म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा नपठाउने भएका छन् । सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग राख्दै सरकारलाई अल्टिमेटम दिएको वैदेशिक रोजगार व्यवसायी संघले सोमबारबाट श्रमिक पठाउन रोकिने जनाएको छ ।
आफूहरुले दिएको समयसीमा भित्र सहमति हुन नसकेपछि कम्पनीले श्रमिक पठाउन रोक्ने भएका हुन् । संघका अनुसार सोमबारदेखि देशभरिका म्यानपावर कम्पनीका कार्यालय पनि बन्द हुनेछन् ।
संघका अध्यक्ष डिकबहादुर खत्रीले साउन ७ गते आफूहरुले विशेष भेलामार्फत अघि सारेका १५ बुँदे मागका सम्बन्धमा अहिलेसम्म सरकारले कुनैपनि कुरामा ठोस सहमति नजनाएपछि कार्यालय बन्द गरेर श्रमिक पठाउन रोक्नु परेको बताएका छन् । शुक्रबार सामान्य छलफल भएपनि सहमतिको कुनै गुन्जायस नपाएपछि आफूहरु श्रमिक पठाउने काम नै रोक्न बाध्य हुनु परेको उनको भनाइ छ ।
संघले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई गरेको कारबाही फिर्ता हुनुपर्ने लगायतका १५ बुँदे माग राखेको छ ।
श्रम मन्त्रालयले भने सोमबारसम्म सहमति हुने विश्वास व्यक्त गरेको छ । सोमबार बिहान ११ बजे छलफल हुँदैछ ।









