आनदेखि देशभरका म्यानपावर कम्पनीहरु बन्द हुने भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दिएको अल्टिमेटम सकिएसँगै म्यानपावर कम्पनीहरु बन्द हुने भएका हुन् ।
यसअघि सरकारलाई साउन ३१ गते सम्मको अल्टिमेटम दिँदै संघले उक्त अवधिसम्म आफूहरुका माग सम्बोधन नभए वैदेशिक रोजगारीमा श्रमिक पठाउन रोक्ने चेतावनी दिएको थियो । तर, संघले दिएको समयसीमाभित्र सरकारसँग सहमति नभएपछि भदौ १ गतेबाट म्यानपावर कम्पनीहरु बन्द गर्न लागिएको हो ।
संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार सेवा शुल्क निर्धारण हुनुपर्ने, म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता हुनुपर्ने लगायत आफूहरुका १५ बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
संघको अल्टिमेटम सकिएसँगै युवा, श्रम तथा रोजगार मन्त्रालयले आज व्यवसायीहरुलाई छलफलमा बोलाएको छ । यसअघि गत शुक्रबार छलफल भएपनि सहमति हुन सकेको थिएन ।









