यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार ‘ह्वाई नेशन्स फेल ?’ (राज्य किन असफल हुन्छन् ?) लेखकका अर्थशास्त्रीलाई दिइएपछि यो पुस्तकबारे चर्चा चलिरहेकै छ ।
अमेरिकाको नोगालेस शहरको उदाहरण दिँदै सुरु भएको पुस्तकले विभिन्न देशको उदाहरण पेश गरेको छ । नोगालेस शहर दुई देशमा विभाजित छ । सामान्य बारले मात्रै सीमा छुट्याएको छ । यो शहरको उत्तरपट्टिको भाग अमेरिकाको एरिजोना राज्यको सान्टा क्रुज काउन्टीमा पर्छ, जसलाई एरिजोना नोगालेस भन्ने गरिन्छ । अर्को पट्टिको भाग मेक्सिको सोनोरामा पर्छ, जसलाई ‘सोनोरा नोगालेस’ भन्ने चलन छ । अमेरिका तिरको शहरमा सबै सुविधा र त्यहाँका सबै मान्छे शिक्षित छन् भने मेक्सिको तिरको त्यहीँ शहरमा अवस्था दयनीय छ ।
यी र यस्तै उदाहरणबाट मुलुक असफल हुनुमा सम्बन्धित देशमा रहेका संस्थाहरुको विकास र तिनले अर्थतन्त्रलाई पार्ने प्रभाव पुस्तकमा केलाइएको छ ।
नेपालबारे के लेखिएको छ ?
यतिबेला नेपालमा पनि अर्थतन्त्रबारे जानकारी राख्न चाहने र अर्थतन्त्रबारे लेख्न रुचाउनेहरुले ‘ह्वाई नेशन्स फेल ?’बारे चर्चा गरिरहेका छन् । मान्छेहरुमा उक्त पुस्तकमा नेपालबारे केही लेखिएको छ कि छैन होला भन्ने जिज्ञासा पनि उत्पन्न गराइराखेको छ ।
सन् २०१२ मा ड्यारोन एसिमोग्लु र जेम्स ए. रोबिन्सनले लेखेको ‘ह्वाइ नेसन्स फेल ?’मा नेपालबारे छुट्टै विशेष अध्ययनको निष्कर्ष भने छैन । तर, विश्वका गरिब मुलुकमा अफ्रिकी मुलुकहरू बढी रहेपनि अपवादका रूपमा नेपाल र अफगानिस्तान समेत रहेको विषय पुस्तकमा उल्लेख छ । अफ्रिकाभन्दा फरक भूगोल रहेर पनि नेपाल सुव्यवस्था कायम गर्नमा असफल देखिएको पुस्तकमा लेखिएको छ ।
इतिहासमा कहिल्यै उपनिवेश नभएको नेपाल हालसम्म पनि गरिब मुलुककै सूचीमा रहनुका पछाडी नेपालमा आर्थिक प्रोत्साहन करिब शून्य बराबर हुनुलाई कारण मानिएको छ । साथै, आर्थिक विकासका लागि आवश्यक हुने स्थिरता (सबै खालका स्थिरता) नेपालको प्राथमिकतामा नपर्दा मुलुक गरिबीकै दुस्चक्रमा फसिरहेको तर्क पुस्तकको छ ।
‘नेपाल, अफगानिस्तान र हाइटी अफ्रिकाका धेरै मुलुकसँग संस्थागत रूपमा समान छन्, त्यसकारण यि देशहरु विश्वका गरिबतम् मुलुकहरू मध्येमा पर्छन्,’ भन्ने पुस्तकको सार छ ।
खासगरि, १६औँ शताब्दी ताका उपनिवेश बनेका भूगोल तथा राज्यहरुमा त्यतिबेला धनी मानिएका राज्यहरू अहिले गरिब बनेको र उपनिवेशका बेला गरिब मानिएका केही राज्यहरू अहिले धनी बनेको पुस्तकको तर्क छ । यसो हुनुमा त्यस्ता देश तथा राज्यहरुमा कस्ता संस्थाहरू स्थापना र विकास गरिए र, ति संस्थामार्फत राज्यमा कस्तो प्रभाव पारियो भन्ने कुरा नै महत्वपूर्ण रहेको पुस्तकको निष्कर्ष छ ।
विश्वका विभिन्न देशलाई उपनिवेश बनाउँदै हिड्ने युरोपेली देशहरूले जुनजुन देशको प्राकृतिक, मानवीय र आर्थिक स्रोत दोहन गर्न चाहे, ति देशमा शोषणकारी संस्थाहरू बनाए र जुनजुन देशमा युरोपेलीहरू आफू पनि बस्न थाले वा भविष्यमा बस्न चाहन्थे, ती देशमा सबल संस्थाहरू बनाए भन्ने निष्कर्ष पुस्तकको छ ।
तर, इतिहासमा कहिल्यै कसैको पराधिन नबनेको नेपाल भने आर्थिक प्रोत्साहन शून्य हुनु र स्थिरता प्राथमिकतामा नपर्दा गरिब मुलुककै रुपमा कायम रहेको तर्क पुस्तकमा गरिएको छ ।
यसपटक नोबेल पुरस्कार प्राप्त गर्ने अर्थशास्त्रीहरुमा एसिमोग्लु र रोबिन्सनसहित सिमोन जोन्सन पनि छन् । जोन्सनले एसिमोग्लुसँगै मिलेर लेखेको ‘पावर एण्ड प्रोग्रेस’ शीर्षकको पुस्तक गत वर्ष प्रकाशित भएको थियो ।













