कोरोनाकालभन्दा अगाडी काठमाडौँको दरबारमार्गस्थित होटल ‘डे ला अन्नपूर्ण’मा दैनिक मनग्य विदेशी पर्यटकहरु आउँथे । नेपालकै पनि व्यवसायीका संघ संगठनका कार्यक्रमहरु भइरहन्थे । तर, कोरोना भाइरसको महामारीका कारण ५५ वर्षको इतिहास (सन् २०२० मा यो होटल सञ्चालनमा आएको ५५ वर्ष पुगेको थियो) बोकेको उक्त होटल सन् २०२० को डिसेम्बरबाट बन्द भयो ।
लामो लकडाउनमा पनि होटलकी सञ्चालिका सिर्जना राणाले जसोतसो ३६० जना कर्मचारीलाई सहमति अनुसारको तलबभत्ता उपलब्ध गराइन् । यसपछि तत्काललाई बन्द गरेर केही वर्ष लगाएर होटललाई नयाँ तरिकाले सञ्चालन गर्ने योजना अनुसार उनले कर्मचारीलाई उनीहरुले पाउनुपर्ने तलब, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका सेवा सुविधा उपलब्ध गराएर बिदा गरिन् ।
अहिले होटल अन्नपूर्णलाई नयाँ तरिकाले सञ्चालनमा ल्याउने हुटहुटी अनुरुप सिर्जना राणा खटिइरहेकी छिन् । ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटल अन्नपूर्णलाई विगतको भन्दा थप व्यवस्थित बनाउने गरि अहिले पूरानो संरचना धमाधम हटाइँदैछ ।
दरबारमार्गको पार्किङ हटाइएपछि सहयोगी बनेको होटल अन्नपूर्ण
काठमाडौँ महानरपालिकाले दरबारमार्गको सडक छेउमा हुने गरेको सवारी पार्किङ हटाएपछि त्यस क्षेत्रको व्यवसायमा एक खालको मन्दी आयो । त्यसपछि बन्द रहेको होटल अन्नपूर्ण सो क्षेत्रमा किनमेलमा जाने सर्वसाधारणहरुको लागि पार्किङको विकल्प बन्यो ।
पार्किङ हटेपछि सुनसान जस्तै बनेको दरबारमार्ग क्षेत्रलाई पुनः गुल्जार बनाउन होटल अन्नपूर्णको पार्किङले निकै महत्वपूर्ण भूमीका खेल्यो । वर्षौसम्म चलेको होटल बन्द भएपनि सो क्षेत्रमा आउने सर्वसाधारण ग्राहकले कम्तीमा पार्किङको दुःख भोग्नु नपरोस् भनेर होटल परिसरमा पार्किङ सूचारु गरिएको सिर्जना राणा सगौरव स्मरण गर्छिन् ।
‘दरबारमार्ग क्षेत्र सफा र सुन्दर राख्नुपर्छ भन्ने कुरा एकदमै राम्रो हो, यसै क्रममा महानगरले पार्किङ हटाउने निर्णय गरेको थियो, तर यो नियम आउँदै गर्दा वैकल्पिक सेवासुविधा चाहिँ भएन’ उनी भन्छिन्, ‘यसकारण हामीले पार्किङको सुविधा दियौँ, सरकारलाई निजी क्षेत्रले कसरी सघाउँछ भन्ने यो एउटा उदाहरण हो ।’
कस्तो बन्छ नयाँ संरचना ?
सिर्जना भन्छिन्, ‘हामीले आधा शताब्दी अगाडी होटल अन्नपूर्ण सुरु गर्दा जग्गा धेरै हुन्थ्यो, अहिले जग्गाको उपलब्धता कम हुन्छ । यसकारण अब हरेक व्यवसायमा थोरै जग्गालाई कसरी धेरै अधिकतम् उपयोग गर्ने भन्ने नै हुन्छ, हामीले पनि यसमा विशेष ध्यान दिनेछौँ ।’
साथै, अन्नपूर्ण होटलको यसअघिको भवन पनि पूरानो भइसकेको थियो र जसरी पनि नयाँ बनाउनैपर्छ भन्नेमा थिइन् सिर्जना राणा । यसैक्रममा अब बन्ने अन्नपूर्ण होटलमा सर्वसाधारण नागरिकले पनि कार पार्किङ सुविधा पाउनेछन् । सँगै ठूलो कन्फ्रेन्स हल (सम्मेलन केन्द्र) पनि बन्नेछ, जसमा सेमिनार, बिबाह र अन्तराष्ट्रिय मिटिङहरु र एक्स्पो समेत आयोजना गर्न सकिनेछ ।
होटल परिसरलाई हरियाली पनि बनाउन कुनै कसर बाँकी नराख्ने योजनामा छिन् सिर्जना । वरीपरि रुख विरुवा बोकेर होटलको पर्यावरणलाई शान्त र स्वच्छ राख्ने उनको भनाइ छ ।
साथसाथै, होटलमा विगतको तुलनामा शत् प्रतिशत कोठा संख्या पनि थपिने छ । पहिला १५० कोठा रहेकोमा अब ३५० कोठा संख्या रहनेछन् । ‘अन्नपूर्ण धेरै पहिला आएको होटल भएकाले कोठा संख्या १५० मात्रै थिए, यो भनेको नयाँ नयाँ होटलको तुलनामा थोरै नै हो’ राणा भन्छिन्, ‘अब चाहिँ ३५० कोठा बनाउने लक्ष्य छ, हेरौँ अब के हुन्छ ?’
हा्टलमा स्वीमिङ पुल, क्यासिनो, स्पा–वेलनेश, जीम जस्ता आधुनिक सुविधा पनि विस्तार हुनेछन् । होटल २५ तलाको (सम्भवतः काठमाडौँ उपत्यकामा रहेका होटलमध्ये सबैभन्दा अग्लो) हुनेछ । ९ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिने होटलको परिसरमै बिजनेस कम्प्लेक्स पनि बनाइनेछ । ४० कोठा अपार्टमेन्टका लागि छुट्याइनेछ ।
‘अन्नपूर्ण स्क्वायरलाई नेपालकै सबैभन्दा लक्जरियस र साउथ एशियाकै उत्कृष्ट होटल बनाउने लक्ष्य छ’ शिलान्यासका क्रममा होटलका साझेदारमध्येका एक मिनबहादुर गुरुङले भनेका छन् ।
साझेदार पनि थपिए
होटलको सानो तहदेखि (कर्मचारीको तह) काम गरेकी राणा आफैँले पनि होटल व्यवस्थापन अध्ययन गरेकी छिन् । उनी भन्छिन्, ‘सानैदेखि म फरक स्वभावको थिएँ, काम गर्न हिचकिचाउने गर्दिनथेँ । मैले होटलमा भुइँ पुछ्नेदेखि कप टिप्ने सबै काम गरेको छु ।’
उनलाई लाग्थ्यो, अब अन्नपूर्णलाई नयाँ तरिकाले चलाउनुपर्छ, लगानी बढाउनुपर्छ । सोही क्रममा ‘अन्नपूर्ण स्क्वायर प्रा.लि.’ भनेर ‘डेभलपिङ कम्पनी’ जन्मियो । यो अन्नपूर्णमा लगानी गर्ने कम्पनी हो । जसमा अहिले भाटभटेनी समूहका मिनबहादुर गुरुङ र लिटल एन्जल्सका उमेश श्रेष्ठ भित्रिएका छन् । अन्य साना लगानीकर्ता पनि छन् ।
‘उहाँहरु (मिनबहादुर गुरुङ र उमेश श्रेष्ठ)लाई साझेदारका रुपमा पाउँदा अत्यन्त खुशी छु, उहाँहरुले आफूले सम्हालिरहेको व्यवसाय निकै सफल छ, सफलतापूर्वक व्यवसाय चलाइरहनु भएका व्यक्तित्वहरुको आगमनले मलाई थप हौसला पनि मिलेको छ, ऊर्जा पनि मिलेको छ’ सिर्जना थप्छिन्, ‘हामीले फरक स्टाटेजी अपनाएर डेभलपिङ पार्टनर्सको मोडलमा गएका हौँ । आईपीओमा जाने स्टाटेजी हामीले अपनाएनौँ, डेभलपिङ कम्पनीमार्फत लगानी जुटाउने मोडलमा गयौँ ।’
अहिले अन्नपूर्ण प्रा.लि. (सिर्जना राणा), मिनबहादुर गुरुङ र उमेश श्रेष्ठ मुख्य लगानीकर्ताका रुपमा रहेका छन् । नेपाल ट्रस्टको पनि ५ प्रतिशत शेयर छ । नयाँ बन्ने अन्नपूर्ण होटलमा लगानीकर्ताहरुले ‘अन्नपूर्ण स्क्वायर प्रा.लि.’मार्फत ६ अर्ब लगानी गर्दैछन् ।
‘३०० जना युवा जनशक्ति राख्छु’
अहिले होटलको पूरानो भवन भत्काउने काम भइरहेको छ । आगामी ४ देखि ५ वर्षभित्र नयाँ र सुविधा सम्पन्न भवनबाट होटल अन्नपूर्णले आफ्नो नविनतम् यात्रा प्रारम्भ गर्ने राणाको भनाइ छ । जसमा उनले ३ सय जना युवा जनशक्तिलाई रोजगारी दिने लक्ष्य राखेकी छिन् ।
‘थोरैको संख्यामा भएपनि युवा शक्तिलाई नेपालमै रोक्न पाइयोस् भन्ने छ, कोभिड पछि होटललाई नयाँ तरिकाले चलाउने र हाललाई बन्द गर्ने भनेर डेढ सय जना कर्मचारीलाई बिदा गर्नुपर्दा निकै दुःख लागेको थियो’ उनी भन्छिन्, ‘अब त्यसको तुलनामा दोब्बर जनशक्तिलाई रोजगारी दिने लक्ष्य छ, होटल सञ्चालनमा आउँदा ३०० जना युवा कर्मचारीहरु राख्नेछौँ ।’ उनका अनुसार यो भनेको हाल अनुमान गरिएको न्यूनतम् संख्या मात्रै हो, यसमा थप पनि हुन सक्छ ।
होटलको व्यवस्थापन विख्यात भारतीय हस्पिटालिटी चेन ब्राण्ड ‘आईटीसी वेलकम होटल’ले सम्हाल्नेछ । ७ वर्षसम्म यो समूहले व्यवस्थापन सम्हाल्ने गरि सम्झौता पनि भइसकेको छ ।