लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी बी०३ नेपाल भित्र्याउन लागेको हो ।
आउँदो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा उक्त ईभी नेपालमा लन्च हुने अपेक्षा गरिएको छ । अत्याधुनिक प्रविधि, आकर्षक बनावट र प्रतिस्पर्धी मूल्यका कारण बी०३ नेपालका लागि उचित हुने विश्वास गरिएको छ । साथै, यी विशेषताले गर्दा उक्त ईभी एक्स्पोकै प्रमुख आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
लिपमोटरले बी०३ ‘न्यू जेनेरेशन’ लक्षित विद्युतीय क्रसओभर हो । चीनमा ए–१० नामबाट बिक्री भइरहेको यही मोडललाई अन्तर्राष्ट्रिय बजारमा बी०३ नाम दिइएको हो । चीनमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको यस मोडलको बिक्री पनि बढ्दो छ । यस वर्षको जुन महिनामा मात्र ब्रान्डको बिक्री संख्या कीर्तिमानी ९३ हजार ३७६ युनिट पुगेको बताइएको छ ।
लिपमोटर बी०३ मा अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्री प्याक प्रयोग गरिएको छ, जसले लामो समयसम्म उच्च कार्यक्षमता प्रदान गर्दछ । यसमा ३९.८ किलोवाट÷आवर र ५३ किलोवाट÷आवर गरी दुई ब्याट्री अप्सन उपलब्ध छन् ।
सानो ब्याट्री अप्सनको कारले २९२ किलोमिटर र ठूलो ब्याट्री प्याकको कारले ३८२ किलोमिटर सम्म रेन्ज दिने बताइएको छ ।
यो ईभी फास्त चार्जरमार्फत ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १६ मिनेटमै चार्ज गर्न सकिन्छ । यसमा सेल–टु–च्यासिस (सीटिसी) २.० प्लस ब्याट्री संरचना प्रयोग गरिएकाले ऊर्जा उपयोग क्षमता बढ्नुका साथै सवारीको तौल पनि कम भएको कम्पनीको भनाइ छ ।
गाडीमा अगाडिको पांग्रालाई शक्ति दिन एकल विद्युतीय मोटर जडान गरिएको छ । यसले १४५ किलोवाट अर्थात् करिब १९७ अश्वशक्ति बराबर शक्ति तथा २०० न्युटन–मिटर टर्क उत्पादन गर्छ । बी०३ ले अधिकतम प्रतिघण्टा १६० किलोमिटर गति लिन सक्ने तथा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.६ सेकेन्डमा लिन सक्ने कम्पनीले जनाएको छ ।
लिपमोटरले बी०३ मा लिप ओएस ४.० सञ्चालन प्रणाली प्रयोग गरिएको छ । ठूलो स्पर्शमार्फत सञ्चालन हुने मध्यवर्ती प्रदर्शन पर्दा, डिजिटल उपकरण प्यानल, मोबाइलसँग जोडिने सुविधा, आवाजमार्फत सवारीका विभिन्न प्रणाली नियन्त्रण गर्न सकिने प्रविधि तथा टाढाबाट सवारीको अवस्था हेर्न सकिने सुविधा यसमा उपलब्ध छन् ।
सुरक्षाका हिसाबले बी०३ मा स्वचालित आकस्मिक ब्रेक, लेनभित्र सवारी राख्ने प्रणाली, अगाडिको सवारीसँग सुरक्षित दूरी कायम गर्ने सुविधा, आँखाले नदेखिने क्षेत्रको पनि निगरानी प्रणाली, पछाडिबाट आउने सवारीको चेतावनी, चालकलाई थकानको संकेत दिने प्रणाली, ३६० डिग्री क्यामेरा लगायतका विशेषता यसमा छन् ।
यसको भित्री सजावटमा फराकिलो यात्रु कक्ष, प्रशस्त सामान राख्ने स्थान, पछाडिको सिट मोडेर अझ बढी सामान अटाउने व्यवस्था छ ।
चीनमा यो सवारीको प्रारम्भिक मूल्य ६५ हजार ८०० चिनियाँ युआनदेखि ८६ हजार ८०० चिनियाँ युआनसम्म रहेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्सपोमा आउने नयाँ मोडल भएकाले कम्पनीले अन्य विशेषता र मूल्यबारे सोही क्रममा जानकारी गराउने बताइएको छ ।









