Friday, April 17, 2026
spot_img
spot_img

खाडीमा बमबारी हुँदा नेपालमा परकम्पः मध्यपूर्वको युद्धले नेपाल कति हल्लिन्छ ?

spot_img
spot_img

इजरालय र इरानबीचको युद्ध पूर्ण रुपमा कहिले सकिन्छ भन्ने कुनै टुङ्गो छैन । यी दुइ देशबीचको तनावले मध्यपूर्वका देशमा पनि मानवीय र भौतिक क्षति बढाएको छ भने विश्व राजनीति र विश्व अर्थ व्यवस्था नै हल्लाइदिएको छ ।

यो युद्ध अझै लम्बियो भने यसको प्रभाव नेपालजस्तो रेमिट्यान्समा अत्यधिक निर्भर मुलुकमा समेत प्रत्यक्ष पर्ने देखिन्छ । खाडी र त्यस आसपासका देशहरूमा करिब २५ लाख नेपालीहरु श्रमिकका रुपमा कार्यरत छन् । उनीहरूले पठाउने रेमिट्यान्स नेपाली अर्थतन्त्रको प्रमुख आधार बनेको छ । राष्ट्र बैंकका अनुसार कुल रेमिट्यान्सको करिब ४१ प्रतिशत रेमिट्यान्स खाडीका देशबाट भित्रिने गरेको छ ।

खाडीका देशसँग गहिरो निर्भरता
नेपाल रेमिट्यान्स प्रधान मुलुकका रुपमा दर्ज हुँदैछ । वार्षिक करिब १५ खर्ब हाराहारी रेमिट्यान्स नेपाल भित्रिन्छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण आप्रवाह १८८ अर्ब ६४ करोड रहेको छ । यसमा ठूलो योगदान मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरुको छ ।

मलेसियाबाहेक खाडीका देशमध्ये साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र कुवेत नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य मुलुकहरु हुन् । अहिले यी देशहरुमा समेत युद्धको प्रभाव बढिरहेको छ । इरानले अमेरिका र इजरायलले गरिरहेको प्रहारको बदला भन्दै खाडीका देशमा आक्रमण गरिरहेको छ । यसकारण खाडीका देशमा उत्पन्न हुने कुनै पनि तनाव र अस्थिरताले नेपालमा प्रत्यक्ष आर्थिक प्रभाव पार्ने गर्छ । रेमिट्यान्सले नेपालको विदेशी मुद्रा सञ्चिति, वस्तु तथा सेवाको आयातको क्षमता र समग्र आर्थिक स्थायित्वमा भूमिका खेल्दै आएको हुनाले यसमा ‘ब्रेक’ लाग्यो भने आर्थिक स्थायित्व नै डगमगाउने जोखिम रहने अर्थशास्त्री निशान्त खनाल बताउँछन् ।

नेपाली श्रमिकको सुरक्षामै चुनौती
अहिले खाडीका देशहरुमा करिब २५ लाख नेपालीहरु रहेको अनुमान छ । तर, वैदेशिक रोजगार विभाग जस्ता निकायमा यकिन तथ्याङ्क भने छैन । नयाँ जाने श्रमिक र पुनः श्रम स्वीकृति लिएर बसेकाहरुको संख्या जोड्दा करिब २५ लाख हाराहारी नेपालीहरु ति देशमा रहेको अनुमान गरिएको छ ।

यदि युद्ध अझै चर्किएको खण्डमा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा नेपाल सरकारका लागि पहिलो प्राथमिकता हुनेछ । सरकारले उद्धार अभियान नै चलाउनुपर्ने अवस्था आउन सक्ने अनुमान गर्न थालिएको छ ।

सम्बन्धित देशमा रहेका दूतावासहरूको सक्रियता, सुरक्षित स्थानको व्यवस्थापन र आवश्यक परे तेस्रो मुलुकमार्फत उद्दार गर्नुपर्ने अवस्थासमेत आउन सक्ने देखिन्छ । यसका लागि कुटनैतिक पहल उत्तिकै छिटो हुन सक्नुपर्ने परराष्ट्र सम्बन्धका जानकारहरु बताउँछन् । विगतमा महामारी र युद्धग्रस्त देशबाट भारत सरकारले नेपालीहरुलाई आफ्नो देश हुँदै नेपाल फर्काउन सहयोग गरे जस्तै यसपटक खाडीका देशबाट पनि त्यसैगरी नेपालीहरु फर्काउन विशेष पहल सरकारकै तहबाट हुनुपर्ने उनीहरुको भनाइ छ ।

ठूलो संख्यामा रहेका नेपालीलाई एकैपटक फर्काउन नेपालको एयरलाइन्सदेखि अरु क्षमताले नभ्याउने भएकाले तेस्रो देशको सहयोग लिनुपर्ने आवश्यकता औल्याउँदै कुटनीतिक क्षेत्रका जानकारहरुले यसमा सरकार चनाखो भएर बस्नुपर्ने सुझाव दिएका छन् ।

रेमिट कम्पनीहरूमाथि दबाब
संकट लम्बिँदै जाँदा रेमिट्यान्स सेवा प्रदायक संस्थाहरूको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ । रेमिट कम्पनीहरुले नेपालीहरुको पैसा ल्याउन सहज गरिदिनुपर्ने श्रमिक अधिकारकर्मीहरु बताउँछन् । तर, अहिले रेमिट्यान्स पठाउन रेमिट कम्पनीमा गएर नगद पठाउनु (एक्सचेन्ज रेट अनुसार) पर्ने अवस्था भने धेरै हदसम्म कम भइसकेको छ । अहिले विदेशमा रहेका नेपालीहरुले उताको बैंकको मोबाइल बैंकिङ सेवामार्फत नेपालमा रहेका आफन्तको बैंक खातामा सिँधै अनलाइनबाटै पैसा पठाउन सक्छन् ।

यद्यपी, युद्ध चर्किदा बैंकिङ प्रणालीमा अवरोध भएमा रेमिट कम्पनीहरुले शुल्कमा सहुलियत दिने र संकटग्रस्त क्षेत्रमा रहेका नेपालीलाई आर्थिक पहुँच कायम राख्ने जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउन सक्छ । यसको सोझो असर उनीहरुको नाफामा समेत पर्न सक्ने देखिन्छ ।

राष्ट्र बैंकको हस्तक्षेप आवश्यक
रेमिट्यान्स घट्दा त्यसको प्रत्यक्ष असर विदेशी मुद्रा सञ्चितिमा पर्छ । यस्तो अवस्थामा आयातमै प्रभाव पर्न सक्छ । रेमिट्यान्समा उल्लेख्य गिरावट आयो भने भुक्तानी सन्तुलनमा समस्या देखिन सक्ने भएकाले नेपाल राष्ट्र बैंकले आयात नियन्त्रणको उपाय अपनाउनुपर्ने समेत हुन सक्ने मौद्रिक नीतिका जानकारहरु बताउँछन् ।

विदेशी मुद्राको सञ्चिती कम हुँदा विगतमा राष्ट्र बैंकले सवारी साधन, विदेशी मदिरा जस्ता वस्तुको आयातमा रोक लगाएको थियो । यसपाली पनि त्यस्तै स्थिति आउन सक्ने विश्लेषण हुन थालेको छ ।

सरकारको अहम भूमीका
नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य मुलुकमा पर्न सक्ने यस्तो संकटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी अहम हुने अधिकारीहरु बताउँछन् । विदेशमा रहेका नेपालीको तथ्यांक संकलन, उद्धार र समन्वयसहित स्वदेश फर्किएका श्रमिकको पुनःस्थापनामा पनि मन्त्रालयको विशेष भूमीका हुन्छ । अहिले नै करिब ७ लाख नेपालीहरुले स्वदेश फर्किन चाहेको भन्दै दूतावासमा सम्पर्क गरिरहेको र यो संख्या बढ्न सक्ने श्रम मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

लाखौँ श्रमिकलाई एकैपटक फर्काउनुपर्ने अवस्था आएमा स्वदेशमा उनीहरुको व्यवस्थापन झन कठिन हुन सक्ने श्रम तथा आप्रवास क्षेत्रका जानकारहरु बताउँछन् । वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार भइरहेकै जनशक्तिलाई रोजगारी दिन कठिन भइरहेका बेला विदेशमा रहेका श्रमिकहरु एकैपटक ठूलो संख्यामा नेपाल फर्किनुपर्ने अवस्था आएमा उनीहरुको श्रम, आम्दानी र सामाजिक सुरक्षामा सरकारलाई चुनौति थपिन सक्छ ।

त्यसो त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि अहिले सरकारले सकेसम्म युद्धरत पक्षहरु चाँडै मिलुन् र श्रमिकहरुलाई फर्काउनुपर्ने अवस्था सिर्जना नहोस् भन्ने चाहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को टोलीसँग केही दिन अघिको भेटमा मन्त्री वाग्लेले युद्ध चाँडै रोकियोस् भन्ने नेपाल सरकारको कामना रहेको बताएका थिए ।

मेनपावर कम्पनीहरूको उत्तरदायित्व र चुनौती
पूर्व अध्यक्ष भण्डारीका अनुसार अहिले मेनपावर कम्पनीहरुले विदेशमा रहेका श्रमिकसँग निरन्तर संवाद गरिरहेका छन् । श्रमिकसँग सम्पर्क कायम राख्ने, रोजगारदातासँग समन्वय गर्ने र सम्भावित जोखिमबारे जानकारी लिने र दिने काम मेनपावर कम्पनीहरुले गरिरहेको उनको भनाइ छ ।

तर, मुख्य जिम्मेवारी सरकारकै हुने भएकाले अहिले युद्धरत देशमा श्रम स्वीकृत दिन नहुने उनको भनाइ छ । ‘श्रम स्वीकृत रोक्ने, दूतावासहरुलाई सक्रिय बनाउने र सम्बन्धित देशको सरकारसँग दूतावासमार्फत समन्वय बढाउने कुरा नै अहिलेको आवश्यकता हो’ उनी भन्छन्, ‘कम्पनीहरुले आफ्नो उत्तरदायित्व पूरा गरिरहेका छन् । श्रमिकसँग सम्पर्कमै रहने र जोखिमको अवस्था बुझ्ने काम हामीले पनि गरिरहेका छौँ । रोजगारदातासँग मुख्य रुपमा सम्पर्क गरेर समन्वयमा रहने कुरा हाम्रो जिम्मेवारी हो । हामी लागिरहेका छौँ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामा ३ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला...

नेप्सेको इन्फर्मेशन सिस्टमको अडिटको जिम्मा आर.एस.एम अल्फालाई

नेपाल स्टक एक्सचेन्ज नेप्सेको इन्फर्मेशन सिस्टमको अडिट कार्यको जिम्मा...

बैंकिंङ मै फर्किंदै तारा मानन्धर, मुक्तिनाथ विकास बैंकको सीइओ नियुक्त

मुक्तिनाथ विकास बैंकको  प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त...

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने भएको...

६ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, ५ करोड ६७ लाख बाड्न मिल्ने

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को...
spot_img