बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई दिइएको झमेलाका सम्बन्धमा भन्सार विभागले कुनै कैफियत नदेखिएको निष्कर्ष निकालेको छ । बजेटमा आउने करका दरबारे पूर्व सूचना लिएर गाडी आयात गरेको भन्दै बिवाईडीको आयातकर्ता साइमेक्स इंक प्रा.लि.लाई बद्नाम गरिएको थियो । तर, भन्सार विभागले नियमानुसार नै जाँचपास भएर ति गाडीहरु भित्रिएको निष्कर्ष निकालेको हो ।
साईमेक्स इंकले प्रक्रिया पूरा गरेर गाडी भित्र्याएको भएपनि जाँचपास भएर गन्तव्यतर्फ पुग्दै गरेका बिवाईडीका विद्युतीय गाडीहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । यस पछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बिवाईडीको आयातकर्ता साइमेक्स इंकलाई जोडेर विभिन्न आशंका र भ्रम छरिएको थियो । तर, भन्सार विभागले अध्ययन तथा अनुगमन गरेर ति सवारी साधनहरू नियमानुसार जाँचपास भएको निष्कर्ष निकालेको हो ।
भन्सार विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेरै २०८३ जेठ १७ गते भन्सार विभागका निर्देशकको नेतृत्वमा तथा जेठ २१ गते अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिसहितको अनुगमन टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारी पेश गरिएको जनाएको छ ।
प्रतिवेदनअनुसार मुस्ताङ भन्सार कार्यालयबाट २०८३ जेठ १२ र १३ गते कुल ६४९ वटा विद्युतीय सवारी साधन जाँचपास भएको र त्यस क्रममा आयातकर्ताले ९ वटा घोषणापत्रमार्फत् जाँचपासको प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।
Laxmi E-mobility Pvt. Ltd., Cimex Inc. Pvt. Ltd., C.G. Motors Pvt. Ltd., Puja International Nepal Pvt. Ltd. तथा Pooja Construction Nepal Pvt. Ltd. लगायत कम्पनीले आयात गरेका विद्युतीय सवारी साधनको जाँचपाससम्बन्धी विषय विज्ञप्तिमा उल्लेख गरिएको छ ।













