काठमाडौँसहित देशभर चीसो बढिरहेको छ । चीसो बढेसँगै मानिसहरुमा रुघाखोकीसहित विभिन्न समस्याहरु देखिने गर्दछन् । अझ खानपान र हिडडुलमा ध्यान नदिँदा यस्ता समस्याहरु बढी देखिन्छन् भन्ने विज्ञहरुको भनाइ रहँदै आएको छ ।
यसै विषयमा केन्द्रित रहेर हामीले चीसो मौसममा के कस्ता स्वास्थ्य समस्या देखिन्छन् ? ति समस्याहरु समयमै निराकरण नहुँदा त्यसले दीर्घकालमा पार्ने असर कस्ता हुन्छन् र बच्ने उपाय के हुन सक्छ भन्ने बारेमा नाक, कान, घाँटी विशेषज्ञ डा. प्रकाश खनालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
चीसो मौसममा घाँटी र नाकमा समस्या बढी देखिन्छ भन्ने गरिन्छ । यो समयमा घाँटी र नाकमा के कस्ता समस्याहरु देखिन्छन् ?
साधारणतया चीसो मौसमा भाइरल इन्फेक्शनहरु हुने गर्दछ । रुघाखोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट सिँगान बगिरहने हुन्छ । भाइरल इन्फेक्शन, फेरेनजाइटिस, टङ्सीलाइटिस जस्ता समस्याहरु पनि चीसो मौसममा बढी देखिन्छ ।
यी समस्याहरु देखिनुमा मानवीय कारण चाहिँ कत्तिको हुन्छ ?
चीसो मौसममा भाइरसहरु बढी सक्रिय हुन्छन् । भाइरस बढी सक्रिय हुने भएकाले एक मान्छेबाट अर्को मान्छेमा सर्ने हुनाले जाडो याममा भाइरल इन्फेक्शन बढी हुने हो । यसबाट बच्न हामी चीसो चिजबाट जोगिनु पर्छ । मान्छेले यसो गरेकै कारण चीसो मौसममा भाइरल इन्फेक्शन हुन्छ भन्ने भन्दा पनि चीसोबाट नजोगिँदा बढी समस्या हुन्छ ।
कुनै लक्षण देखिएमा चीसोकै कारण समस्या भएको हो वा आफ्नो कुनै अन्य रोगको कारण समस्या देखिएको अथवा बढेको भनेर कसरी छुट्याउने ?
यसमा ठ्याक्कै यसैगरी मान्छे आफैँले छुट्याउन सक्छ भन्ने प्यारामिटर हुँदैन । तर, बिरामीको हिस्ट्री (बिरामीको विगत)बाट धेरैहदसम्म थाहा हुन्छ । अर्को कुरा भनेको स्वास्थ्य परीक्षणबाट नै थाहा हुन्छ । यसरी परीक्षण गर्दा देखिने सिमटम्सबाट के कसरी भएको हो भन्ने छुट्याउन सकिन्छ ।
कुन उमेर समूहका मानिसहरुलाई चीसो मौसममा बढी जोखिम हुन्छ ?
साना बच्चाहरु र वृद्धहरुलाई नै बढी जोखिम हुने गर्दछ । यसमा पनि ३ देखि ७ वर्षको बच्चाहरुमा चीसोले गर्दा बढी समस्या देखिन सक्छ । अर्को भनेको ६०/६५ वर्ष माथिका वृद्धहरुलाई बढी समस्या देखिने गर्दछ ।
तर, यसको मतलब अरु उमेर समूहलाई कुनै जोखिम हुँदैन भन्ने होइन । सबै उमेर समूहका व्यक्तिहरुमा चीसोका कारण समस्या हुन सक्छ । यद्यपी, बढी हुने भनेको चाहिँ ३ देखि ७ वर्षका बच्चाहरुमा र ६०/६५ वर्ष माथिका वृद्धहरुमा हो ।
भाइरल रुघाखोकी र ज्वरो सामान्यतया कति दिनसम्म रहन्छ ?
भाइरल इन्फेक्शनले गर्दा हुने फ्लू वा रुघाखोकी भनेको सामान्यतया २ देखि ४ दिनमा कम हुन्छ । सुरु भएको ३ दिन, ४ दिनमा विस्तारै आफैँ कम हुँदै जान्छ । यदि त्यसमा ब्याक्टेरियल इन्फेक्शन भयो भने साइनोसाइटिस (पीनास), टङ्सीलाइटिस, फेरेनजाइटिस जस्ता समस्या देखिन सक्छन्, जुन लामो समयसम्म रहन्छन् । एक हप्ता, १० दिन, १२ दिनसम्म पनि रहन्छन् ।
यदि यस्तो भएको खण्डमा चाहिँ एन्टिबायोटिक्सको प्रयोग पनि गर्नुपर्ने हुन्छ ।
भाइरल रुघाखोकी र चीसोबाट देखिने समस्याबाट जोगिने घरेलु विधिहरु के हुन सक्छन् ?
घरेलु विधि भनेको हामी सकेसम्म चीसोबाट जोगिनुपर्यो । बाहिर हिड्दा धुँवा धुलोबाट जोगिन मास्कको प्रयोग गर्ने, तातो पानी पिउने, न्यानो कपडा लगाउने गर्नुपर्दछ । साना बच्चाहरुलाई चीसो वस्तुहरु खेलाउन दिनु भएन, चीसो चिजहरु खान दिनु भएन । युवा वयस्क उमेर समूहकाहरुले पनि फ्रीजमा राखेका चीसो पदार्थहरु नखानु राम्रो हुन्छ ।
रुघाखोकी लाग्यो भने तातो सूप बनाएर खाने, तातोपानी मात्रै पिउने गर्नुपर्छ । यसले सामान्य रुघाखोकी र सामान्य भाइरल ज्वरोहरु निको हुन सक्छ । यदि यसो गर्दा पनि निको भएन भने चिकित्सकको सल्लाहअनुसार औषधिउपचार गर्नुपर्ने हुन्छ ।
मान्छेहरुले सामान्य रुपमा लिए, घरेलु विधि प्रयोग गरेर ठिक नहुँदा पनि चिकित्सकीय सल्लाह लिएन र त्यसै बस्यो भने यस्ता समस्याले भविष्यमा दीर्घकालिन रुपमै स्वास्थ्य समस्या निम्तिने जोखिम कत्तिको हुन्छ ?
एकदमै हुन्छ । टङ्सीलाइटिसकै कुरा गरौँ, भाइरल इन्फेक्शनले घाँटी दुख्ने समस्या भएको हो भने ३ देखि ४ दिनमा निको हुँदै जान्छ । यदि यसमा ब्याक्टेरियल इन्फेक्शन भएर टङ्सीलाइटिस भयो भने चिकित्सकको सल्लाह लिएर समयमा उपचार गरेन भने यसको प्रभाव शरीरका अन्य भागमा पनि फैलिन्छ । कालान्तरमा मुटुमा असर पर्ने, मिर्गौलामा असर पर्ने, अरु अंगहरुमा इन्फेक्शन फैलिने जोखिम हुन्छ ।
यसकारण घरेलु विधिमार्फत उपचार गर्दा पनि लक्षणहरु कम भएन, झन बढी च्याप्न थाल्यो, ज्वरो बढ्न थाल्यो, शरीर शिथिल हुने हुन थाल्यो भने चिकित्सकको सल्लाह लिन ढिलो गर्नु हुँदैन ।









