भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको घरजग्गा कारोबार सम्बन्धि निर्देशन संशोधन भएको छ । विभागले मंगलबार जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन संशोधन भएको हो ।
विभागले घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र ग्राहक विवरण अनिवार्य गर्दै मातहतका भूमी सुधार तथा मलपोत कार्यालयहरुलाई सर्कुलर जारी गरेकोमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप पश्चात उक्त निर्देशन संशोधन गरिएको स्रोतले बताएको छ । मंगलबार जारी भएको निर्देशनमाथि बुधबार र बिहिबार सचिव स्तरीय छलफल भएको थियो । बुधबार र बिहीबार प्रधानमन्त्री कार्यलयका सचिव फणिन्द्र गौतम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीबीच भएको छलफलले निर्देशन संशोधन गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयका सचिव शर्माले मालपोत कार्यालयमा हुने विवरण केवाईसी सरह हुने भएकाले केवाईसीको व्यवस्था गर्दा थप कागजात मात्र संकलन हुने अवस्था रहने भएकाले त्यसलाई हटाइएको हो ।
यसअघि ‘घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्नेछ’ निर्देशनमा भनिएको थियो ।













