क्षयीकरण हुदै गएको देखिन्छ । अहिले पनि विष्णु पौडेल अर्थमन्त्री भए पनि बजारले अघिल्ला रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्न सकेको छैन । केन्द्रीय बैंकले लिएका कतिपय नीतिले पनि विष्णु पौडेल ‘विष्णु बुल’ को ह्याट्रिकबाट चुके जस्तो देखिन्छ’ ।
अब केन्द्रीय बैंक अर्थात् नेपाल राष्ट्र बैंकको नेतृत्वमा अर्थशास्त्री डा. विश्वनाथ पौडेल आएका छन् । उनलाई सुरु देखि नै शेयर लगानीकर्ताले रुचाएका छन् । सत्तारुढ दलहरुबीच उनलाई गभर्नर बनाउने सहमति भएको समाचार बाहिरिएको दिन शेयरबजार ४९.०९ अंकले बढेको थियो । उनलाई गभर्नर नियुक्ति गरिएपछिको पहिलो दिनको शेयर कारोबारको प्रि ओपन सेसन मै नेप्से ३४.७९ अंकले बढेको थियो । यद्यपी अत्याधिक सेलीङ प्रेसरले बजारको त्यो गतिले निरन्तरता पाएन ।
उनले आफ्नो कार्यकालको सुरुवाती केही दिनमै आफू पुँजीबजारप्रति सकारात्मक रहेको संदेश दिइसकेका छन् । उनले कार्यभार सम्हालेको चौथो दिनमै चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरे । त्यसमा उनले शेयर धितोकर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरे । सो घोषणा भएपछिको पहिलो दिन शेयर कारोबारको प्रि ओपन सेसनमै नेप्से ३२.७० अंकले बढ्यो । फेरिपनि अत्यधिक सेलीङ प्रेसरले बजारको त्यो गतिले निरन्तरता पाएन ।
त्यसो त, अब लगानीकर्ताले विश्व पौडेलबाट धेरै नै अपेक्षा गरेको देखिन्छ । यस अघिका गभर्नर महाप्रसाद अधिकारीले लिएका विविध नीतिका कारण आज पनि शेयर लगानीकर्ता माझ उनी धेरै आलोचित छन् । विशेषगरि उनले ल्याएको शेयरधितो कर्जामा ४/१२ को नीति शेयर लगानीकर्ताले रुचाएका थिएनन् । यद्यपी सो नीति अहिले संशोधन भईसके पनि शेयरधितो कर्जाको सीमा पूर्ण रुपमा खुला होस् भन्ने शेयर लगानीकर्ताको चाहना छ । त्यस्तै यस अघिका गभर्नरले बैंक तथा वित्तीय संस्थालाई शेयरबजारमा लगानी गर्न कडाई गरेका थिए । शेयर लगानीकर्ताले यसमा संशोधन चाहेका छन् । त्यस्तै सबै प्रकारका शेयर कर्जाको जोखिमभार १०० प्रतिशत मात्र कायम गर्नु पर्ने र यसलाई परिवर्तन गर्न नहुने नीति लगानीकर्ताले खोजेका थिए । यसलाई गभर्नर पौडेलले सम्बोधन गर्ने घोषणा गरिसकेका छन् ।
अब गभर्नरले ४/१२ भनिएको नीतिलाई पूर्ण रुपमा खारेज गरुन् भन्ने लगानीकर्ताको चाहना छ । त्यस्तै बैंक तथा वित्तीय संस्थालाई शेयरबजारमा लगानी गर्न खुला छोडिदिनु पर्ने व्यवस्था लगानीकर्ताले खोजेका छन् । र लघुवित्तमाथि लाभांश वितरणमा लगाईएको क्याप हटाउनु पर्ने लगानीकर्ताको माग छ ।
हुनत गभर्नर पौडेलले अबको केही महिनामा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ । सोहि कारण अहिले उनले कुनै पनि विषय नचलाउन सक्दथे । तर, आफू आएको ४ कार्यदिनमै तेस्रो समीक्षामार्फत उनले आफू पुँजीबजार प्रति सकारात्मक रहेको संदेश दिए । जसले आगामी दिनमा उनले अन्य नीति पनि परिमार्जन गर्ने सम्भावना बढेको छ । यी ३ विषय संशोधन भएमा शेयरबजारमा ‘विश्व बुल’ आउने चर्चा चल्न थालेको छ ।
लगानीकर्ताहरुले सामाजिक संजालमा यसबारे चर्चा गर्न थालेका छन् । मौद्रिक नीतिको तेस्रो समीक्षापछि चर्चित लगानीकर्ता सुभाषचन्द्र भट्टराईले आइतबार साँझ समाजिक संजालमा ‘राष्ट्र बैंकले शेयर किन्न नभन्ने तर संकेत चै गर्ने’ भनेर टिप्पणी गरेका छन् । त्यस्तै अर्का लगानीकर्ता शिवचन्द्रले पनि ‘मर्निंङ सोज द डे’ भन्दै पुँजीबजारको लागि आगामी दिन सुनौलो हुने संकेत गरेका छन् ।
पुँजीबजारबारे के छन् पौडेलको धारणा ?
गभर्नर पौडेल तिनै व्यक्ति हुन् जसले गत वर्ष मात्र एउटा सानो कोशिसले धितोपत्र बजारमार्फत वार्षिक एक खर्ब रुपैयाँको राजश्व उठाउन सकिने अभिव्यक्ति दिएका थिए । उनी कडा नियममा नभई कडा सुपरीवेक्षणमा जोड दिने व्यक्ति हुन् । गभर्नर नियुक्त भईसकेपछि उनले दिएका अभिव्यक्तिले पनि उनी पुँजीबजारप्रति सकारात्मक रहेको देखिन्छ । उनले पुँजीबजारमा खर्बौ लगानी रहेकोले यसलाई हल्का रुपमा नलिने र बजारको विकासमा लाग्ने बताएका छन् ।
उनले गभर्नर नियुक्त भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओसँग भेटघाट गरिसकेका छन् । धितोपत्र बोर्डका अध्यक्षसँगको भेटघाटमा पुँजी बजारलाई चलायमान र नयाँ उचाइमा पुर्याउनका लागि लगानीकर्ताहरूबाट समयसमयमा उठेका मागहरूलाई उचित सम्बोधन गर्ने सम्बन्धमा समेत छलफल भएको थियो ।
नेप्सेका सीइओसँगको भेटमा पनि गभर्नर पौडेलले नेप्सेको पुनः संरचनाको विषयमा जिज्ञासा राखेका थिए । गभर्नर पौडेलले नेप्सेको पुनः संरचना गरेर अगाडी बढ्नुपर्ने बताएका थिए । त्यस्तै गभर्नर पौडेलले पुँजीबजारको इन्टिग्रिटी कायम राखेर अघि बढ्नुपर्ने उल्लेख गरेका थिए । साथै पुँजीबजारको विकास र विस्तारको लागि दुई संस्थाबीच फेरि छलफल गरेर अघि बढ्नेबारे कुराकानी भएको बताईएको छ ।
गभर्नर पौडेलका पहिलेका अभिव्यक्ति, गभर्नर नियुक्ति भएपछिका अभिव्यक्ति, त्यसपछि भएका भेटघाट र छलफल, तथा उनले ल्याएको मौद्रिक नीतिको समीक्षाले उनी पुँजीबजारप्रति सकारात्मक रहेको प्रष्ट संदेश दिएको छ । यो क्रमलाई उनले निरन्तरता दिएमा लगानीकर्ताले भने जस्तै शेयरबजारमा ‘विश्व बुल’ आउने सम्भावना अधिक नै देखिन्छ ।
अर्थमन्त्री पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट ल्याउँदैछन् । यो बजेटमार्फत पुँजीगत लाभकर नै शेयर लगानीकर्ताको लागि अन्तिम कर हो भन्ने व्यवस्था प्रष्ट रुपमा आउनुपर्ने लगानीकर्ताको माग छ । बजेटले हालको पुँजीगत लाभकर नबढाउने र पुँजीगत लाभकर नै अन्तिम कर हो भनी आर्थिक ऐनमै प्रष्टसँग आएमा बजारले छिट्टै नयाँ उचाई कायम गर्न सक्ने सम्भावना पनि छ ।
यद्यपि बजारमा ‘विश्व बुल’ आउँछ वा आउदैन त्यो भने समयले नै देखाउने छ ।












