डा. मनोज कुमार यादव
दशैँ भन्ने बितिक्कै माछा–मासु, मसला र तयारी खाना बढी खपत हुने समय हो । स्वादिष्ट भोजन गर्ने नाममा खाना पकाउँदा मसला धेरै प्रयोग गर्ने गरिन्छ । जुन स्वास्थ्यका लागि अनुकुल हुँदैन । मसलामा औषधीय गुणहरु नहुने होइन, विभिन्न मसलाका आ–आफ्नै विशेषता हुन्छन् । तर, धेरै मसला प्रयोग गर्दा त्यसले शरीरलाई हानी गर्ने हुनाले दशैँ तिहार जस्ता लामो अवधिसम्म मनाइने चाडपर्वमा खाना पकाउँदा सकेसम्म मसलाको प्रयोग थोरै गर्नु उचित हुन्छ ।
हामी मासुमा मसला धेरै प्रयोग गर्छौ, जुन स्वास्थ्यका लागि राम्रो हुँदैन । मासुमा बोसो हुने भएकाले त्यहाँ तेल (फ्याट) हुन्छ । हामी मासु पकाउँदा अर्को तेल थप्छौँ । तेलमा बढी ‘स्याचुरेटेड फ्याट’ बढी प्रयोग भएको हुन्छ, जुन शरीरका लागि राम्रो हुँदैन । यस्तो फ्याट रक्तनलीमा र कलेजोमा डिपोजिट हुन थाल्छ । यसरी फ्याट रक्तनलीमा जम्दा नली साँघुरिन्छ । यसले ‘हर्ट अट्याक’को जोखिम बढाउँछ ।
यसकारण तेल, मसला जस्ता कुराहरु राखेर खाना पकाउँदा सावधानीका साथ उचित मात्रामा मात्रै प्रयोग गर्नुपर्छ । स्वादलाई मात्रै केन्द्रित गरेर धेरै तेल र मसला प्रयोग गर्दा शरीरले नकारात्मक असर भोग्नुपर्ने हुन्छ । शरीरले पचाउन नसकेपछि खाएको जति पनि चिज हुन्छ, त्यो सबै विकार बन्ने हो । यसकारण मसलाको मात्रा कम गरेर सही तरिकाले पकाएर मात्रै खानेकुराहरु खानुपर्दछ ।
सँगसँगै, दशैँको बेलामा ‘जङ्क फूड’ मान्छेहरुले बढी नै खाने गरेको पाइन्छ । जङ्क फूडमा ‘क्यालोरी’को मात्रा बढी हुन्छ । भिटामिन जस्ता पोशकतत्वहरु कम हुन्छ । फ्याट (तेल, चिल्लो पदार्थ), साल्ट (नुन), सुगर (चिनी) बढी हुन्छ, जसका कारण ‘जङ्क फूड’ स्वादिष्ट हुन्छन् । तर जङ्क फूड धेरै खाँदा र नियमित रुपमा खाने गर्दा विस्तारै स्वास्थ्यमा समस्या निम्तन थाल्छ ।
के के हुन्छ भन्दा, पहिलो त मोटोपना बढ्न थाल्छ । डायबेटिज हुन्छ, उच्च रक्तचाप हुन थाल्छ, पेटको र पाचन प्रणालीको समस्या सुरु हुन थाल्छ । यी समस्या बढ्दै गएर मिर्गौलालाई पनि असर गर्छ, मुटुलाई पनि असर गर्छ र रक्तनलीहरुमा पनि असर गर्छ । जङ्क फूड खाँदा त्यसमा हुने फ्याट शरीरमा जम्मा हुँदै रक्तनलीमा समेत जम्न थाल्छ र हर्ट अट्याक र पक्षघातसम्म पनि हुन सक्छ ।
यस्ता खानपानमा मिनरल्स पनि कम हुने हुँदा हड्डी पनि कमजोर हुँदै आउँछ । यसलाई मेडिकलको भाषामा ‘अस्टियो पोरोसिस’ भन्छौँ । यसले पछि गएर विभिन्न अङ्गहरुमा क्यान्सरसमेत हुने जोखिम रहन्छ ।
दशैँमा मासु र मासुजन्य खानेकुरा बढी खाने चलन हुन्छ । त्यसमा पनि रातो मासु बढी खपत हुने गरेको पाइन्छ । रातो मासुमा प्रोटीन बढी हुन्छ । त्यस्तो मासु खाएपछि शरीरले त्यसमा भएको प्रोटीन टुक्य्राउने क्रममा युरिकेसिड बढी बन्ने हुन्छ । उमेर बढ्दै जाँदा मानिसका अङ्गहरु अलिअलि कमजोर हुँदै जान्छन् अर्थात् युवा उमेरमा जस्तो स्वस्थ हुँदैनन् । यसकारण रातो मासु खाँदा प्रोटीन बढी हुने हुँदा युरिकेसिड देखिने, हात खुट्टाका जोर्नीहरुमा समस्या देखिने हुन्छ ।मिर्गौलामा पनि समस्या देखिन सक्छ । यो क्रमशः बढ्ने जोखिम रहन्छ । अर्थात् चौतर्फी असर देखिन सक्छ ।
यसकारण मासु पकाउँदा, खाँदा खासगरि वृद्धवृद्धाको बढी ध्यान दिनुपर्ने हुन्छ । किनभने उमेरसँगै अङ्ग पनि कमजोर बन्दै गएको हुनाले उनीहरुलाई बढी स्याहारसुसार चाहिन्छ ।
यसबाट बच्नका लागि पहिलो कुरा हामीले आफूले आफैँलाई कन्ट्रोल गर्नुपर्छ । धेरै दिनसम्म बजारमा रहने तयारी खानेकुरा सकभर खानु हुँदैन । बजारमा पाइने तयारी खानेकुरा स्वादिला हुन्छन्, मान्छेलाई विस्तारै लत बस्छ । यस्तो लतमा नपर्न आफूले आफैँलाई कन्ट्रोल गर्नुपर्छ ।
अर्को कुरा, घरमा पाकेको जस्तो स्वस्थ खाना बाहिरको हुँदैन । स्वास्थ्यका दृष्टिले घरमा पाक्ने खानासँग रेष्टुरेन्ट वा होटलमा पाक्ने खानाको तुलना नै हुँदैन । खाना पकाउँदा पनि राम्रोसँग पकाउनुपर्छ । हरियो सागसब्जी नियमित सेवन गर्नु उत्तम हुन्छ ।
नुन र चिनीको मात्रा कन्ट्रोलमा राख्नुपर्छ । तेलजन्य चिजहरु पनि कम सेवन गरेर शरीरमा फ्याटको मात्रा नियन्त्रणमा राख्नुपर्छ । यसका लागि नुन, तेल, चिनी र मसलाको अत्याधिक प्रयोग हुनु भएन ।
अर्को कुरा, यात्रा गर्दा पनि सावधानी अपाउनुपर्छ । चाडवाड भन्नासाथ मान्छेहरु शहर वा कार्यक्षेत्रबाट गाउँ फर्किने समय पनि हो । सकेसम्म हतारमा यात्रा गर्नु हुँदैन । यसले दुर्घटनाको जोखिम त निम्त्याउँछ नै, सँगै शरीरका अङ्गहरुलाई पनि असर गर्छ । लामो यात्रा गर्दा रोक्दै, बीचबीचमा शरीरलाई आराम गराउँदै हिड्नु उचित हुन्छ । यात्राको क्रममा पानी साथमै बोक्नुपर्छ, प्रशस्त पानी पिउनुपर्छ । यसो हुँदा शरीरले थकाई महशुस गर्न पाउँदैन ।
बालबच्चा, वृद्धवृद्धा र दीर्घरोगी छन् भने औषधि छुटाउनु भएन । उनीहरुलाई भीडभाडमा र धुँवाधुलोमा राख्नु हुँदैन । यात्रामा मास्क अनिवार्य लगाउनुपर्छ । यस्ता स–साना चीजमा ध्यान दिँदा शरीरलाई स्वस्थ राख्न सकिन्छ । हामीले चाडपर्व मनाउँदा यस्ता विषयहरुलाई बढी ध्यान दिनु जरुरी हुन्छ ।









