अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ पुगेका छन् । बिहिबार जिल्ला समन्वय समितिको समीक्षा गोष्ठी उद्घाटनको निम्तोमा बुधबार साँझ दुई दिने भ्रमणका लागि उनी तनहुँ पुगेका हुन् ।
त्यस क्रममा अर्थमन्त्री वाग्लेले दर्जनभन्दा बढी भेटघाट र अन्तर्क्रियामा सहभागी भएका छन्। जनताका मुद्दा सुन्नुभयो र समाधानका उपायमा आफ्नो साथ र सहयोग भरपुर हुने वाचा गरे।
बुधबार साँझ आँबुखैरेनीस्थित उद्योग वाणिज्य संघको हलबाट सुरु भएको अन्तर्क्रिया बन्दीपुर, रिस्ती, कलेस्ती, दुम्सी, दमौली, बेलबास, मुलपानी, छिर्कन र कमलाबारीमा पुगेर सकियो। “पारिपट्टि गोरखामा जन्मिएँ। तनहुँसँग तीन वर्षअघि कर्म गाँसियो र अहिले म तनहुँवासी भएँ। म यो माया र गुन कहिल्यै भुल्ने छैन। तपाईहरू सबैलाई मेरो अपार माया र साथ छ, अहिले त घर किनेर यहींको बासिन्दा भएँ,” अर्थमन्त्री डा. वाग्लेले भने ।
आँबुखैरेनीका जनताले आँबुखैरेनी–गोरखा सडक विस्तार र त्यसले बस्तीमा पुर्याउने क्षतिबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराए । सडकको मापदण्डबारे जनतालाई हानि नहुने गरी निर्णय गरिदिन उनीहरुको आग्रह थियो।
गोरखकाली टायर कसरी चल्छ? मर्स्याङ्दी नदीको कटान रोक्न थप बजेट चाहिएको लगायतका समस्याहरू पनि सर्वसाधारणले अर्थमन्त्रीसमक्ष राखे । उनीहरूका जिज्ञासामा अर्थमन्त्री डा. वाग्लेले जनतालाई हानि नहुने गरी सडक विस्तारका सम्बन्धमा काम गर्न पहल गर्ने बताए। गोरखकाली रबर उद्योगलाई पुनर्जन्म दिन सरकारले अध्यायन गरिरहेको उनको भनाइ थियो। आँबुखैरेनीको विकासका लागि आफूले सकेको पहल गर्ने उनले दोहोर्याए ।
रिस्ती, कलेस्ती र दुम्सीका जनताले सफा र स्वच्छ खानेपानी, राम्रो सडक र स्वास्थ्य पूर्वाधारमा बजेट हालिदिन अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
जनताका जिज्ञासामा अर्थमन्त्री डा. वाग्लेले आफूले सकेको पहल गर्ने बताए । उनले सीमित स्रोत र साधनको देशव्यापी सन्तुलित वितरण गर्दा तनहुँलाई अन्याय नहुने स्पष्ट पारे।
बेलबास बस्तीको मुआब्जा दाबी र भानु–१३, चन्द्रावती सडकजस्ता जटिल तथा तत्काल समाधान गर्नुपर्ने कामहरू आफ्नो प्राथमिकतामा रहेको उनले बताए । दक्षिणी तनहुँ विकास पूर्वाधारको पहुँचबाट निकै टाढा रहेको विषयलाई आफूले गहिराइमा बुझेको भन्दै उनले त्यसलाई प्राथमिकतामा राखेको जनतालाई स्पष्ट पारे।
आफ्नो जिल्लाले अर्थमन्त्री पाएको बेला आफ्नो गाउँठाउँमा धेरै विकास होस् भन्ने जनचाहना स्वाभाविक भए पनि अर्थमन्त्रीले देशैभर समान विकास र बजेट वितरण गर्नुपर्ने दायित्व र कर्तव्य बुझिदिन उनले मतदातालाई आग्रह गरे।
पालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीद्वारा आयोजित कार्यक्रममा उनले अनुशासित र व्यवस्थित रूपमा बजेट कार्यान्वयनतर्फ ध्यान दिन पनि आग्रह गरे।
अर्थमन्त्रीका रूपमा आफ्नो गाउँघरमा पहिलो पटक डा. स्वर्णिम वाग्लेलाई भेट गरेका मतदाताले देश विकासलाई प्राथमिकतामा राख्न र त्यसमा तनहुँलाई नछुटाउन ध्यानाकर्षण गराएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले २०८० वैशाखमा भएको उपनिर्वाचनमा पहिलो पटक तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०८२ फागुनमा भएको आमनिर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन्। उनी गत चैत १३ गतेदेखि बालेन्द्र शाह नेतृत्वको सरकारमा दोस्रो वरियतासहित अर्थमन्त्रीको जिम्मेवारीमा छन्।









