नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारले यसअघि अध्यादेशमार्फत ऐन संशोधन गरेर र आगामी आर्थिक वर्षको बजेटमार्फत होटललाई उद्योगको मान्यता दिने भनेपछि प्राधिकरणले होटललाई औद्योगिक वर्गमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो ।
प्राधिकरणले यसका लागि विद्युत् नियमन आयोगलाई पत्राचार गरेको छ । प्राधिकरणले यहीँ असार मसान्तदेखि नै होटललाई नयाँ विद्युत महशुल दर (उद्योगसरहन) अनुसार विलिङ गर्नुपर्ने भन्दै नियमन आयोगलाई पत्राचार गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यका अनुसार हालसम्म होटल ग्राहकहरु कमर्सियलमा छैनन् । अब भने बजेटले घोषणा गरे बमोजिम उक्त वर्गमा राख्नका लागि प्राधिकरणले आयोगलाई पत्राचार गरेको उनको भनाइ छ । आयोगले औद्योगिक वर्गमा राखिदिएपछि प्राधिकरणले होटललाई उद्योगसरह महशुल तोकेर बिलिङ गर्नेछ ।
अब होटलले कति महशुल बुझाउनुपर्छ ?
अहिले होटलले एक युनिटको १२ रुपैयाँ महशुल बुझाइरहेका छन् । उद्योग सरहको वर्गमा रुपान्तरण भएपछि यसमा ४ रुपैयाँ छुट हुनेछ ।
उद्योगले विद्युत महशुलमा सहुलियत पाउँदै आएका छन् । यस आधारमा अब होटलले पनि ८ रुपैयाँ प्रतियुनिटमा बिजुली पाउने छन् ।
होटल संघ नेपाल (हान), नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई समिति लगायतले होटललाई उद्योग सरहको मान्यता दिइनुपर्ने बताउँदै आएका थिए । महासंघको पर्यटन समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले होटललाई उद्योगको मान्यता प्रदान गरेर त्यस अनुसारका सहुलियत प्रदान गर्दै जाँदा मुलुकको पर्यटन क्षेत्र अझ फस्टाउने बताएका छन् । उनले यसका लागि सरकारलाई धन्यवाद पनि दिएका छन् ।