नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन २६ देखि ३१ गतेसम्म आयोजना हुँदैछ । एक्स्पोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनसहित ५५ ब्राण्डका ५१ स्टल रहने छन् ।
भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा विभिन्न ब्राण्डले ४० भन्दा बढी नयाँ मोडल लन्च गर्ने नाइमाले जनाएको छ । स्टल बुकिङ गरेका विभिन्न कम्पनीहरुले कुन ब्राण्ड राख्ने भन्ने यकिन गरिसकेका छन् भने कतिपयले ‘न्यू ब्राण्ड’ ल्याउने उल्लेख गरेका छन् । यस्तै, कुनै कुनै कम्पनीले भने अहिले ‘ब्राण्ड’ र मोडल सार्वजनिक गरेका छैनन् ।
लक्ष्मी ग्रुपसँग सम्बन्धित मात्रै ८ वटा स्टल, २ नयाँ ब्राण्ड
नाइमा मोबिलिटी एक्स्पोमा सबैभन्दा धेरै लक्ष्मी ग्रुपसँग सम्बन्धित कम्पनीहरुले सहभागीता जनाउँदैछन् । लक्ष्मी ई–मोबिलिटी, लक्ष्मी इन्टरकन्टिनेन्टल, लक्ष्मी मोटरहब र लक्ष्मी कमर्सियलले विभिन्न ८ ब्राण्ड एक्सपोमा सहभागी गराउँदैछन् ।
यसमा लक्ष्मी इमोबिलिटीले कायी, फर्थिङ र एउटा नयाँ ब्राण्ड लन्च गर्नेछ भने लक्ष्मी इन्टरकन्टिनेन्टलले एक्स्पोमा हुन्डाईको स्टल राख्नेछ । लक्ष्मी मोटरहबले आर्कफक्स र बीएआईसीको स्टल राख्दा लक्ष्मी कमर्सियलले क्यारी र अर्को नयाँ ब्राण्डको स्टल राख्दैछ ।
यी हुन् सहभागी हुने ब्राण्ड
एक्स्पोमा पारामाउण्ट मोटर्सले विलिङ र एमजीको स्टल राख्दा एडभान्स अटोमोबाइल्सले दुइ वटा स्टल राख्ने भएको छ । जसमा एउटा चार पाङ्ग्रे र अर्को कमर्सियल गरी दुइ वटै नयाँ ब्राण्ड रहने छन् ।
साइमेक्स इंकले बिवाईडी र डेन्जाका स्टल राख्ने भएको छ । जीओ अटोले एमजीको स्टल राख्दैछ । नाईमीकी अध्यक्ष ऋतुसिंह वैद्यको कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेटले दुइ पाङ्ग्रे मोर्बिडेली र चार पाङ्ग्रे टोयोटाको स्टल राख्नेछ । वैद्य ग्रुपकै वैद्य इनर्जीले दुइ पाङ्ग्रे एथरको स्टल राख्दैछ ।
एसपीजी अटोले ओमोडा एण्ड जेइको र आइकारको स्टल राख्दैछ । सिप्रदी ट्रेडिङले टाटा, हिमालय मोट्रेक्सले म्याक्ससको स्टल राख्दा आयाम इन्टरकन्टिनेन्टलले भने कुन ब्राण्ड राख्ने भन्ने घोषणा गरिसकेको छैन ।
पायोनियर मोटोकर्पले निशान र चेरी, सांग्रिला मोटर्सले लिपमोटर, सिट्रोन र पिगटको स्टल राख्दा भिजी इम्पेक्सले जीडब्लयूएमको स्टल राख्ने भएको छ । जगदम्बा मोटर्सले चार पाङ्गेमा प्रोटोन, कमर्सियलमा चेरी वान्डा र दुइ पाङ्ग्रेतर्फ टीभीएसको स्टल राख्ने जनाएको छ ।
अग्नी इन्कर्पोरेटले महिन्द्रा, कन्टिनेन्टल ट्रेडिङले किया, ईभी राइडले हनरी बोमा, एस. क्यूब इन्टरप्राइजेजले हेनरी भोल्टर्स र फर्मी मोटर्सले स्काईवर्थ एण्ड किटोनको कमर्सियल भेहिकलको स्टल राख्ने भएका छन् ।
दुइ पाङ्ग्रे कति ?
एक्स्पोमा दुइ पाङग्रेका १८ वटा स्टल रहने भएका छन् । जसमा हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज, केटिएम र ट्र्युम्पको स्टल राख्नेछ । यस्तै, कुजु नेपालले याडिया, प्रमिता इन्भेष्टमेन्टले ग्यारो, ऋषी ट्रेडले सीएफमोटो एण्ड जीहो, स्याकर ट्रेडिङले होन्डा, टीजी अटोले रोयल इन्फिल्ड, ट्रायान मोबिलिटीले अल्ट्राभोइलेट, भिजी अटोमोबाइल्सले सुजुकी र विशाल इन्टरप्राइजेजले दुइ पाङग्रेको नयाँ ब्राण्डको स्टल राख्ने भएको छ ।
ईभीओक्यूले केरेन स्कूटर, इको इन्फिनिटीले न्यू र बाइकर्स नेपालले जेडएक्समोटोको स्टल राख्ने भएको छ ।









