सोलु हाइड्रोपावर लिमिटेडले पौष २९ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १० अर्बको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरको प्रि अलटमेन्ट भइसकेको छ भने १० लाख कित्ता साधारण शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेर बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।
यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग तथा हिमालयन क्यापिटल रहेका छन् ।
कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ ।









