नेपालमा उत्पादित वस्तु निर्यातमा सरकारले घोषणा गरेको नगद अनुदान नपाएपछि उद्योगीहरुले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएका छन् । आर्थिक वर्ष २०७९/०८० देखि नै अनुदान वापतको रकम नपाएपछि उद्योगीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
फेडरेशन अफ नेपाल एक्स्पोर्टर्स एशोसिएसनको तर्फबाट उद्योगीहरूको समूहले अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको छ । अध्यक्ष पवन गोल्यानको नेतृत्वमा गएको टोलीले तत्काल निर्यातको नगद अनुदान निकासा गर्न माग गरेका छन् ।
अर्थमन्त्री पौडेलले उद्योगीसँग छलफल गर्दै चाँडै निकासा गर्ने प्रतिवद्धता जनाएका छन् ।
उद्योगीहरुले व्यापार घाटा बढ्दै गएको बेला आयात प्रतिस्थापन तथा निर्यात अभिवृद्धिको लागि सरकारले लिएको नीति अनुरूप आफूहरुले निकासी गरिरहेको तर, सरकारले कबुल गरेको अनुदान नदिँदा आफूहरु मर्कामा परेको दुःखेसो गरेका छन् ।
अर्थमन्त्री पौडेललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “समयमा अनुदान नपाउँदा आज उद्योग संचालनमा ठूलो मर्का पर्न गएको छ । यसबाट स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्यात गर्ने कृषिजन्य उद्योग, धागो तथा गार्मेट जस्ता धेरै रोजगारी सृजना गर्ने उद्योग कलकारखानामा अत्यधिक लागत वृद्धि भएका कारणले हतोत्साही भइ रूग्न हुने स्थितिमा पुगेका छन् ।”
अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष प्रयाप्त बजेट निकासा नगरेकाले समयमै अनुदान वापतको रकम भुक्तानी गर्न नसकिएको स्वीकार गर्दै अब भने ‘डेट लाइन’ नै तोकेर निकासा गर्ने प्रतिवद्धता जनाएका छन् ।












