नेपाल पर्यटन बोर्डले विभिन्न निकायसँग मिलेर विदेशका विभिन्न शहरमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि एक्सपो तथा ट्राभल मार्ट आयोजना गर्दा सेक्युरिटी र मेडिकल पद्धतिबारे प्रचार गर्दैन भन्ने गुनासो सुनिन थालेको छ । केवल गन्तव्यको मात्रै प्रचार गरिने तर, सम्बन्धित गन्तव्यमा आएका पर्यटकहरु बिरामी परेमा विश्वस्तरीय उपचार पनि हुन्छ भन्ने सन्देश प्रवाह हुन नसकेको हस्पिटलहरुको गुनासो छ ।
नेपालको ठूलो मध्येको एक हस्पिटलका बजार निर्देशकका अनुसार पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसियशन (पाटा)को नेपाल च्याप्टर जस्ता यस क्षेत्रका संघ संस्थाले विभिन्न मुलुकमा गर्ने ट्राभल फेयर तथा ट्राभल मार्टमा स्वास्थ्य उपचारका कुरा समावेश गर्दैनन् ।
‘केवल गन्तव्यको मात्रै प्रचार गरेर हुँदैन, त्यसमा स्वास्थ्य, सुरक्षा र उद्दारका कुरा पनि समावेश गराउनुपर्छ’ ति अधिकारी भन्छन्, ‘तर, पर्यटन बोर्डले आजसम्म विदेशमा गएर गरेका एक्स्पो, मार्ट तथा ट्राभल फेयरहरुमा स्वास्थ्य उपचारका कुरा गरेको थाहा छैन ।’
यस्तै, काठमाडौँको केन्द्रमै रहेको एक ठूलो र स्तरीय निजी अस्पतालका सञ्चालक पनि पर्यटकलाई नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध हुन्छ भन्ने सन्देश प्रवाह हुन नसकेको बताउँछन् । यो काम पर्यटन बोर्ड जस्ता निकायले गर्नुपर्ने भएपनि उनीहरु केवल सगरमाथाको तस्बिर बोकेर मात्रै त्यस्ता मार्ट तथा फेयरमा सहभागी हुने गरेको भन्दै ति सञ्चालकले गुनासो पनि पोखेका छन् ।
‘सगरमाथा क्षेत्रको पदयात्रामा आउनुस् भनेर मात्रै हुँदैन, त्यहाँ जाँदा बिरामी भए तत्काल हवाई उद्दार हुन्छ र तुरुन्त सुविधा सम्पन्न अस्पतालमा ल्याएर अन्तर्राष्ट्रिय स्तरको उपचार सेवा उपलब्ध गराउँछौँ भनेर पनि विश्वास दिलाउनुपर्छ’ ति सञ्चालकले भने ।
त्यसो त, ह्याम्स, नर्भिक, ग्राण्डी, मेडिसिटी जस्ता ठूला अस्पतालले अहिले पनि उद्दार गरेर ल्याइने र जटिल उपचार गर्नुपर्ने पर्यटकको उपचार गरिरहेका छन् । तर, विदेशी बजारमा पर्यटन प्रवद्र्धनका क्रममा यसरी हुने उपचारको कुनै प्रचार प्रसार नहुने यी अस्पतालहरुको गुनासो छ ।
‘पर्यटकको उद्दार गरेर ल्याएपछि सुरुमा क्लिनिकल उपचार गर्छन्, कुनै कुनै बिरामीको सिटी स्क्यान गर्नुपर्ने भयो भने, एमआरआई गर्नुपर्ने भयो भने मात्रै बल्ल ठूला अस्पतालमा ल्याइन्छ’ एक हस्पिटल सञ्चालक भन्छन्, ‘हामीले यस्तो उपचार पद्धतिलाई माउण्टेन मेडिसिनका रुपमा प्रचार गरौँ भनेर चाहिरहेका छौँ । तर, पर्यटन बोर्ड जस्ता संस्थाले विदेशमा मार्ट तथा एक्स्पोमा जाँदा हामीलाई सहभागी गराउँदैनन् ।’
हस्पिटललाई सहभागी गराउन सकिन्छः पाटा नेपाल
प्यासिफिक एसिया ट्राभल एसोसियशन (पाटा) नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडालका अनुसार कुन विषयमा छलफल गर्ने भन्ने कुरा ट्राभल मार्ट तथा फेयरमा हुने ‘सेसन’मा भर पर्छ । उनका अनुसार कुनै सेसन ‘बी टू बी’ छलफलका लागि गरिएको हुन्छ भने कुनै सेसनका छलफल ‘बी टू सी’ मोडलका हुन्छन् ।
खासगरी गन्तव्यको प्रचार तथा प्रवद्र्धन गरिने ‘बी टू सी’ खालका सेसनमा ‘सेक्युरिटी’ र ‘मेडिकल फेसिलिटी’बारे नेपालको तर्फबाट कुराकानी राख्ने गरिएको सीईओ बुडालको भनाइ छ । उनले उद्दारदेखि उपचार सम्मका कुराहरु यस्ता छलफलमा राख्ने गरिएको भएपनि पर्याप्त भएन भन्ने हस्पिटलहरुको गुनासो जायज नै भएको बताएका छन् ।
‘सेक्युरिटी र मेडिकल फेसिलिटीको कुरा हुने गरेपनि अहिलेसम्म त्यस्ता मार्ट तथा फेयरहरुमा नेपालका हस्पिटलहरुबाट सहभागीता नभएको साँचो हो’ सीईओ बुडालले भने, ‘मेडिकल टुरीजमको कुरा पनि अहिले क्रमशः आइरहेको हुनाले आगामी दिनमा हामीले सहभागीता जनाउने ट्राभल मार्ट तथा ट्राभल फेयरहरुमा नेपालबाट हस्पिटलहरुलाई पनि सहभागी गराउन सकिन्छ ।’
हस्पिटलहरुसँग सहकार्य गर्न उदार छौँः पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्डले भने अन्तर्राष्ट्रिय बजारमा हुने ट्राभल मार्ट तथा ट्राभल फेयरमा नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको उपचार सेवाको प्रचार गर्ने गरिएको जनाएको छ । तर, आफ्ना सेवाहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार हुने गरी सहकार्य गरौँ भनेर कुनैपनि हस्पिटल तथा हस्पिटलका संघ संस्थाहरुले प्रस्ताव नराखेको पर्यटन बोर्डको दाबी छ ।
पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार कतिपय ठाउँ त सेवा उपलब्ध छ मात्रै नभई अन्तर्राष्ट्रिय अस्पतालहरुको नामसमेत लिइने गरिएको छ । ‘हस्पिटलहरु अफिसियल्ली सहकार्यको प्रस्ताव लिएर नआए पनि हामीले नेपालमा अन्तर्राष्ट्रिय मापदण्डका हस्पिटल छन् भनेर प्रचार गरिरहेका छौँ’ उनले भने, ‘म आफैँले पनि कतिपय देशमा प्रिजेन्टेशन गर्दा नर्भिक, ग्राण्डी, ह्याम्स भनेर हस्पिटलको नामै पनि लिने गरेको छु ।’
उनले औपचारिक रुपमा सहकार्य गर्न अस्पतालहरु आएको खण्डमा पर्यटन बोर्ड उनीहरुसँग सहकार्य गर्न उदार रहेको बताएका छन् । तर, अहिलेसम्म औपचारिक रुपमा कुनै प्रस्ताव नआएको उनको भनाइ छ ।
‘अहिले ट्रेकिङ कम्पनी, टूर कम्पनीहरु सहभागी हुँदै आएका छन्, हस्पिटलहरु पनि पार्टनरसीपको लागि आउँछन् भने छलफल गरेर कोल्याब्रेशन गर्न पर्यटन बोर्ड तयार छ’ प्रवक्ता लामिछानेले भने ।













