अमेरिकाले नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने चासो देखाएपछि अहिले नेपालका सरकारी अधिकारीहरु र निजी क्षेत्रमा यस विषयले चर्चा पाइरहेको छ । काठमाडौँमा भदौ ३१ गते भएको ‘नेपाल–अमेरिका ट्रेड एण्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिल’को ७औँ बैठकमा अमेरिकी पक्षले आफ्नो देशबाट नेपालमा सुँगुर र कुखुराको मासु निकासीको प्रस्ताव राखेको थियो । अमेरिकी पक्षले नेपालबाट यसका लागि सहजीकरण खोजेको थियो ।
काउन्सिलको बैठक पश्चात जारी संयुक्त प्रेस वक्तव्यमा समेत अमेरिकाले नेपालमा कुखुरा र सुँगुरको मासु निर्यात गर्न चाहेको र नेपाल पक्षले सकारात्मक दिएको विषय समावेश गरिएको छ । ‘नेपालले अमेरिकी सुँगुर र कुखुराको मासु आयातमा कुनै प्रकारको प्रतिबन्ध नरहेको पुष्टि गरेकोमा अमेरिकाले स्वागत गरेको छ’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘नेपालले आगामी महिनाहरूमा अमेरिकी सुँगुर र कुखुराको मासु आयात गर्न फूड एन्ड सेफ्टी एण्ड इन्सपेक्शन सर्भिस सर्टिफिकेट (एफएसआईएस फारम–९०६०–५) स्वीकृतिका लागि संयुक्त राज्य अमेरिकालाई आधिकारिक रूपमा सूचित गर्ने आश्वासन दिएको छ ।’
अमेरिकी प्रस्तावमा नेपालले के जवाफ दियो ?
उक्त बैठकमा नेपाली पक्षको नेतृत्व गरेका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीका अनुसार वार्तामा अमेरिकी टोलीले अमेरिकी व्यवसायीहरुले नेपालमा सुँगुर र कुखुराको मासु निकासी गर्न चाहेको बताएको थियो । यसका लागि अमेरिकी गुणस्तर प्रमाणका आधारमा नेपालमा आयात गर्न दिनुपर्ने अमेरिकी पक्षको आग्रह थियो ।
यसमा नेपाल पक्षले सकारात्मक जवाफ दिएको वाणिज्य सचिव कार्कीले बताएका छन् । अमेरिकाले गुणस्तर कायम गरेर सुँगुर र कुखुराको मासु पठाउन चाहँदा नकारात्मक हुनुपर्ने कारण नरहेको भन्दै उनले यसका लागि सहजीकरण गर्ने प्रतिवद्धता नेपाल पक्षबाट जनाइएको जानकारी दिए ।
‘उहाँहरु (अमेरिकी वार्ता टोली)ले त्यहाँका व्यवसायीहरु नेपालमा पोर्क र पोल्ट्री निर्यात गर्न चाहन्छन्, यसका लागि उताको गुणस्तर कायम गर्ने संस्थाको प्रमाणपत्रलाई नै मानेर यहाँ निर्यात गर्न दिनुपर्छ भन्ने कुरा राख्नुभयो’ सचिव कार्कीले भने, ‘हामीले अमेरिकाले गुणस्तर कायम गरेर नेपालमा मासु पठाउन चाहन्छ भने यसका लागि सकारात्मक छौँ भन्ने हिसाबको जवाफ दियौँ, एक हिसाबले भन्ने हो भने सहजीकरण गर्न तयार छौँ भन्ने प्रतिवद्धता जस्तै पनि हो ।’
नेपाल खुला ब्यापार नीति अवलम्बन गरेको मुलुक भएको हुनाले अमेरिकी प्रस्तावमा विमति जनाउनुपर्ने कुनै कारण नरहेको र नेपालले खुला ब्यापार नीति अनुसार नै हालसम्म कुनै देशको कुनै विशेष उत्पादनको आयातमा बन्देज नलगाएको जानकारीसमेत अमेरिकी पक्षलाई गराइएको सचिव कार्कीले जानकारी दिए ।
अमेरिका नेपालमा किन मासु बेच्न चाहन्छ ?
अमेरिका मासुको मुख्य निर्यातकर्तामध्ये एक हो । अमेरिकाले विश्वभरी नै गाई, गोरु, सुँगुर र कुखुराको मासु निर्यात गर्दै आएको छ । अमेरिकी कृषि मन्त्रालयका अनुसार अमेरिकाले निर्यात गर्ने कृषिजन्य उत्पादनमा जनावरजन्य उत्पादनको हिस्सा पाँच भागको एक भाग छ ।
अमेरिकी कृषि मन्त्रालयले जनावरको मासुजन्य पदार्थको निकासीका लागि एशियाली बजारलाई नयाँ बजारका रुपमा हेरेको छ । उक्त मन्त्रालयद्वारा प्रकाशित एक अनुसन्धानपत्र अनुसार अमेरिकी मासु तथा जनावरजन्य पदार्थको बजारमा एशियाली देशहरुलाई नयाँ अवसरका रुपमा चित्रण गरिएको छ ।
नेपालमा गाई र गोरुको मासु खान प्रतिबन्ध छ । त्यसकारण अमेरिकाले सुँगुर र कुखुराको मासु निकासीका लागि पहल थालेको जानकारहरु बताउँछन् ।
कति सम्भव ?
अमेरिकाले नेपालमा अहिलेकै अवस्थामा पनि मासु निर्यात गर्न कुनै बाधा र समस्या नरहेको जानकारहरुको भनाइ छ । तोकिएको मापदण्ड पूरा गरेको अवस्थामा जुनसुकै देशबाट मासु वा मासुजन्य वस्तु नेपालमा आयात गर्न सकिने व्यवसायीहरु बताउँछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति लिएर अमेरिकाले सजिलै सुँगुर र कुखुराको मासु नेपालमा पठाउन सक्ने अधिकारीहरुले बताएका छन् ।
नेपाल–यूएस चेम्बर, कमर्श एन्ड इन्डस्ट्रीका अध्यक्ष किरण शाखःले नेपालमा सुँगुर र कुखुराको मासु आयात गर्न कुनै अवरोध छ जस्तो नलागेको बताएका छन् । यद्यपी, आजसम्म आफू सहभागी कयौँ वार्ता तथा छलफलमा अमेरिकी पक्षले यसबारे कुरा नगरेको बताउँदै शाखःले नेपाल र अमेरिकी सरकारका अधिकारीहरुबीच भएको पछिल्लो वार्ता पश्चात जारी संयुक्त प्रेस वक्तव्यमा उल्लेख भएको विषय आफ्ना लागि नयाँ भएको प्रतिक्रिया दिएका छन् ।












