माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने सहितका प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले वैशाख २० गते साधारणसभा बोलाएको हो।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गर्ने, आईपीओ निष्काशन गर्ने, संचालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, यी कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले यस अघि नै आईपीओ निष्काशनको लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ। कम्पनीले कुल १२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
वि.सं. २०६५ सालमा स्थापना भएको माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेलले हाल ब्लेन्डेड मदिरा, अन्नबाट उत्पादित इ.एन.ए. स्पिरिट, डिस्टिलर्स वेट ग्रेन सोल्युबल (DWGS BiProduct) उत्पादन गर्दै आइरहेको छ । कम्पनीको कर्पोरेट कार्यालय कमलादी, काठमाडौंमा रहेको छ भने कारखाना टिकुलीगढ तिलोत्तमा – १४, रुपन्देहीमा रहेको छ ।
८ विघा क्षेत्रफलमा फैलिएको यस कम्पनीको कारखानाको स्पिरिट उत्पादन क्षमता प्रतिदिन १० किलोलीटर र बोटल बन्द गर्ने क्षमता प्रतिदिन ३,००० केस रहेको छ । कम्पनीले हाल 7OUP र 50UP अन्तर्गतका आफ्नै ब्रान्डहरु उत्पादन तथा बजारमा बिक्री गरिरहेको छ । कम्पनीले शिघ्र प्रिमियम 25UP, 30UP र 40UP अन्तर्गतका मदिरा ब्रान्डहरु बजारमा ल्याउने योजना रहेको छ ।
हाल कम्पनीले Wild Fire , 6 to 9 लगायतका ब्राण्डको मदिरा बिक्री गरिरहेको छ ।












