रिलाइन्स स्पिनिङ मिल्सले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ खुलेको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले आज (सोमबार) देखि आम सर्वसाधारणको लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको हो।
कम्पनीका अनुसार आवेदन निष्काशन भएको ४० मिनेट (१०ः४०) मै २१ हजार ९५३ आवेदकले ११ लाख ५६ हजार ४८० कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ । प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ । सर्वसाधारण समूहमा निष्काशन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम– सर्वसाधारणका लागि खुलेको हो । वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परी शेयर बाँडफाँट भइसकेको छ ।
निष्काशितमध्ये सबैभन्दा ठूलो हिस्साको आईपीओको लागि आवेदन दिने अवधि पुस ७ देखि ११ सम्म तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ सम्म लम्बिने भए पनि ओभर सब्सक्राइभ भएपछि लम्बिने संभावना नरहेको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
रिलायन्स स्पिनिङ मिल्स नेपालको ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ ।









