भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले साढे ९ करोड लागतमा भवन बनाएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई हस्तान्तरण गरेका छन् । आफ्ना स्वर्गीय आमाबुबा वृषबहादुर गुरुङ र धनमाया गुरुङको सम्झनामा मिनबहादुरले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नयाँ भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।
शिक्षण अस्पताल ४३औँ वर्ष प्रवेश गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभटेनी सुपरस्टोरको सहयोगमा निर्माण भएको उक्त भवन उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘दानवीर भनेर चिनिएका मीनबहादुरजी, सावित्री गुरुङजीले नेपाली जनताको हितका लागि फेरि अर्को एउटा महत्त्वपूर्ण दान गर्नुभएको छ । सम्पूर्ण नेपाली जनताले स्वास्थ्योपचार प्राप्त गरुन् भनेर गर्नुभएको उहाँहरूको यो निकै राम्रो कामको प्रशंसा गर्छु ।’
भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले आफू र आफ्नो परिवार भविष्यमा पनि बिनास्वार्थ जनता र राष्ट्रको सेवामा लाग्ने बताएका छन् ।
यसअघि २०६८ सालमा पनि गुरुङले १० करोड रुपैयाँ लागतमा सोही अस्पतालको आकस्मिक कक्षको भवन बनाइदिएका थिए ।
भाटभटेनीले विगतदेखि नै सामाजिक सेवामा ठूलो योगदान गर्दै आएको छ ।









