भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा बाँडफाँड भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज पुस १७ गते शेयर बाँडफाँड गरेको हो।
कम्पनीले पुस ३ देखि पुस ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा कुल ६९ हजार ४ सय ६५ जनाले आवेदन दिएका थिए। जस मध्ये ६९ हजार ४ सय ५७ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १० हजार जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् । अन्य संचालकमा अनु खनाल, विवेक रावल, डा. हिमाल भट्टराई तथा स्वतन्त्र संचालकमा ढुंडीराज ज्ञवाली छन् ।









