नेपाल उद्योग वाणिज्य महासंघको विधानमा द्विराष्ट्रिय उपाध्यक्षको प्रबन्ध भएपनि यसबारे कहीँकतै चासो छैन । महासंघको संशोधित विधानले शर्तसहित द्विराष्ट्रिय समूहबाट पनि उपाध्यक्ष रहने प्रबन्ध गरेको छ । तर, यसपाली यो समूहबाट महासंघले उपाध्यक्ष नपाउने पक्का भएको छ ।
अहिले एसोसियट र द्विराष्ट्रिय समूहलाई जोडेर एक जना उपाध्यक्ष दिइएको छ । तर, विधानको दफा २९ को उपदफा २९.६ मा द्विराष्ट्रिय समूहबाट पनि उपाध्यक्ष रहने भनिएको छ । ‘स्पष्टिकरणः यस उपदफा बमोजिम बीस वटा भन्दा बढी द्विराष्ट्रिय संघहरु सदस्य भएमा सो समूहबाट एक जना उपाध्यक्ष निर्वाचित हुनेछ’ दफा २९ को उपदफा २९.६ मा भनिएको छ ।
विधानको यस प्रावधानका आधारमा यसैपाली महासंघले द्विराष्ट्रिय संघ समूहबाट उपाध्यक्ष पाउने सम्भावना थियो । किनकी, महासंघमा सदस्य भएका द्विराष्ट्रिय संघहरुको संख्या २० पुगेको थियो । तर, आगामी साधारणसभा र निर्वाचनमा मतदान गर्न पाउने द्विराष्ट्रिय संघहरुको संख्या भने १२ वटा मात्रै देखिएको छ । ८ वटा संघहरुले मतदान अधिकार नपाएका कारण द्विराष्ट्रिय संघ समूहले उपाध्यक्ष पाउने सम्भावना टरेको हो ।
‘८ वटा संघहरुले मताधिकार नपाएको विषयमा नवीकरण लगायतका कुराहरु छन्’ स्रोत भन्छ, ‘अब चुनावी वर्ष भएकाले कुनै उम्मेदवारले पैसा तिरेर नवीकरण गरिदिन्छ भनेर बसे होलान्, कसैले नवीकरण नगरिदिएका कारण मताधिकारबाट बन्चित भएको हुन सक्छ । तर, यो मात्रै कारण नहुन पनि सक्छ ।’
१२ वटा द्विराष्ट्रिय संघहरु मात्रै किन मताधिकारका लागि योग्य भए, बाँकी ८ वटा किन योग्य भएनन् भनेर हामीले महासंघका प्रशासन प्रमुख केदार जोशीसँग कुराकानी गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
यी हुन् महासंघको निर्वाचनमा मतदान अधिकार प्राप्त द्विराष्ट्रिय सदस्य संघहरुः
१) नेपाल–अमेरिका उद्योग वाणिज्य संघ
२) नेपाल–ब्रिटेन उद्योग वाणिज्य संघ
३) नेपाल–फ्रान्स उद्योग वाणिज्य संघ
४) नेपाल–भारत उद्योग वाणिज्य संघ
५) नेपाल–जर्मन उद्योग वाणिज्य संघ
६) नेपाल–जापान उद्योग वाणिज्य संघ
७) नेपाल–कोरिया (गणतन्त्र) उद्योग वाणिज्य संघ
८) नेपाल–रसिया उद्योग वाणिज्य संघ
९) नेपाल–मलेसिया उद्योग वाणिज्य संघ
१०) नेपाल–चीन उद्योग वाणिज्य संघ्
११) नेपाल–थाइ उद्योग वाणिज्य संघ
१२) नेपाल–इन्डोनेशिया उद्योग वाणिज्य संघ
मतदान अधिकार नपाउने द्विराष्ट्रिय सदस्य संघहरुः
१) नेपाल–अष्ट्रेलिया उद्योग वाणिज्य संघ (महासंघको बेभसाइडमा उल्लेख भए अनुसार अध्यक्ष, अखिल कुमार चापागाई)
२) नेपाल–बुल्गेरिया फ्रेण्डशीप चेम्बर अफ कमर्स (यस संघलाई पर्यवेक्षक भनिएको तर महासंघको वेभसाइडमा उल्लेख भए अनुसार यस संघको अध्यक्ष महेशमान श्रेष्ठ छन्)
३) नेपाल–इजरायल उद्योग वाणिज्य संघ (महासंघको वेभसाइड अनुसार यस संघका अध्यक्ष शिवेन्द्र केसी)
४) नेपाल–कुबेत उद्योग वाणिज्य संघ (महासंघको सदस्यसूचीमा उल्लेख भए अनुसार यस संघका अध्यष सुरेन्द्रविर मालाकार)
५) नेपाल–म्यानमार उद्योग वाणिज्य संघ (महासंघको सदस्य सूचीमा उल्लेख भए अनुसार यस संघको अध्यक्ष शिव कुमार अग्रवाल हुन्)
६) नेपाल–श्रृलङ्का उद्योग वाणिज्य संघ (महासंघको वेभसाइड अनुसार यस संघका अध्यक्ष रमेश महर्जन् हुन्)
७) नेपाल–टर्की उद्योग वाणिज्य संघ (महासंघको सदस्यता सूचीअनुसार यस संघको अध्यक्ष अखिल कुमार चापागाई हुन्)
८) नेपाल–भियतनाम उद्योग वाणिज्य संघ (महासंघको सदस्यता सूचीमा उल्लेख भए अनुसार यस संघको अध्यक्ष दीपक मल्होत्रा हुन्)
यी हुन् द्विराष्ट्रिय सदस्य संघबाट केन्द्रीय सदस्यका उम्मेदवार
यदि २० वटै संघहरुले मतदान अधिकार पाउँथे भने महासंघमा यस समूहबाट उपाध्यक्षसहित २ जना केन्द्रीय सदस्य निर्वाचित हुन्थे । तर, जम्मा १२ वटा संघहरुले मात्रै मतदान अधिकार पाएकाले यसपाली यो समूहबाट एक जना मात्रै केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
जसका लागि नेपाल–मलेसिया उद्योग वाणिज्य संघको तर्फबाट मनोज पौडेल र नेपाल–जर्मन उद्योग वाणिज्य संघको तर्फबाट शन्तोष चन्द कुँवरले उम्मेदवारी दिएका छन् । यी दुइ जनामध्ये एक जना निर्वाचित हुनेछन् ।
महासंघको सदस्यता सम्बन्धि प्रावधानअनुसार द्विराष्ट्रिय मताधिकारमा पनि एसोसियटभित्रै राखिएको छ । विधानको दफा १२ को उपदफा १२.२ मा ‘द्विराष्ट्रिय उद्योग वाणिज्य संघको मताधिकार एसोसियट समूहभित्र रहनेछ र सोही समूहभित्र रही यस विधानमा गरिएको व्यवस्था अनुरुप मताधिकारको प्रयोग गर्नेछ’ भनिएको छ ।
यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय भएको महासंघको साधारणसभा र निर्वाचन २०८३ बैशाख २१ र २२ गतेका लागि सरेको छ ।












