झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा कायम राखेको छ । पूर्वी नेपालको सबैभन्दा लक्जरी र प्रीमियम होटलका रुपमा मेची क्राउनले क्यासिनो सहितको सेवा दिइरहे पनि अब भने उसको प्रतिस्पर्धी थपिने निश्चित भएको छ ।
मेची क्राउनको प्रतिस्पर्धीका रुपमा झापाको धुलाबारीस्थित होटल इस्टर्न नेपाल लिमिटेडले ‘होलिडे इन एक्सप्रेस एण्ड स्वीट्स’लाई नेपाल भित्र्याउँदै छ । इन्टरकन्टिनेन्टल होटल ग्रुपको लक्जरी ब्राण्ड ‘होलिडे इन एक्सप्रेस एण्ड स्वीट्स’ले निकट भविष्यमै झापाबाट सेवा आरम्भ गर्दैछ ।
कस्तो होला प्रतिस्पर्धा ?
मेची क्राउन कोशी प्रदेशकै पहिलो पाँचतारे होटल हो । ८ बिघा क्षेत्रफलमा फैलिएको यो होटलमा हाल २०५ वटा कोठा छन् । सञ्चालनमा आउन लागेको होटल इस्टर्न नेपाल (होलिडे इन एक्सप्रेस एण्ड स्वीट्स) मा भने सुरुमा ९८ कोठाहरु हुनेछन् ।
उस्तै सेवा, नजिकको दूरी र पर्यटक (सेवाग्राही)को आगमन पनि उस्तै उस्तै हुने भएका कारण यी दुइ होटलबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । भारतीय पर्यटकहरुको आगमन बढिरहेका कारण दुइ स्तरीय होटल नजिकको दूरीमा हुँदा उनीहरुले ‘अप्सन’ पाउने अवस्था पनि बन्न सक्ने देखिएको छ ।
भारतीय पर्यटक तथा बागडोग्रा विमानस्थल हुँदै आउने व्यवसायिक यात्रु नै दुबै होटलका अथिति हुनेछन् । सीमापार पर्यटन अहिले नै पूर्वी नेपालका लागि महत्वपूर्ण बजार बनिरहेका कारण भविष्यमा यो अझ विस्तार हुने अपेक्षा गरिएको छ ।
साथै, मेची क्राउनले त्यस क्षेत्रमा आफ्नो बलियो पहिचान बनाइसके पनि होटल इस्टर्न नेपालले अन्तर्राष्ट्रिय ब्राण्ड भित्र्याउने भएकाले उसले अन्तर्राष्ट्रिय बुकिङ प्रणाली र विश्वव्यापी ग्राहक नेटवर्कको फाइदा लिन सक्ने होटल क्षेत्रमा लामो अनुभव भएका व्यवसायीहरुको बुझाई छ ।
यस्तै, सुरुका वर्षमा होटल इस्टर्न नेपालले आफ्नो बजार हिस्सा बढाउन केही आकर्षक प्याकेज ल्याएर प्रतिस्पर्धी मूल्यमा कोठा बिक्री गर्न सक्ने भएकाले त्यसको प्रभाव मेची क्राउनमा पनि पर्ने अनुमान गरिएको छ । जसका कारण मेची क्राउनले पनि थप प्याकेज ल्याउनुपर्ने र कोठाको मूल्य घटाउनुपर्ने समेत हुन सक्ने देखिएको छ ।
हामीलाई खासै प्रभाव पर्दैनः बलराम सापकोटा
मेची क्राउनका सञ्चालक बलराम सापकोटा भने स्थापित भइसकेका कारण नयाँ होटलहरु आउँदैमा मेची क्राउनलाई खासै प्रभाव नपर्ने बताउँछन् । आफूहरुको ऋण समेत घट्दै गएकाले सेवालाई थप सस्तो बनाउन सक्ने विकल्प बाँकी नै रहेको उनको भनाइ छ ।
‘हाम्रो ऋण सकिन लागिसक्यो, अब हामीले कोठासहित अरु सर्भिसको मूल्य थप सस्तो बनाउन सक्ने ठाउँ पनि बाँकी छ’ उनले भने, ‘यसकारण हामीलाई खासै प्रभाव पर्दैन ।’ तर, सेवाको मूल्यमा नभई गुणस्तरमा प्रतिस्पर्धा हुनु स्वभाविक रहेको उनको भनाइ छ ।
साथै, नयाँ नयाँ होटलहरु आउँदा पर्यटन क्षेत्रका लागि थप योगदान पुग्ने भन्दै सापकोटाले झापामा बन्दै गरेको होटल इस्टर्न नेपालले पनि मुलुकको पर्यटन क्षेत्रका लागि राम्रो गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।









