गत साता मुक्तिनाथ क्यापिटलले सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको थियो भने अहिले गरिमा क्यापिटलले म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरिरहेको छ । अहिले गरिमा क्यापिटलले गरिमा समृद्धि योजना नामको सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरिरहेको हो। यो १ अर्ब आकारको १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड योजना हो ।
यसमा मेरोशेयर मार्फत आवेदन दिन सकिन्छ । तर केही विषयमा ध्यान दिईएन भने म्युचुअल फण्डमा गरेको लगानी फस्न सक्छ ।
पहिले, म्युचुअल फण्ड भनेको के हो बुझौ । म्युचुअल फण्ड भनेको धेरै जनाको थोरै थोरै पैसा एक ठाउँमा ल्याएर निश्चित लगानीका उपकरणमा लगानी गर्नु हो। धेरै व्यक्ति र संस्थाको लगानी हुने भएकोले यसलाई सामुहिक लगानी कोष योजना भनिन्छ । रकम हाल्नेलाई इकाईधनी भनिन्छ, किन भने उनीहरुले फण्डको निश्चित इकाई खरिद गरेका हुन्छन् । यसरी एकत्रित पारिएको रकम शेयरबजार, मुद्दती खाता, ऋणपत्र, लगायतमा लगानी गरिन्छ। यसरी गरिएको लगानीबाट आएको लाभलाई नगद लाभांशको रुपमा इकाईधनीलाई वितरण गरिन्छ ।
म्युचुअल फण्ड खुलामुखी र बन्दमुखी गरि दुई प्रकारका हुन्छन् र नेपालमा दुवै खालका म्युचुअल फण्ड संचालनमा हुन्छन् । म्युचुअल फण्डबारे धेरै लगानीकर्तालाई जानकारी हुदैन र उनीहरु फस्न सक्छन् । म्युचुअल फण्डबारे निम्न विषयको जानकारी भएन भने तपाइको लगानी फस्न सक्छ ।
१. यो अरु आईपीओ जस्तो होइन, र अरु आईपीओको जस्तो मूल्य बढ्दैन
म्युचुअल फण्डको प्रचार गर्दा म्युचुअल फण्डका व्यवस्थापकले आईपीओ खुलेको भनेर प्रचार गर्छन्। गरिमा क्यापिटलले पनि सामाजिक संजाल, एफ एम रेडियोबाट आईपीओ खुलेको भनेर प्रचार गरेको छ । तर म्युचुअल फण्ड भनेको बजारमा आउने अन्य कम्पनीको जस्तो आईपीओ नभई एउटा फण्ड मात्र हो । नेपालमा सामान्यतया आईपीओ १०० रुपैयाँको अंकित मूल्यमा निष्काशन हुन्छ । र दोस्रो बजारमा आएर कारोबार हुँदा सो मूल्य बढेर धेरै गुणासम्म पुग्न सक्छ। सुरुवाती कारोबारको लागि नै कम्पनीको शेयरको प्रति शेयर नेट वर्थको ३ गुणासम्मको मूल्य तोकिन्छ । म्युचुअल फण्डको इकाई भने प्रति इकाई १० रुपैयाँमा निष्काशन हुन्छ । यो पनि दोस्रो बजारमा कारोबार भएपनि यसको मूल्य धेरै माथि जादैन । पुस ४ गतेसम्मको तथ्यांक अनुसार अहिले भएका मध्ये सबैभन्दा धेरै मूल्य पुगेको म्युचुअल फण्ड भनेको सानिमा इक्विटी फण्डको हो । जसको मूल्य ११ रुपैयाँ २० पैसा छ । १० रुपैयामा इकाई निष्काशन गरेको सो फण्डको मूल्य बढेर ११ रुपैयाँ २० पैसा पुगेको हो ।
म्युचुअल फण्डको मूल्य बढ्ने भन्दा धेरै घट्ने हुन्छ । हाल संचालनमा रहेका ३५ म्युचुअल फण्ड मध्ये २५ वटाको इकाई मूल्य अर्थात् शेयर बजारमा कारोबार हुने मूल्य १० रुपैयाँ भन्दा कम छ। मूल्य घटेर ८ रुपैयाँ ५० पैसासम्म पुगेको छ । यो भनेको १०० मा किनेको आईपीओको मूल्य १०० रुपैयाँभन्दा कममा पुगेको जस्तै हो ।
२. दिदैनन् भने जति प्रतिफल
सामुहिक लगानी कोषका व्यवस्थापकहरुले सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने बेलामा उच्च प्रतिफलको लोभ देखाउने गरेका छन्। आफ्नो इकाई पूर्ण रुपमा बिक्री गराउनको लागि योजना व्यवस्थापकले उच्च दरको लाभांश दिने दाबी गर्छन्। म्युचुअल फण्डका योजना व्यवस्थापकले योजनाको विवरणपत्रमा हरेक वर्ष दोहोरो अंकको प्रतिफल वितरण गर्ने उल्लेख गरे गर्छन्। तर भने जति लाभांश भने दिदैनन् । यहाँ पछिल्ला केहि म्युचुअल फण्ड दिने भनेर प्रक्षेपण गरेको लाभांश र उनीहरुले दिएको लाभांश दर केलाएका छौ । जसमा अधिकांशले भने जति लाभांश दिदैनन् । फण्डहरुले लगानी गर्ने भनेको बजार मै हो । बजार घटबढ भईरहन्छ । बजार घटेको बेला फण्डले पाउने प्रतिफल पनि घट्ने भएकोले उनीहरु लाभांश दिन सक्दनन् । गत आर्थिक वर्षमा एक दर्जन बढी म्युचुअल फण्डले लाभांश दिन सकेका थिएनन् ।

३. पैसा फिर्ता त् आउछ, तर कति ?
बन्दमुखी म्युचुअल फण्डको अवधि सामान्यतया ५ वर्ष देखि १२ वर्षसम्मको तोकिएको हुन्छ । तोकिएको अवधि सकिएपछि फण्डलाई परिपक्व भएको भनिन्छ र फण्ड परिपक्व हुँदा कायम फण्डको प्रति इकाई खुद सम्पति मूल्य (न्याभ) को आधारमा इकाईधनीलाई पैसा फिर्ता गरिन्छ। नेपालमा हालसम्म ११ वटा म्युचुअल फण्डको अवधि सकिएर परिपक्व भएका छन् । र पैसा फिर्ता पाउँदा लगानीकर्तालाई घाटा पनि हुन सक्छ । उदाहरणको लागि एनआईबिएल प्रगति फण्डले प्रति इकाई ९ रुपैयाँ ५८ पैसा मात्र फिर्ता दिएको थियो। जबकी लगानीकर्ताले १० रुपैयाँ प्रति इकाईमा सो फण्डको इकाई खरिद गरेका थिए। हालसम्म परिपक्व भएर पैसा फिर्ता दिएका फण्डले औसतमा प्रति इकाई १२.४४ रुपैयाँ मात्र फिर्ता गरेका छन्। १० रुपैयाँको इकाईमा खरिद गरेको पैसा १२.४४ रुपैयाँको दरले फिर्ता आउँदा त्यो धेरै राम्रो प्रतिफल नहुन सक्छ । बीचमा लाभांश भने दिएको हुन सक्छन् । तर म्युचुअल फण्डले दिने लाभांश दर पनि उच्च भने छैन ।
४. एक अर्काले उठाईदिन्छन् फण्डको इकाई
माथि उल्लेख गरिएका कारणले म्युचुअल फण्डमा आम सर्वसाधारणको चासो हुदैन । यसो हुँदा फण्ड व्यवस्थापकलाई फण्ड नबिक्ने हो कि भन्ने चिन्ता हुन्छ । यस्तो अवस्थामा फण्ड व्यवस्थापक कम्पनीका उच्च व्यवस्थापकहरु फण्ड खरिद गरिदिन बैंक तथा वित्तीय संस्था, र बीमा कम्पनीहरुमा आग्रह गर्दै जान्छन् । यिनीहरुलाई बजारमा संस्थागत लगानीकर्ताको रुपमा चिनिन्छ । यदि संस्थागत लगानीकर्ताले म्युचुअल फण्डको इकाई खरिद नगरिदिने हो भने म्युचुअल फण्डको इकाई बिक्नै गाह्रो हुन्छ । यतिसम्म कि संस्थागत लगानीकर्ताहरु बीच एक अर्काको फण्ड किनिदिने मौखिक सहमति नै हुन्छ। उदाहरणको लागि अहिले गरिमा क्यापिटलले फण्ड निष्काशन गरिरहेको छ। माछापुच्छ्रे क्यापिटल, रिलायबल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल फण्ड निष्काशनको अनुमति कुरिरहेका छन् । यस्तो अवस्थामा माछापुच्छ्रे, रिलायबल, र ग्लोबलले अहिले गरिमाको फण्ड किन्ने र पछि उनीहरुको फण्ड निष्काशन हुँदा गरिमाले फण्ड किन्ने सहमति हुन्छ ।
५. सहज छैन म्युचुअल फण्डको इकाई बिक्री
बन्दमुखी योजनाको म्युचुअल फण्डको इकाई नेप्से मार्फत नै खरिद बिक्री गर्न सकिन्छ । तर अन्य कम्पनीको जसरी शेयर खरिद बिक्री गर्न भने सहज छैन। किनभने भनेको बेला खरिदकर्ता पाउन कठिन हुन्छ। अन्य कम्पनीको शेयरमा जस्तो आकर्षण म्युचुअल फण्डमा हुदैन।
६. बजार मै पाइन्छ लाभांश दिइरहेका १० रुपैयाँ भन्दा कमका फण्ड
१० रुपैयाँमा निष्काशन भएको नयाँ फण्ड खरिद गर्नु भन्दा १० रुपैयाँ भन्दा कम बजार मूल्य भएका फण्डहरु खरिद गर्दा सस्तो पर्न जान्छ । बजारमा १० रुपैयाँ भन्दा कममा रहेका फण्ड मध्ये केहीले नियमित लाभांश समेत दिईरहेकोले त्यसको लाभ समेत लिन सकिन्छ । आज पुस ७ गतेको कारोबारपछि २७ वटा म्युचुअल फण्डको इकाई १० रुपैयाँ भन्दा कम छ ।
यी हुन् १० रुपैयाँ भन्दा कम मूल्यका म्युचुअल फण्ड










