रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान शेयर बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले पुस ७ गतेदेखि आज पुस ११ गतेसम्मको अवधि तोकेर आम सर्वसाधारणलाई ९ लाख २४ हजार ७ सय ६८ कित्ता शेयर निष्काशन गरेको थियो । बुक विल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ भएकोले यस आईपीओमा आवेदन दिंदा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । खुलेको ४० मिनेटमै कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको थियो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ५ लाख ३२ हजार ८ सय ८८ जनाको आवेदन परेको थियो । जस मध्ये ५ लाख १९ हजार ४६ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाडफाँड भएको छ। जसमा १८ हजार ४ सय ९५ जनाले मात्र शेयर पाएका छन् । शेयर पाएका मध्ये १८ जनाले ५१ कित्ता शेयर पाएका छन् भने अरुले ५० कित्ता शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आइपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
कम्पनीले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गरेको हो। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
यो कम्पनी धागो उत्पादन गर्ने नेपाल कै ठूलो उद्योग हो । कम्पनीले उत्पादन गर्ने ७० प्रतिशत धागो विदेशमा निर्यात हुँदै आएको छ ।









