भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले पुस ३ गतेदेखि आयोजना प्रभावित लमजुङका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो।
कम्पनीले स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये ६ लाख कित्ता अति प्रभावित लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाका वडा नम्बर ४ का स्थानीयलाई छुट्याईएको छ । बाँकि ४ लाख कित्ता क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर १,२,३,५,६,७,८ र ९ का स्थानीयलाई छुट्याईएको छ।
यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले आज पुस १७ गतेसम्म मात्र यसमा आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् । अन्य संचालकमा अनु खनाल, विवेक रावल, डा. हिमाल भट्टराई तथा स्वतन्त्र संचालकमा ढुंडीराज ज्ञवाली छन् ।









