सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकार आयोजना सम्बन्धि विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छिन् ।
कार्यदललाई पाथीभरा केवलकार निर्माणका सम्बन्धमा देखिएका विवाद तथा समस्या पहिचान गरी समाधानका उपाय पहिल्याउँदै १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ ।
कार्यदलमा संयोजक राईसहित गृह मन्त्रालयका उपसचिव, प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका स्वकीय सहसचिव, पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि र केवलकार निर्माण गर्ने कम्पनीका प्रतिनिधि पनि सदस्य रहेका छन् ।












